मेडिकल शिक्षामा सुधारलगायतका मागसहित आमरण अनशनरत चिकित्सक गोविन्द केसीका मागप्रति गम्भीर हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले चिकित्सक केसीको स्वास्थ्य स्थिति थप बिग्रँदै गएको खबरले आफूलाई गम्भीर बनाएको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले वार्तामार्फत समस्या समाधानका लागि सरकारगम्भीर नहुनुलाई आफूले अत्यन्त गम्भीर विषयका रुपमा लिएको उल्लेख गरेका छन् । केसीको जीवनरक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको देउवाको भनाई छ ।
आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको स्मरण गराउँदै सभापति देउवाले डा. केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी गरिउको त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत् हल हुने आफ्नो दृढ निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यति मात्र नभई देउवाले चिकित्सक केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश नै गरिरहेको गम्भीर आशंका उब्जिएको भन्दै सरकारलाई आरोपित तुल्याएका छन् ।
प्रतिक्रिया