हवाई दुर्घटनाको बिमा रकम अब नेपाली र विदेशीलाई बराबर : मन्त्री अधिकारी

हवाई दुर्घटनाको बिमा रकम अब नेपाली र विदेशीलाई बराबर : मन्त्री अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बिमा रकममा अब विभेद नहुने बताएका छन् ।

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज (मंगलबार) शुभारम्भ गर्दै अधिकारीले नेपाली र विदेशी हवाईयात्रुले पाउने बिमा रकम फरक–फरक भएकामा अब भने बराबरी हुने गरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए ।

उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु. ३० लाख र विदेशीले रु. एक करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली संघले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए ।

उनले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पु¥याइएको जानकारी दिए । अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउने बताउँदै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गरे ।

यसअघि भएका हवाई दुर्घटनामा नेपालीले रु. ३० लाख र विदेशीले रु. एक करोड ५० लाख पाउँदै आएका थिए

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे ।

नेपालको सिमिकोट, पोखरा, काठमाडांै र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी दिए । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘सो विषयमा एक–डेढ महिनामा केही नतिजा आउँछ ।’

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उनले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।