चिकित्सा शिक्षामा आफ्ना सर्तअनुरूप सुधारको माग गर्दै जुम्ला पुगेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई बलजफ्ती काठमाडौं ल्याउने या नल्याउने भन्ने विषयमा मन्त्रिमण्डलभित्रै मतभिन्नता उत्पन्न भएको छ । कर्णाली प्रदेश सरकारले केसीका माग प्रदेशसँग सम्बन्धित नभएकोले केसीलाई काठमाडौं लैजानुपर्ने माग गरिसकेको छ । प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केसीको माग केन्द्रसँग सम्बन्धित भएकोले उनलाई काठमाडौं लैजान गृहमन्त्रीमार्फत आग्रह गरेका छन् ।
मन्त्रीहरूमध्ये शिक्षामन्त्री गिरिजाजमणि पोखरेलले गोविन्द केसीलाई तत्काल बलजफ्ती उठाएर काठमाडौंमा ल्याएर उपचार गर्नुपर्ने भन्दै केही दिनयता प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन् । तर, स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने केसीलाई काठमाडौं झिकाएर उनको माग जस्ताको जस्तै पूरा गर्न सकिने अवस्था नरहेको धारणा राख्दछन् । समग्रमा सरकारले अनशनरत केसीको मृत्यु कामना गरेको त देखिँदैन, तर सरकार अहिलेसम्म केसीको जीवनरक्षा गर्न विशेष रूपले लागिपरेको पनि देखिँदैन ।
सरकारले केसीसँग वार्ता गर्न शिक्षासचिवको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको भए पनि यो कमिटीले तत्काल कुनै ठोस परिणाम हासिल गर्न सक्ने अवस्था छैन । गोविन्द केसीको विषयलाई लिएर सत्ता पक्ष र विपक्षबीच फरकफरक अडान कायम रहेको देखिए पनि दुवै पक्षभित्र केसीको मागका पक्ष र विपक्षमा मानिस विभाजित हुन पुगेका छन् । कर्णालीमा रहँदा आन्दोलन चर्काउन नसकिने देखिएपछि एकथरीले केसीलाई तत्कालै काठमाडौं ल्याउने वातावरण बनाउन दबाब पैदा गरिरहेका छन् । यही बुझेर सरकारचाहिँ केसीलाई काठमाडौं ल्याउन अनकनाएको बताइन्छ ।
गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक भएको छ र यसले केसीका समर्थक तथा विरोधीहरूमा छटपटी बढाएको छ । अहिले केसीको मागभन्दा उनको जीवनरक्षा प्राथमिकताको विषय बनेको छ । त्यसैले अन्ततः सरकार केसीलाई काठमाडौं ल्याएर उपचार गराउन बाध्य हुने सम्भावना बढेको छ ।
गोविन्द केसी पहिलोपटक ०६९ असार २१ गते डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चिकित्सा क्षेत्रका विभिन्न माग राखी अनशन बसेका थिए । त्यसपछि साउन २७ गते उनी दोस्रोपटक अनशन बसेका थिए । यी दुवै अनशनको समयमा स्वास्थ्यमन्त्री राजेन्द्र महतो र शिक्षामन्त्री दीननाथ शर्मा थिए । केसी तेस्रोपटक ०७० पुस २७ गते खिलराज रेग्मी सरकारप्रमुख रहेका बेला र त्यसको एक महिनापछि चौथोपटक माघ २५ गते अनशन बसेका थिए । त्यतिबेला विद्याधर मल्लिक स्वास्थ्य र माधवप्रसाद पौडेल शिक्षामन्त्री थिए ।
सुशील कोइराला प्रधानमन्त्री तथा खगराज अधिकारी स्वास्थ्य र चित्रलेखा यादव शिक्षामन्त्री रहेका बेला २०७१ फागुन ८ गते र २०७२ भदौ ७ गते पाँचौँ र छैटौँपटक केसी अनशन बसेका थिए । त्यसपछि २०७३ असार २६ गते केपी ओली प्रधानमन्त्री रहेका बेला उनी अनशनमा थिए । त्यसबेला स्वास्थ्यमन्त्री रामजनम चौधरी र गिरिराजमणि पोखरेल शिक्षामन्त्री थिए । प्रचण्ड प्रधानमन्त्री र गगन थापा स्वास्थ्य तथा धनीराम पौडेल शिक्षामन्त्री रहेका बेला ०७३ असोज १० गते र कात्तिक २८ गते पनि केसी अनशनमा थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला केसी चारपटक अनशन बसेका थिए ।
२०७४ को साउन १९ गते, असोज ९ गते, असोज १९ गते र पुस २४ गते केसी अनशन बस्दा दीपक बोहोरा स्वास्थ्यमन्त्री र गोपालमान श्रेष्ठ शिक्षामन्त्री थिए । यसपटक केपी ओली प्रधानमन्त्री र उपेन्द्र यादव स्वास्थ्य तथा गिरिराजमणि पोखरेल शिक्षामन्त्री रहँदा गोविन्द केसी चौधौँपटक अनशनमा छन् । यसपटकको अनशन केसीका निम्ति सर्वाधिक जटिल र चुनौतीपूर्ण बन्न पुगेको छ ।
प्रतिक्रिया