पाँच अर्ब २१ करोड राजस्व संकलन

पाँच अर्ब २१ करोड राजस्व संकलन


आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष ०७४-७५ मा कुल पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा २५ करोड २६ लाख २८ हजार राजस्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए ।

आव ०७३-७४ मा कार्यालयले चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजस्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा ७४ करोड ६१ लाख नौ हजार बढी राजस्व संकलन गरेको थियो ।

आव ०७४-७५ मा संकलित राजस्वमा आयकरतर्फ एक अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर १० करोड ७० लाख २२ हजार, ब्याजकर पाँच करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर एक अर्ब २१ करोड ७८ लाख आठ हजार, अन्तःशुल्क दुई अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर दुई करोड ७६ लाख ७८ हजार रहेको छ ।

यसैगरी मोरङमा सबै प्रकारको गरी कुल ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजस्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।