नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रताविरोधी निर्णय र स्वेच्छाचारी गतिविधिविरुद्ध मानवअधिकार तथा शान्ति समाजले आज प्रदर्शन गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आयोजना गरेको धर्ना प्रदर्शनबाट प्रहरीले दुई दर्जन भन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । आधारभूत स्वतन्त्रता र मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलनअन्तर्गत पटक पटक आयोजित धर्नाका क्रममा गत एक सातामा यो तेस्रो गिरफ्तारी भएको समाजले जनाएको छ ।

धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गिता तिमल्सिना, बाबुहरी आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, विभागिय संयोजकहरु प्रताप पौडेल, बाबुराम न्यौपाने, बीपी पौडेल, सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, ईश्वरा लिङदेन, टिकाराम पौडेल, टंक गैरे, लोकेन्द्र थापा, ईश्वरी प्रसाद नेपाल, रामचन्द्र खतिवडा, नानीकाजी गिरी, मुरारी फुयाल, सुकदेव अधिकारी लगायत दुई दर्जन भन्दा बढीलाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको बुझिएको छ ।
धर्नामा सत्याग्रहीको जीवन रक्षा गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको छ भने न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत प्रधानमन्त्री कार्यालय सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार र संसद भवन अगाडि गरी तीन वटा धर्ना प्रदर्शन सम्पन्न भइसकेको समाजले जनाएको छ ।

प्रतिक्रिया