उत्पीडिनको विरुद्ध प्रदेश सरकार संघर्षरत

उत्पीडिनको विरुद्ध प्रदेश सरकार संघर्षरत


प्रदेश नम्वर २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले केन्द्रिय सरकारको विभेद र उत्पीडनको नीतिविरुद्ध प्रदेश सरकार संघर्षत रहेको बताएका छन् । सर्लाहीको हरिवन नगरपालिकामा शनिवार आयोजित नेपाल तामाङ घेदुङ २ नम्वर प्रदेशको प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केन्द्रिय सरकारले सङ्घीयतालाई कमजोर पार्ने नियतले विभेदकारी नीति ल्याएको बताउँदै मन्त्री यादवले प्रदेश सरकार विभेद र उत्पिडनको विरुद्धमा संर्घषरत रहेको बताए ।

केन्द्रिय सरकार प्रदेश र स्थानीय तहमा केन्द्रियता लाद्न षडयन्त्र गरिरहेको आरोप लगाउँदै मन्त्री यादवले भने, केन्द्र सरकारले ७० प्रतिशत वजेट राखी प्रदेशलाई ३० प्रतिशत मात्र बजेट दिएको छ । कसरी प्रदेश सरकारको विकास र समृद्धि हुन्छ ।

आदिवासी जनजाती आन्दोलन, मधेश आन्दोलन र विभिन्न संर्घषबाट प्राप्त उपलब्धि रक्षाका लागि केन्द्रिय सरकारको विभेदकारी नीतिविरुद्ध एकवद्ध भएर अघि बढ्नुपर्नेमा समेत मन्त्री यादवले जोड दिए ।

नेपाल तामाङ संघीय घेदुङका अध्यक्ष मोहन गोले तामाङले समुदायको हक अधिकार प्राप्तिका लागि तामाङ समुदायमा राजनितिक जागरण आउन आवश्यक रहेको बताए ।

राजनीतिबाटै सबै उपलब्धि हासिल गर्न सकिने भएकोले तामाङ समुदायलाई राजनीतिमा लाग्न सुझाव दिए । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नम्बर २ की सांसद सन्चमाया मोक्तानले तामाङले तामाङलगायतका उत्पीडीत समुदायको मुद्धालाई सदनमा उठाउने प्रतिबद्धता जनाए । उनले तामाङ समुदायको हक अधिकार सुनिश्चितताको निम्ति प्रदेश नम्वर २ को सरकारको ध्यानार्कषण गराउने बताइन् ।

कार्यक्रममा नेकपाका प्रदेश नम्बर २ का प्रदेश सदस्य दिल्लीप्रसाद उप्रेतीले सबै भाषा, धर्म संस्कार संस्कृति जगेर्नाका लागि प्रदेश सदनमा कुरा उठाउने बताए ।

नेपाल तामाङ घेदुङ प्रदेश समितिका अध्यक्ष डेनोक मोक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय घेदुङका उपाध्यक्ष अमीर मोक्तान तामाङ, सचिव रामकृष्ण ब्लोन तामाङ, भाषा, संस्कृति विभाग प्रमुख काजीमान थिङ लगायतकाले मनतव्य व्यक्त गर्दै अधिकार प्राप्तिका लागि सम्पुर्ण उत्पिडीत समुदाय एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

नेपाल तामाङ संघीय घेदुङका सदस्य अर्जुन योन्जनदरा सञ्चालित कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नम्वर २ का उपाध्यक्ष सरिता वल तामाङले गरिन् ।

भेलामा तामाङ जातिको साँस्कृतिक चाड सोनाम ल्होछारको सर्वजानिक बिदा दिनुपर्ने, तामाङ समुदायको सँस्कृति जागरणका लागि बजेट व्यवस्था गर्नुपर्ने, भाषा, धर्म, सँस्कृति जेगेर्नाका लागि साँस्कृति जागरण अभियान सरकारको नीति तथा कार्यक्रममै उल्लेख गर्नुपर्ने लगायतका १५ बुँदे माग राखी मन्त्री यादवलाई ध्यानाकर्षण—पत्र समेत बुझाइएको छ ।

भेलामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्साका गरी २ नम्बर प्रदेशका तामाङ वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।