मापदण्ड पूरा गरेको मनमोहन मेडिकल कलेजको दाबी

मापदण्ड पूरा गरेको मनमोहन मेडिकल कलेजको दाबी


प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा. वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरूको योगदानलाई स्मरण गर्ने परम्पराअनुसार उक्त संस्था स्थापना गर्न लागिएकोमा त्यसलाई अनावश्यक राजनीतीकरण गरिएको विचार व्यक्त गरे ।

एउटा शक्तिशाली आयोग बनाएर त्यसको सुझावका आधारमा मुलुकका विभिन्न भागमा सुविधासम्पन्न अस्पताल खोल्नुपर्नेमा जोड दिँदै मिश्रले भने, ‘मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरूभन्दा धेरै छात्रवृत्ति दिने, अरूभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौँ ।’

उनले अनशनरत डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ भनेर उठाएका माग राम्रा भए पनि भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधार हेरेर शिक्षण अस्पताल खोलेर नेपाललाई मेडिकल हब बनाउने विषयमा सहयोग गर्नुपर्ने बताए ।

डा. केसीको उपचार जुम्लामा हुँदैन, काठमाडौंमा ल्याउनुपर्छ, त्यसपछि सर्वमान्य संसद् र जनताले बुझ्ने गरी यस विषयलाई सदाको लागि समाधान हुने गरी व्यापक छलफल गरिनुपर्छ, म पनि एक चिकित्सक हुँ, उहाँ पनि चिकित्सक हो,’ मिश्रले भने ।

देशभरका सबै पक्षका विभिन्न तह र तप्काका करिब दुई हजार ६ सय सदस्यले रु. एक–एक लाख जम्मा गरी सहकारीको माध्यमबाट स्थापना गर्न लागिएको उक्त संस्थाले आवश्यक मापदण्ड पूरा गरी मनसायपत्र प्राप्त गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।