प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी


प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

बाँसवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

रौतहटका आलमलाई हृदयाघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे ।

आलम गत मङ्सिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए ।