राजपालाई मधेशकेन्द्रित दलका रुपमा चित्रण गरेकोमा ठाकुरको आपत्ति

राजपालाई मधेशकेन्द्रित दलका रुपमा चित्रण गरेकोमा ठाकुरको आपत्ति


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसदमा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले संसदमा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

राजपालाई मधेशकेन्द्रित दलका रुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राखेका बुझिएको छ ।

सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।

संसदीय दलको नेतामा ठाकुर

राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयनभएका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

‘राजपाले एकसाताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने कुन विधिबाट हुने, पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ’, नेता यादवले बताए ।

तस्बिर रासस