ललितपुर महानगरको बजेट चार अर्ब ६० करोड

ललितपुर महानगरको बजेट चार अर्ब ६० करोड


ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरिबाबु महर्जनले दोस्रो नगर सभाबाट पारित बजेट सार्वजनिक गरे ।

महानगरपालिकाको चालू प्रशासनिक खर्च रु. एक अर्ब ६ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु. ३० करोड र पुँजीगत कार्यक्रम खर्च रु. दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ ।

वैदेशिक अनुदान कार्यक्रममार्फत रु. ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत रु. दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

आगामी आवको प्रस्तावित आयमा रु. ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ ।

आन्तरिक स्रोतबाट रु. एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ रु. ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजस्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुन सक्ने बताए ।

प्रदेश सभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ भन्नेमा निर्भर हुने बताए ।

बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए । प्रदेशको कानुन निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानुन निर्माणको बाटो नखुलेको उनले बताए ।

महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ वटै वडामा पुग्ने बताइन् । उनले भनिन्, ‘यी सबै वडाले महसुस गर्ने गरी विकास गर्नु अहिलेको आवश्यकता हो ।’