जाजरकोटमा बजेटको अभावमा पहिरो हटाउन सकस

जाजरकोटमा बजेटको अभावमा पहिरो हटाउन सकस


भिरालो जमिनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।

केही दिनअघि परेको झरीले जाजरकोटका दर्जनभन्दा बढी सडक बन्द भइसकेका छन् । तर, ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि भेरी नगरपालिका आफैँले पहिरो हटाउन थालेको छ । यद्यपि नगरसँग पर्याप्त बजेट नहुँदा समस्या देखिएको छ ।

छिन्चु–जाजरकोट सडकको शान्तिचौतारास्थित खहरे खोलामा पटकपटक माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुन थालेको र सदरमुकामभित्रै दर्जनभन्दा बढी ठाउँमा सडकको तल–माथिबाट पहिरो गएपछि बाटो सञ्चालन गराउन नगरपालिकालाई निकै सकस परेको नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

छिन्चु–जाजरकोट सडकको खहरे खोलामा आएको पहिरोले छ घन्टा अवरुद्ध भएको सडक आइतबार बिहान नगरपालिकाले खुलाएको छ । नगरपालिकाले विपद् व्यवस्थापनमा चालू आवमा रु. १३ लाख मात्र छुट्याएको थियो, तर खर्च नै रु. २० लाखभन्दा बढी भइसकेको छ ।

धेरै पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि नगरपालिका आफैँले इन्धन हाल्ने गरी मासिक रु. दुई लाख ४० हजारमा जेसिभी (डोजर) भाडामा लिएको छ । ‘बर्खाका बेला ग्रामीण भेगमा नभए पनि सदरमुकाम आसपास र छिन्चु–जाजरकोट सडक सञ्चालन गराउन चाहन्छौँ, तर बजेट अभावले समस्या परेको छ,’ नगरप्रमुख घर्तीले भने, ‘ग्रामीण भेगका सहायक सडकमा गएको पहिरो हटाउने जिम्मा नगरको भएको तर ठूला सडकको पहिरो हटाउने जिम्मा सडक डिभिजनको भए पनि सबै काम नगरले नै गर्नुपरेको छ ।’

छिन्चु–जाजरकोट सडकमा पहिरो गए सफा गर्न रुकुमको चौरजहारीमा रहेको सडक डिभिजनलाई बारम्बार आग्रह गर्दा पनि नटेरेको नगरप्रमुख घर्तीको भनाइ छ । नगरभित्रका सडकमा गएको ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

शनिबार राति खलंगाको शान्तिचौतारास्थित ट्राफिक प्रहरी कार्यालयनजिक माथिबाट आएको पहिरोले एक ट्याक्टर पुरेको छ । चालक भागेर ज्यान जोगाएका थिए । उक्त पहिरो हटाउन पनि नगरपालिकाले भाडामा लिएको जेसीभी सञ्चालन गराएको छ ।