नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित

नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित


नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज (४ कात्तिक) सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो ।

जितसँगै नेपालले शृङ्खलामा २-० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो ।

नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनाएयो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने । त्यस्तै अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे ।

अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई/दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए ।

अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका ।

नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मङ्गबलार खेल्नेछ ।