पन्ध्र करोडमा त्रिशूल बनाइने

पन्ध्र करोडमा त्रिशूल बनाइने


विश्व हिन्दू परिषद्ले ‘धर्म संसद्’ स्थापना गर्न सक्रियता दर्शाएको छ । २०७० सालमा दर्ता भएको विश्व हिन्दू परिषद्को अध्यक्षमा धरानका चर्चित राजनीतिज्ञ एवम् समाजसेवी देवराज अधिकारी रहेका छन् र धर्म संसद् खडा गर्ने अभियानमा पनि उनैले तत्परता लिइरहेका छन् । देशमा स्थापित र क्रियाशील सबै धार्मिक तथा सांस्कृतिक सङ्घसंस्थाहरूको प्रतिनिधित्व रहने गरी ‘धर्म संसद्’ बनाउन लागिएको जानकारी अधिकारीले गराएका छन् ।

यसरी गठन हुने धर्म संसद्ले मुलुकको मौलिक धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पैदा भएका समस्याहरूको समाधान खोज्ने, धार्मिक, सांस्कृतिक विषयमा उत्पन्न विवादको निरूपण गर्ने, रितिस्थिति र परम्पराको मूल्याङ्कन तथा आवश्यकताअनुरूप परिमार्जन गर्नुपर्ने/नपर्ने भन्ने विषयमा छलफल गर्ने, धार्मिक–सांस्कृतिक क्रियाकलापहरूको प्रवद्र्धन गर्नेलगायतका कार्य गर्ने जानकारी अधिकारीले घटना र विचारलाई दिएका छन् ।

धर्म संसद् गठनका निम्ति हाल सङ्घसंस्थाहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको र आगामी साउन महिनाभित्र नाम सङ्कलन कार्य सम्पन्न भइसकेपछि काठमाडौं या धरानमा धर्म संसद्को बैठक बोलाइने बताइएको छ । तर, अन्य कुनै स्थानका बासिन्दाले ‘धर्म संसद्’को बैठक व्यवस्थापन गर्ने विश्वास दिलाएको अवस्थामा धरान र काठमाडौंबाहेकको स्थानमा पनि बैठक हुन सक्ने परिषद्का अध्यक्ष अधिकारीले बताएका छन् ।

परिषद्ले धरानको पिण्डेश्वर मन्दिर क्षेत्रमा विश्वको सबैभन्दा अग्लो त्रिशूल बनाइने योजना पनि बनाएको छ । अष्टधातुबाट बनाइने उक्त त्रिशूल निर्माणमा कुल लागत करिब पन्ध्र करोड हुने बताइन्छ । स्मरणीय छ, हाल ५७ फिट अग्लो त्रिशूल अस्तित्वमा रहेको छ । परिषद्ले विश्वकै अग्लो त्रिशूल निर्माण गर्न कति फिटको बनाउनुपर्नेहुन्छ, सो भने स्पष्ट गरिएको छैन ।