चरिकोट कारबाही र सिन्धुलीगढी कब्जा

चरिकोट कारबाही र सिन्धुलीगढी कब्जा


historyजनयुद्धको सुरुवातको दिन फागुन १ गतेभन्दा अगाडि माघ ३ गते राति चरिकोट बजारमा भएको एक साहसिक कारबाही पनि जनयुद्धका अति महत्वपूर्ण कारबाहीमध्ये एक हो । यस कारबाहीबाट माओवादीले ४२ हजार थान डेटोनेटर कब्जा ग-यो । डेटोनेटर भनेको उच्च खालका विस्फोटक पदार्थ विस्फोट गर्ने साधन हो । यो कान्छीऔंलाभन्दा पनि सानो आकारको हुन्छ । सिलवरले बनाइएको डटपेनको बिर्को आकारको यस साधनमा भित्र पिँधमा बारुद राखिएको हुन्छ । यो डेटोनेटर फ्युज तारबाट आगो लगाएर विस्फोट गर्ने र विद्युतीय तारबाट करेन्ट प्रवाह गरेर विस्फोट गर्ने गरी सामान्यतः दुईखालको हुन्छ । साधारण बारुद विस्फोट गर्न आगो, धक्का, थिचाइ, घिसाइ, करेन्ट भए पुग्छ तर उच्च विस्फोटक पदार्थ (हाईएक्स्प्लोसिभ)लाई साधारण बारुदसँगै राखेर विस्फोट गरेपछि मात्रै विस्फोट हुन्छ । जिलेटिन, डाइनामाइट आदि जस्ता हाईएक्स्प्लोसिभहरू विस्फोट गर्न डेटोनेटर अनिवार्य रूपमा चाहिने हुन्छ । साधारण बारुदभन्दा हजारौँ गुणा शक्तिशाली हुने यस्ता विस्फोटक पदार्थबाट नै विभिन्न खालका बम बनाइन्छ । ह्यान्ड ग्रेनेडदेखि लिएर कुकरबम, माइन, टाइम बम, एम्बुसमा प्रयोग हुने अनेक बमहरू सबै यस्तै हाईएक्स्प्लोसिभबाट बनाइन्छ र यसलाई विस्फोट गर्न डेटोनेटर अनिवार्य हुन्छ ।
बाटो, सुरुङ आदि बनाउने बेला पहाड फोर्न पनि यस्ता विस्फोटक पदार्थ प्रयोग हुन्छ । यस्तै कामका लागि सरकारले चरिकोट बजारमा एक सरकारी भवनमा ४२ हजार थान डेटोनेटर राखेको रहेछ । यो कुरा स्थानीय पार्टीका केहीले थाहा पाएका रहेछन् । यो कुरा ती साथीहरूले केन्द्रीय सदस्य आलोकलाई भने । उनले माघ १ र २ गते भएको प्रशिक्षणपछि केही साथीहरूलाई अलग राखेर चरिकोटबाट सो डेटोनेटर कब्जा गर्ने योजना बनाए । रितबहादुर खड्काको नेतृत्वमा एक सानो टिम बन्यो । रितबहादुरले योजना बनाए तर कार्यान्वयनका लागि कम्तीमा हजार रुपैयाँ चाहिने भयो । जाबो एक हजार जुटाउन पनि साथीहरूलाई सगरमाथा चढेजस्तै भयो । उनले चिनजानकी एक बहिनीबाट एक हजार सहयोग पाए जसलाई उक्त योजनाबारे केही भनिएको थिएन । त्यसबाट उनले एक सानो ह्याम्मर, दुईवटा ह्याक्सोब्लेड, केही खाली बोरा, नाम्लो, टर्च, चिउरा किने ।
राति ११ बजे टिम ठाउँमा पुग्यो । चारैतिर काँडेतारले घेरिएका दुई घरमध्ये माथिल्लो घरमा पालेहरू बस्थे र तल्लोमा डेटोनेटर राखिएको रहेछ । काँडेतार काटेर टिम भित्र पस्यो र बाहिर पनि केही सेन्ट्री बसे । कोठामा दुईवटा ताला लगाइएको रहेछ । साथीहरूले रेट्न थाले । तर, एउटा ताला रेट्न आधी बाँकी छँदा ब्लेड भाँचियो । अर्को ब्लेडले रेट्न थाले । एक घन्टाको प्रयासपछि ढोका खुल्यो । तर भित्र डेटोनेटर रहेनछ । केवल फ्युजवायर मात्र रहेछ । त्यही भए पनि साथीहरूले भारी कसे । अर्को कोठामा पनि दुईवटा ताला लगाइएको रहेछ । फेरि काट्न थाले । त्यसैबेला पाले उठेर खोक्दै हेर्न थालेछ । तर, एक छिनपछि फर्केर आफ्नो कोठामा गए । एक घन्टाको मिहिनेतपछि ढोका खुल्यो । भित्र ४२ हजार थान डेटोनेटर रहेछन् । साथीहरू खुसी हुँदै भारी कसे । अलिकति धक्का लाग्नेबितिकै विस्फोट हुने डेटोनेटरको भारी पनि हिउँ परेको बाटो हँुदै बचाएर साथीहरूले गन्तव्यमा पु-याए । यसैबाट नेपालमा जनयुद्धको दश वर्षमा ४० हजारपटक विस्फोट भयो । केही अझै कतै बाँकी होलान् । यस कारबाहीका नायक रितबहादुर खड्का पछि शहीद भए । योजनाकार आलोक पनि सेनाको कारबाहीमा पछि मारिए । वैद्य पक्षले आलोकलाई शहीद भन्यो तर प्रचण्ड पक्षले अझैसम्म भनेको छैन । प्रचण्ड–बाबुरामको रिस मरेको छैन होला शायद ।
जनयुद्ध सुरुवातको दिन ०५२ फागुण १ गते भएको महत्वपूर्ण कारबाही सिन्धुलीको प्रसिद्ध सिन्धुलीगढीमा रहेको प्रहरीचौकीमाथि भएको रेड पनि हो । करिब एक महिनाअघिदेखि नै यसको तयारी सुरु भयो । चौकीमा कति प्रहरी बस्छन्, हतियार कति छ, बाटाहरू जाने–आउने के–कति छन् आदि जस्ता रेकी गर्ने अर्थात् सर्भे गर्ने काम चले । हतियारहरू सङ्कलन गर्ने, हातेबमहरू बनाउने, बारुद बनाउने आदि कामहरू पनि भए । यी सबै काम अमले गाउँमा भएका थिए । गोरखामा राखिएको दुई थ्री नट थ्री राइफलमध्ये एउटा १४ दिन लगाएर सन्तु दराई नेतृत्वको टोलीले लुकाएर बोक्दै पैदल हिँडेरै सिन्धुली पु-याए । तर, त्यो बिग्रेको थियो । त्यसै रिसमा सबैका अगाडि हरिबोल गजुरेलले प्रचण्डको नाम लिएर तथानाम गाली गरे । स्थिति बिग्रने देखेर मणि थापा र रवीन्द्र श्रेष्ठले बिनाराइफल पनि कारबाही सफल पार्न सकिने विश्वास दिलाए । रवीन्द्रले हरिबोललाई पार्टीसँग जम्मा दुईवटा मात्र राइफल भएको र त्यसमध्ये एउटा बिग्रेको हुनाले कि त राम्रो ल्याउन वा बिग्रेको बनाएर मात्र ल्याउने मिलाउन भनेका थिए तर आयो बिगे्रकै नबनाईकन ।
सिन्धुली, सिराहा, धनुषा, उदयपुर, भोजपुर, खोटाङलगायतका जिल्लाका लडाकुहरू सम्मिलित ३७ जनाको टिम तयार भयो । पूर्वाञ्चलका कमान इन्चार्ज सीपी गजुरेलले पनि सिन्धुलीगढी चौकीनजिक पुगेर निशानाको निरीक्षण गरे । यस टिमका कमिसार हरिबोल गजुरेल बने । उनी आफँैले नेतृत्व गरेर चौकी आक्रमणमा जाने योजना बन्यो । मुख्य रेड गर्ने टिमको नेतृत्व रवीन्द्रले र परिवारसहित बस्ने प्रहरीको डेरा कब्जा गर्ने टिमको नेतृत्व मणि थापाले गर्ने गरी टोली विभाजन भयो । करिब पाँचवटा भरुवा बन्दुक, दुईवटा घरेलु कटुवा पेस्तोल, केही घरेलु हाते बम, केही खुकुरी– यिनै थिए जनयुद्धका सुरुवाती हतियारहरू । अघिल्लो दिन साँझ चाँडै खाना खाएर टोली तयार भयो । अँध्यारो भएपछि अमले गाउँबाट टोली प्रस्थान ग-यो । रातको करिब ११ बजेतिर सिन्धुलीगढीभन्दा अलि तल १ घन्टाको दूरीमा एक सानो गाउँमा टिमले आराम ग-यो । त्यहाँ कामरेड हरिबोल गजुरेलले सितनसहित लोकल रक्सीको व्यवस्था गरेका रहेछन् । बिचरा रक्सी नखाने रवीन्द्र र मणि थापालाई हरिबोलले थाहै नदिई यस्तो बन्दोबस्ती गरेका रहेछन् । किनभने थाहा दिएका भए उनीहरूले कुनै हालतमा यस्तो गर्न दिँदैनथे भन्ने उनलाई थाहा थियो । त्यस ठाउँमा पनि ती दुईजनालाई एउटा कोठामा राखेर अर्को ठाउँमा अरू सबैलाई खुवाउने मिलाएका रहेछन् गजुरेलले । फटाहाका सय दाउ ।
माथि गढीमा चौकीभन्दा अलिक वर चित्रनारायण श्रेष्ठ चौकीको अन्तिम खबर लिएर बसेका थिए । उनले दुवै टोलीलाई चौकी लिएर गए । मणि थापाको टोलीले परिवारसहित बस्ने प्रहरीका डेरालाई घेरा हाल्यो । रवीन्द्रको टोली सीधै चौकीको आँगनमा पुग्यो । केहीले चौकी पछाडिबाट घेरा हाल्यो । रवीन्द्रले आदेश दिएपछि हातेबम पड्काउन सुरु भयो । हात उठाएर बाहिर आउन आह्वान भयो । केही नगर्ने आश्वासनपछि प्रहरी बाहिर आए । चौकीमा रहेका प्रहरी ड्रेस र केही सामान मात्र कब्जा भयो । चौकीमा हतियार रहेनछ । टोलीका एकजनाले प्रहरीलाई दुई थप्पड हानिहाले । ती साथी केही महिना मात्र अगाडि प्रहरीको रामधुलाईमा परेका रहेछन् । रवीन्द्रले गाली गरेर रोके । एउटा सेफ चौकीमा रहेछ तर चाबी नभएकोले के छ भित्र कब्जा गर्न पाएनन् । उता मणिको टोलीले प्रहरीको परिवार बस्ने घर कब्जा गरेपछि प्रहरीकी श्रीमती बेस्कन चिच्याएर गुहार माग्न थालेछन् । एकजना साथीले दुई थप्पड लगाइदिएछन् । बिचरा मणिलाई रोक्नमा नै हैरानी । कारबाही सकेपछि नारा लगाएर सबै टोली गन्तव्यतर्फ लागे । यस ऐतिहासिक कारबाहीमा गएका चित्रनारायण बेपत्ता बनाइए । करिब एकतिहाइ योद्धा पछि शहीद भए ।