लोग्नेको लिङ्ग काटेर जेलको बास

लोग्नेको लिङ्ग काटेर जेलको बास


ramailoआफ्नो लोग्नेको गुप्ताङ्ग काटी फोहोरदानीमा फ्याँकेर चर्चामा आएकी अमेरिकी महिला क्याथरिन कियुलाई जन्मकैदको फैसला सुनाइएको छ । ५० वर्षीया क्याथरिनले दुई वर्षअघि अर्थात् सन् २०११ मा आफ्नो लोग्नेलाई निद्रा लाग्ने औषधि खुवाएर ओच्छ्यानमा बाँधी चक्कुले लिङ्ग रेटेकी थिइन् । त्यतिबेला उनको लोग्नेसँग पारपाचुकेको प्रक्रिया चलिरहेको थियो । लिङ्ग गुमाएका क्याथरिनका पूर्वपतिले आफ्नै पत्नीले लिङ्ग काटिदिएपछि जिन्दगीको अहम् हिस्सा बर्बाद भएको र आफूलाई पहिचानको सङ्कटसमेत परेको प्रतिक्रिया दिएका छन् । उता क्याथरिनका वकिलहरूले चाहिँ श्रीमान्कै दुव्र्यवहारका कारण मानसिक अवस्थासमेत खल्बलिएकी क्याथरिनले यस्तो दुर्घटना निम्त्याउनुपरेको भन्दै उनको बचाउ गर्न खोजेका छन् । पूर्वपतिको लिङ्ग काटेर आजन्म जेल जानुपरे पनि आफ्नो कर्मप्रति कुनै पश्चात्ताप नभएको प्रतिक्रिया क्याथरिनले दिएकी छिन् ।

कङ्कालले दर्शायो पेरुयन महिलाको अवस्था
पेरूका पुरातत्वविद्हरूले एक राजकीय चिहानमा १२ सय वर्ष पुराना ६३ वटा मानव कङ्काल फेलापारेका छन् । ती कङ्कालमध्ये अधिकांश महिलाका रहेको र कङ्कालसँगै प्रशस्त गरगहनासमेत फेलापरेको छ । पुरातत्ववेत्ताहरूले उक्त चिहान पेरूको राजधानी लिमाबाट दुई सय ८० किलोमिटर उत्तरको एलकासिटडो डे हुआर भन्ने स्थानमा फेलापरेको र चिहानभित्र मानव कङ्कालहरू बसाइको आसनमा रहेकाले ती कङ्काल वारी सभ्यताकालीन शाही परिवारका सदस्यको रहेको अनुमान गरेका छन् । शाही परिवारका व्यक्तिलाई चिहानमा नसुताई सीधा बसेको पोजिसनमा गाड्ने गरिएको पुरुतत्वविद्को भनाइ छ । त्यसरी फेलापारिएकामध्ये ६ वटा कङ्काललाई अन्य कङ्कालमाथि अनौठो आसनमा राखिएको थियो, जसलाई अनुसन्धानकर्ताले मानव बलि चढाइएको रूपमा अथ्र्याएका छन् । यसले तत्कालीन महिलाको अवस्थाबारे अनुसन्धान गर्न प्रेरित गरेको पनि उनीहरूको भनाइ छ । पेरूमा सातौँदेखि दशौँ शताब्दीसम्म वारी सभ्यता उत्कर्षमा थियो । समग्र पेरू नै वारी सभ्यताको प्रभावमा रहे पनि दशौँ शताब्दीपछि अचानक र रहस्यमयी किसिमबाट यसको पतन भएको थियो ।

‘कारपागल’ले निर्माण गरे तीव्र गतिको कार
ड्रेसन रेसिङ कम्पनीले निर्माण गरेको लोला बी १२ ६९/ईबी नामक इलेक्ट्रिक कारले प्रतिघन्टा ३२८.६ किलोमिटरको रफ्तारमा दौडेर नयाँ विश्वरेकर्ड कायम गरेको छ । यसअघि सन् १९७४ मा ब्याट्री बक्स जनरल इलेक्ट्रिकद्वारा निर्मित कारले विश्वमै सबभन्दा तेज दौडने कारको रेकर्ड राखेको थियो । उक्त कारले प्रतिघन्टा २८१.६ किलोमिटर दौडेको कीर्तिमान बनाएको थियो । जम्मा आठ सय ५० किलोग्राम तौल भएको यस कारलाई तीव्र गतिमा हुइँकिने तुल्याउनेका लागि जैव–इथेनल इन्धनवाला इन्जिन बनाइएको छ भने कारको च्यासिसमा पनि हावाको घर्षणलाई कमजोर तुल्याउनका लागि रिसाइकिल्ड फाइबर प्रयोग गरिएको छ । कार भनेपछि हुरुक्कै हुने स्वभावका कारण ‘कारपागल’ भनेर चिनिएका पाल ड्रेसन भन्ने व्यक्तिले ६ वर्षअघि मात्र ड्रेसन रेसिङ कम्पनी स्थापना गरेका थिए । उनी त्यतिबेला लेबर सरकारका मन्त्री थिए ।

‘असाध्य क्षयरोग’मा पनि भिटामिन सी
शक्तिशाली भनिएका औषधिले पनि नभएको र अत्यन्त जटिल अवस्थामा पुगेको टीबी या क्षयरोगको उपचारसमेत भिटामिन ‘सी’द्वारा सम्भव हुने दाबी वैज्ञानिकले गरेका छन् । येसिवा युनिभर्सिटीका अमेरिकी शोधकर्ताहरूले दाबी गरेअनुसार ‘मल्टिड्रग रेजिस्टेन्ट टीबी’को सङ्क्रमण दिनानुदिन इलाज नै नहुने अवस्थातर्फ उन्मुख भएको छ भने रोगको सुरुको अवस्थामा काम गर्ने औषधिले पनि मल्टिड्रग रेजिस्टेन्टको अवस्थामा काम गर्दैन । संसारभर यस अवस्थाका टीबीरोगीको सङ्ख्या साढे ६ लाख रहेको अनुमान छ । र, यी रोगीका लागि भिटामिन सी सस्तो र सजिलै उपलब्ध हुने औषधि सावित हुनसक्ने शोधकर्ताहरूको भनाइ छ । वैज्ञानिक प्रयोशालामा गरिएको अध्ययनले यो देखायो कि भिटामिन ‘सी’ले शरीरमा केही यस्ता तत्वको उत्पादन कार्यप्रणालीलाई सक्रिय तुल्याउँछ जसले टीबीका जीवाणुलाई नष्ट तुल्याउँछ । रेडिकल्स भनेर चिनिने उक्त तत्व पारम्परिक औषधिसमेत निस्प्रभावी बनेको अवस्थामा पनि फलदायी हुन्छ । वैज्ञानिकको यस खोजले भिटामिन ‘सी’को सर्वसुलभ स्रोत कागतीको उपयोगिता थप बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।