एमबीबीएसका लागि वार्षिक पाँच सय विद्यार्थी बिदेसिन्छन्

एमबीबीएसका लागि वार्षिक पाँच सय विद्यार्थी बिदेसिन्छन्


चिकित्सा शिक्षाका लागि वार्षिक ५ सयभन्दा बढी विद्यार्थी बिदेसिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या बिदेसिने गरेको पाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो ।

नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिटसंख्या कटौती गरिएपछि बिदेसिने विद्यार्थीको संख्यामा बढेको हो ।

नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबीबीएसका अध्ययनका लागि एक हजार ६३१ र बीडीएसमा ५५५ जना भर्ना भएका थिए भने ४९५ जना विद्यार्थी एमबीबीएस अध्ययनका लागि बिदेसिएका छन् ।

त्यस्तो संख्या सन् २०१६ मा नेपालमा एमबीबीएसका लागि दुई हजार ५६, बीडीएसका लागि ४७० भर्ना भएका थिए । सोही वर्ष माथेमा प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यही वर्ष ४७८ विद्यार्थी चिकित्सा शिक्षाका लागि बिदेसिएका थिए ।

यस्तै सन् २०१५ मा नेपालमा दुई हजार ९१ जनाले एमबीबीएस, ५०५ जनाले बीडीएसका लागि भर्ना भएका थिए भने एक हजार ४६१ विद्यार्थी विदेशमा अध्ययनका लागि गए ।

हरेकपटकको नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको खराब नतिजा आउन थालेपछि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । सो व्यवस्था सन् २०१६ देखि लागू भएको हो ।

त्यस्तो व्यवस्था लागू भए पनि विदेशमा अध्ययन गरेर फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी काउन्सिलको परीक्षामा असफल हुने गरेका छन् ।

काउन्सिलले विदेश अध्ययन गर्न जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखे पनि यहाँ उत्तीर्ण भएकाहरू फर्केर आएपछिको परीक्षामा समेत अनुत्तीर्ण हुने गरेका छन् ।

उनीहरूको शैक्षिक तथा प्राविधिक गुणस्तरसमेत कमजोर रहने गरेको काउन्सिलको बुझाइ छ । विदेशका गुणस्तरीरहीन कलेजमा अध्ययन गरेकाले एमबीबीएसका विद्यार्थीले लगातार परीक्षा दिँदासमेत काउन्सिल परीक्षा उत्तीर्ण हुन सकेका छैनन् ।

काउन्सिलको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने विदेशमा एमबीबीएस अध्ययन गरेर आएका ६५० जना विद्यार्थी लगातार लाइसेन्सको परीक्षामा अनुत्तीर्ण भइरहेका छन् । विशेषज्ञ हासिल गरेर आएका १२५ चिकित्सकले पनि परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् ।

परीक्षा उत्तीर्ण नगर्दासम्म उनीहरूले चिकित्सकीय अभ्यास गर्न पाउँदैनन् । विदेश गएर अध्ययन गरेर नेपाल फर्किएका एमबीबीसका विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी चिकित्सक दर्ता परीक्षामा अनुत्तीर्ण हुने गरेको तथ्यांकले उनीहरूले अध्ययन गर्ने कलेजको गुणस्तरीयता कमजोर देखाउने गरेको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटा विदेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको गुणस्तर कमजोर रहेको पाइएको बताउँछन् ।

उनले भने, ‘नेपालबाटै प्रवेश परीक्षा पास भएर गएका विदेशमा गुणस्तरहीन मेडिकल कलेजमा अध्ययन गर्छन् र नेपालको अनुमति परीक्षामा असफल हुन्छन् । हामीले विदेशमा गुणस्तरीयता अनुगमन गर्न सक्दैनौँ ।’

काउन्सिलका अध्यक्ष बाँस्कोटा विदेश अध्ययन गरेर आएका विद्यार्थीको गुणस्तरीयताबारे माथेमा प्रतिवेदनले सम्बोधन नगरेको बताउँछन्, ‘माथेमा प्रतिवेदनले केही सम्बोधन गर्न छुटाएको छ, ती विषय महत्वपूर्ण छन्, त्यो सम्बोधन नगर्दासम्म माथेमा प्रतिवेदन डा. गोविन्द केसीले भनेजस्तो अक्षरशः सम्बोधन हुन सक्दैन ।’

उनले प्रतिवेदनले नेपालमा सञ्चालन भइरहेका २३ मेडिकल कलेजलाई गुणस्तरीयता, भौतिक पूर्वाधारलगायतका कुरा छुट्याएर वर्गीकरण गर्न नसकेको, विदेशमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तरीय मापनबारे केही उल्लेख नभएको बताए ।

उनले माथेमा प्रतिवेदनमा हरेक वर्ष करिब दुई हजार देशविदेशमा अध्ययन गरेका एमबीबीएस चिकित्सक उत्पादन हुने उल्लेख गरिएको प्रसंग उल्लेख गर्दै भने, ‘त्यसमध्ये नेपालमा करिब दुई हजार चिकित्सकमध्ये ४० प्रतिशत विदेशी विद्यार्थी हुन्, अध्ययन सकिएपछि उनीहरू घर फर्किन्छन् उनीहरूलाई पनि नेपालकै चिकित्सकको रूपमा समावेश गरिएको छ ।’

त्रिभुवन विश्वविद्यालयका आंगिक कलेजमा ३५ प्रतिशत र काठमाडौं विश्वविद्यालयमा ४० प्रतिशत विदेशी विद्यार्थीका लागि कोटा छुट्याइएको छ ।

सन् २०१५ भन्दा पहिले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा पास गर्नुपर्ने बाध्यता थिएन । तर, विदेशबाट एमबीबीएस अध्ययन गरेर आएका चिकित्सक लाइसेन्सको परीक्षामा अनुत्तीर्ण हुने क्रम बढेपछि काउन्सिलले देशबाहिर जानेले स्वदेशबाटै प्रवेश परीक्षा पास गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

काउन्सिलका अध्यक्ष बाँस्कोटा बाहिर जान कडाइ गरिएको केही देशका मेडिकल कलेजमा अध्ययन नगर्न आग्रह गर्दासमेत विद्यार्थी गुणस्तरहीन कलेजमा अध्ययनका लागि जाने क्रम रोक्न नसकिएको बताउँछन् ।

काउन्सिलले सन् २०१५ मा नै बंगलादेशका ३६ मेडिकल कलेजलाई कालोसूचीमा राख्दै ती कलेजमा अध्ययनका लागि नजान भनेको थियो ।

विदेशको पढाइ खर्च धेरै, गुणस्तर कम

नेपाल सरकारले एमबीबीएस अध्ययनका लागि साढे रु. ३८ लाख शुल्क तोकेको छ । नेपालमा चिकित्सा शिक्षा छिमेकी देशभन्दा राम्रो रहेको पनि चिकित्सक बताउँछन् ।

बंगलादेश र चीनका उत्कृष्ट भनिएका कलेजमा एमबीबीएस अध्ययन गर्न करिब रु. ६० लाख खर्च लाग्छ भने कालोसूचीमा परिरहने कम गुणस्तरीय कलेजमा अध्ययन गर्न रु. ३० देखि ३५ लाखसम्म शुल्क लाग्ने गरेको छ ।

विदेशमा अध्ययनका लागि शुल्कबाहेकको अन्य अदृश्य खर्च, बिदामा घर आउने–जानेलगायतका खर्च पनि धेरै हुनेगर्छ । खर्चको तुलनामा अध्ययन सकेर आएका चिकित्सकको गुणस्तर भने कमजोर रहेको काउन्सिल नै स्वीकार गर्छ ।

रासस