पहिरोमा एक बेपत्ता, एक दर्जन परिवार विस्थापित

पहिरोमा एक बेपत्ता, एक दर्जन परिवार विस्थापित


गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका– ८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।

राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगामाटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ ।

घर भत्किँदा राति सुतिरहेका ६ जना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन ।

स्थानीयवासीले उद्धारकार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ ।

बेनी—मालढुंगा सडक अवरुद्ध


यसैबीच, कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ ।

त्यस्तै, सडकमा गुडिरहेको ध.१ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए ।

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । अहिले मिलनचोक प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेर सडक खुलाउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसाधन खनियाँघाटमा अलपत्र परेका छन् । सडक खुलाउनका लागि एस्काभेटर र डोजर मगाएर पन्छाउने काम भइरहेको छ ।