चीन र म्यानमारको भ्रमण गरी प्रधानसेनापति स्वदेश फिर्ता

चीन र म्यानमारको भ्रमण गरी प्रधानसेनापति स्वदेश फिर्ता


मित्रराष्ट्र चीन र म्यानमारको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री शनिबार स्वदेश फर्कनुभएको छ । उहाँ यही असार १९ गते उल्लिखित मुलुकको भ्रमणमा निस्कनुभएको थियो ।

भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले असार २० गतेदेखि २३ गतेसम्म म्यानमारका State Counsellor of Myanmar Aung San Suu Kyi, सेनाध्यक्ष Senior General Min Aung Hlaing र म्यानमारमा रहेका प्रवासी नेपालीहरूसँग भेटघाट गर्नु भएको थियो भने असार २४ गतेदेखि २९ गतेसम्म चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको पनि बताइएको छ ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो ।