असारे विकासलाई जोरगोडाको अभिवादन !

असारे विकासलाई जोरगोडाको अभिवादन !


bichar– बद्रीप्रसाद दाहाल
असारेपूल, असारेगीत, असारेदही–चिउरा, असारे रोपाइँ भनेझैं पछिल्लो समयमा ‘असारे विकास’ले पनि हाम्रो समाजमा राम्रै परिचय बनाएको छ । तर, ‘असारे विकास’ जनहृदयमा घृणा, उपहास र प्रतिकूल भावना पैदा गर्ने जनघाती बिम्वको रूपमा आसीन छ । ‘जब भयो राति अनि बूढी ताती, लगनको बेला हगन, आगलागी झुपडी डेढ घडी भद्रा, बाह्र वर्ष ढुङ्ग्रोमा राख्यो कुकुरको पुच्छर बाङ्गाको बाङ्गै, राजाको काम कहिले जाला घामजस्ता मर्मभेदी उखानलाई सर्म नगरी कुकर्म गर्नेको भीडले कहिलेसम्म हाम्रो समाजमा हाकोडाको चलाउने हो ठेगान छैन । यतिबेला ०६९÷०७० आर्थिक वर्षको अन्त्य हुन लागेको छ, पुरानो बजेटलाई विकास निर्माणको नाममा हाम गर्ने यहाँका विकासे अड्डाका कर्म–आहारी, निर्माण व्यवसायीको विशेषणमा रङ्गिएका धराप निर्माता ठेक्दारसापहरू अनि सर्वदलीय भागबण्डाको डण्डा चलाउने राजनीतिक आवरणका बिचौलिया र दलीय झन्डाको ओतमा कोतपर्व मच्चाउने क्षमताका डन महाशयहरूको चारमुखे गठबन्धन कसिलो बन्दै गएको छ । गुणस्तरहीन सडक निर्माण गर्दै मर्मतको नाममा ठाउँ–कुठाउँ टालो हालेर मीतसालोसम्मलाई रोजगारी दिने सम्बन्धितहरूको चर्तीकला लाख जिब्रा भएका यतिखेरका जल्दाबल्दा खुराफातीका डफ्फाले पनि बखान गर्ने हुति राख्दा धोती खुस्कने अवस्था छ ।
भवन, धारा, ट्याङ्की, सडक, कुलो, शौचालय, बाटोलगायतका आवश्यकभन्दा पनि अनावश्यक क्षेत्रमा समेत भौतिक निर्माण र मर्मत भनेर विकासे बजेटलाई जेट बनाई वर्षेनी आ–आफ्ना अरौैटेभरौटे र धुपौरेहरूलाई रकम जोप्पाई गर्ने विकृति एवम् दुष्कृति यो देशमा इति नहुने नै भए । भागबण्डाको डण्डा चलाएर अण्डा पार्दै ठण्डा बन्ने भ्रष्ट पण्डाहरूले देश त रमितैसित लुटे बा ! भनेर जनार्दनहरू आर्तनाद गरे भनी कलियुगका नारदहरू छापा र विद्युत्यन्त्रमा कड्किएको, पड्किएको अनि छड्किएको दृश्य बाक्लिँदै छ असारे विकासस‘गै । जब–जब वर्षात्ले राज चलाउन थाल्छ तब–तब रोडमा डामाडोलसित पिचजात्राको मात्रा थालनी भइहाल्छ । यतिखेरका हामी सबै द्वन्द्ववादी भएरै होला अलकत्रा अर्थात् पिच र वर्षात्लाई जुधाएर विकासको नाममा गोजीतिर निकास गरी पोटिलो बनाउँछौँ । यतिखेर चौधै अञ्चल पचहत्तरै जिल्ला, नगर र गाविस विकास निर्माणको त्राण पाएर निष्प्राण गुणस्तरमा महाप्रयाणको नियति खेपिरहेका कुरा केही भोका र नगन्य इमानदार नारद मुनिहरूले डोकाका डोका पोका फुकालेर बोकाहरूको चर्तीकला देखाएका पनि छन् । भाग्योदय चिठ्ठाका अबिरेलगायत पूर्वबिफरेहरू भने ‘एकं लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ भन्ने सूत्रलाई गोमूत्र सम्झँदै अलकत्राको हिलोमा सडक रोपाइँ जारी राख्दै छन् ।
यसरी जेठको तेस्रो हप्तादेखि असार मसान्तअघि बजेट सिध्याउनैपर्ने चलन छ । फ्रिज हुनबाट जोगाउन जसरी पनि बजेटलाई धुलोपिठो बनाउने उल्टो बहादुरी चल्छ । बजेटको ६१ प्रतिशत विकास निर्माणको नाममा खर्च गर्ने अशुभ महिना हो असार । ‘असार’ शब्दको अर्थ नै सारहीन, तुच्छ, पार लगाउन नसकिने, गुदी नभएको, रित्तो र खाली भन्ने बुझाउँछ । यसरी हिजोआज ‘असार’ शब्दको मासिक सिर्जनशीलता भन्ने अर्थमा ‘असारे–विकास’ भन्ने उक्ति विकृतिले सिर्जनाको प्रतीक असार नै बिर्सनाको बिम्व भएर नाचेको नाच्यै छ बा ! हतार–हतारमा कोठाभित्रै दायाँ–बायाँ हातगोडाका औँलाका औँठाछाप हानेर आफ्नै काबुका मान्छे उपभोक्ता समितिमा राखी रातारात निर्माण र मर्मतका कागजी बाघ बनाउने कारखाना असारको सार वा उपहार हो । जेठ १५ सम्म निदाएर त्यसपछि युद्धस्तरमा दलहरू मिलेको ठाउँमा एउटा दल अध्यक्ष, अर्को दल सचिव, तेस्रो कोषाध्यक्ष र अरू कुनै भए उपाध्यक्ष बनाएर सर्वदलीय भागशान्ति लगाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भ्रान्ति बाँड्ने कामले बढोत्तरी पाइरहेको छ । ‘जोगी हुन राजनीति गरेको होइन’ भन्नेलाई ब्रह्मवाक्य बनाई अगस्ति ऋषिका अनुचर बन्दै सामुद्रिक देशदेखि भूपरिवेष्ठित राष्ट्रसम्मका सौजन्यलाई आपूm र आफ्ना स्वजनसम्म भातभान्छा गर्ने रमिता चलेको चल्यै छ । अहिलेका कविका कविताक्रान्तिलाई समेत चुनौती दिने भागबण्डा सबैको टण्टा साफ गर्ने उपाय हो ।
योजना सक्ने चटारोमा चतुर्मुखी कलियुगे ब्रह्माका हुलले यतिखेर दैनिक दर्जनौँ उपभोक्ता समितिसित डिल गर्न पर्ने हुँदा युद्धस्तरमा काइते काममा आइते, कथुरे र तिल्केलगायतका झिल्केहरू अति अभ्यस्त छन् बा ! उपभोक्ताले प्राविधिकसित मीत लगाएर पेस्की लिने अनि गुणस्तरहीन काम गरी मूल देवता, कुलदेवता र लाहुरेहरूलाई भूरसी बाँड्दै पिचलगायतका काम सिध्याई घिच गर्ने कर्मकाण्ड चलेको चल्यै भयो भनेर नारदमुनिलगायतका खुनी प्रतिस्थापन पक्षकाहरू हुक्काँ गर्दै डुग्रिरहेका छन् । असारे विकासको प्रतीक क्षेत्र रोड यतिखेर कम गुणस्तरका निर्माण र पुनर्निर्माणमा प्रताडित छ । अलकत्राको गाईजात्रे रोपाइँ जारी राख्ने सारहीन असारे विकासलाई जोरगोडैदेखि अभिवादन !!