पाण्डेको शपथसँगै प्रदेश ५ को प्रदेश सभाले पूर्णता पायो

पाण्डेको शपथसँगै प्रदेश ५ को प्रदेश सभाले पूर्णता पायो


प्रदेश ५ को प्रदेश सभाले पूर्णता पाएको छ । प्रदेश सभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य कल्पना पाण्डेको झन्डै ६ महिनापछि प्रदेश सभामा प्रवेशसँगै प्रदेश सभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेश सभा सदस्यको शपथ लिइन् ।

प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरूको उपस्थितिमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेश सभा सचिवालयमा पाण्डेलाई शपथ गराएका थिए ।

प्रदेश ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भए पनि विवाद भएपछि पन्तलाई राजीनामा दिन लगाएर राजपाले पाण्डेको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले पाण्डेलाई केही दिनअघि मात्रै निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।

अर्घाखाँची छत्रदेव गाउँपालिकाकी पाण्डे राजपाको समानुपातिकतर्फ समावेशी कोटामा दोस्रो नम्बरमा थिएन् ।