डुब्दै छन् दुई दर्जन सहकारी

डुब्दै छन् दुई दर्जन सहकारी


othernewsसरकारीमा नगद राख्नेहरू होसियार !
बढी ब्याजको लोभमा परेर सहकारी संस्थामा रकम जम्मा गर्नेहरूले अब साँवासमेत गुमाउनुपर्ने खतरा बढेको छ । हाल मुलुकमा २८ हजारको हाराहारीमा सहकारी संस्था सञ्चालित छन् भने १६ हजारभन्दा बढीले बैंकिङ कारोबार गर्दै आएका छन् । चार हजारभन्दा बढी बहुउद्देश्यीय सहकारी रहेका छन् । पछिल्लो समय आकर्षक ब्याज तथा अन्य सेवा–सुविधाको लोभ देखाएर बचतकर्ताहरूबाट मोटो रकम बचत गराई सो रकम बोकेर सञ्चालकहरू फरार हुने तथा सहकारीका नाममा नभई फर्जी नाममा मनोमानी लगानी गरेको पाइएपछि सहकारीका बचतकर्ताहरूको साँवा नै गुम्ने खतरा देखिएको हो । सहकारी डिभिजन केन्द्रीय कार्यालयका अनुसार हाल २७ बचत तथा ऋण सहकारी संस्था गम्भीर खतराको सूचीमा परेपछि सहकारीमा रकम जम्मा गर्नेहरूको ब्याज त परैको कुरा साँवासमेत जोखिममा परेको छ ।
सहकारी डिभिजन कार्यालयका अनुसार आकर्षक प्रलोभन देखाएर बचतकर्ताको रकम कुम्ल्याएर केही सञ्चालकहरू भूमिगत भएका छन् । पुतलीसडकस्थित ओराकल बचत तथा ऋण सहकारीले धेरैको रकम कुम्ल्याएर गत चैतमा भागेको थियो । बानेश्वर, न्युरोड र पुतलीसडकका तीन सहकारी मर्ज भएर बनेको ओराकल सञ्चालकले कति बचतकर्ताको कति रकम कुम्ल्याए भन्ने लेखाजोखा कसैसँग छैन । डिभिजन कार्यालयका अनुसार उक्र सहकारीमा करिब १५ सय बचतकर्ता छन् । उनीहरूबाट लिएको रकम कहाँ र कति लगानी भएको छ, त्यसको कुनै जानकारी छैन ।
त्यस्तै घरजग्गा व्यापारमा आफूखुसी लगानी गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेडमा रकम जम्मा गर्नेहरूको रकम पनि जोखिममा परेको छ । वाणिज्य बैंकको भन्दा बढी आर्थिक हैसियत देखाएको ओरेन्टलका सञ्चालकले घरजग्गा कारोबारमा हात हालेपछि उसले बचतकर्ताको रकम फर्काउन सकेको छैन । सहकारी सिद्धान्तअनुसार आफ्ना सेयर सदस्यबाट रकम उठाएर उनीहरूमाझ लगानी गर्नुपर्नेमा आफूखुसी घरजग्गामा लगानी गरेकाले समस्यामा परेको विवरण देखाएको छ । तर, घरजग्गामा लगानी गर्दा पनि बैंकबाट समेत ऋण लिएको देखिन्छ, त्यसैले सो रकम कहाँ लगानी भएको हो भन्न सकिने अवस्था छैन ।
त्यस्तै थापाथलीमा कार्यालय रहेको समस्याग्रस्त एक्जिम बहुउद्देश्यीय सहकारीका सञ्चालकले एक हजार सात सय बचतकर्ताको ४७ करोड रकम हिनामिना गरेर फरार भएको उजुरी डिभिजन कार्यालयमा छ । सो सहकारी संस्थाका बचतकर्ताहरूले डिभिजन कार्यालयमा मात्र नभएर प्रधानमन्त्री कार्यालयदेखि राष्ट्र बैंकका डेपुटी गभर्नरसम्म उजुरी गरेका छन् ।
त्यस्तै, ललितपुर पुल्चोकस्थित गुण मल्टिपर्पाेज को–अपरेटिभ लिमिटेडले बचतकर्ताहरूको रकम कहाँ लगानी गरेको छ, कुनै टुङ्गो छैन । तर, सो सहकारी सञ्चालकहरूले अर्कैको नाममा रकम लगानी गरेकाले समस्याग्रस्त भएको हो । सूत्रका अनुसार गुणले स्तुपा बचत तथा ऋण सहकारी संस्थाका नाममा पनि कारोबार गरेको पाइएको छ । त्यस्तै, सहकारीको रकम सहकारीका नाममा नभई अर्कै उद्योग तथा कम्पनीको नाममा पनि लगानी गरेको पाइएको छ । तर, गुण सहकारीको नाममा नभई अन्य व्यक्ति तथा कम्पनीको नाममा लगानी गरेपछि गुण सहकारी चरम सङ्कटमा परेको हो ।
सहकारी डिभिजन कार्यालयका अनुसार दीपशिखा बचत तथा ऋण सहकारी संस्था लि., रशा बचत तथा ऋण सहकारी संस्था लि., अञ्जुली बचत तथा ऋण सहकारी संस्था लि., सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि., कोरोना बचत तथा ऋण सहकारी संस्था लि., रूपान्तरण बहुउद्देश्य सहकारी संस्था लि., उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि., फ्युचर किज स्वस्थ सहकारी संस्था लि., गुण मल्टिपर्पोज को–अपरटिभ लि., हिमशिखर को–अपरटिभ लि., कस्मिक बचत तथा ऋण सहकारी संस्था लि., डिमाण्ड बचत तथा ऋण सहकारी संस्था लि., पिताश्री बचत तथा ऋण सहकारी संस्था लि., गे्रस बहुउद्देश्यीय सहकारी संस्था लि., कमलिन बचत तथा ऋण सहकारी संस्था लि., गगनचुली बचत तथा ऋण सहकारी संस्था लि., परिदृश्य बचत तथा ऋण सहकारी संस्था लि., प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लि., मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लि., मुस्किलमा सजिलो बहुउद्देश्यीय सहकारी संस्था लि., शुभश्री को–अपरेटिभ लि., साइन बचत तथा ऋण सहकारी संस्था लि., जय शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लि., सिन सेभिङ एन्ड क्रेडिट ओपरेटिभ लि. र इन्द्रावती सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड चरम खतराको सूचीमा रहेका छन् ।
डिभिजन कार्यालयका अनुसार सबैभन्दा समस्याग्रस्त सहकारी कार्यालय उपत्यकामा कार्यालय सञ्चालन गरेकाहरू मात्र छन् । जिल्ला तथा गाउँमा सञ्चालन भएका सहकारीमा भने त्यस्तो समस्या देखिएको छैन ।
शहरमा सञ्चालन भएका सहकारीले आफूखुसी विभिन्न क्षेत्रमा लगानी गरेकोले समस्या देखिएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीका अनुसार सहकारी सञ्चालकले सदस्यहरूको निक्षेप आफूखुसी प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकोले सहकारीमा क्षेत्रमा समस्या देखिएको हो । उनका अनुसार सहकारीले अनेक प्रलोभनमा पारेर सर्वसाधारणबाट निक्षेप जम्मा गर्ने र भाग्ने प्रवृत्ति बढेको छ । त्यस्तै सीमित व्यक्तिको चलखेलले गर्दा पनि सिङ्गो सहकारी क्षेत्र नै धराशायी बन्दै गएको हो । सरकारले यसलाई रोक्न नसके थप समस्यामा पर्ने देखिन्छ । सहकारी ऐनविपरीत सञ्चालकहरूले आफूखुसी लगानी गर्दा पनि दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म मात्र जरिवाना हुने कानुनी प्रावधान भएकाले तोकिएभन्दा बाहिर गएर लगानी गरेका छन् । तर, त्यसरी गरेको लगानी पनि सहकारीको नाममा नहुने भएपछि थप समस्या देखिएको हो ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारीमा आकर्षक ब्याजको लोभमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकोले समस्या देखिएको हो । धेरै सहकारीले घरजग्गामा अत्यधिक लगानी गरेकाले समस्या आइपरेको विभागको ठम्याइ छ । रातारात नाफा कमाउने लोभले गर्दा सहकारी बद्नाम बन्दै गएका हुन् । ‘सहकारी ऐन प्रवद्र्धन गर्ने खालको मात्र भएकोले समस्या उत्पन्न भएको हो,’ सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले भने, ‘कारबाहीको दायरा बलियो बनाएर कानुन ल्याउने हो भने समस्यामा कमी आउँछ ।’ फितलो कानुन र प्रभावकारी अनुगमन नभएकोले धेरै सहकारीले सर्वसाधारणलाई सजिलै ठगी गरेका हुन् । तर, सरकारले यसलाई कडा गर्दै सहकारीलाई कडा कानुनी दायरामा ल्याउने तयारी गरेको छ । यही तयारीस्वरूप सरकारले सहकारी क्षेत्रलाई नै लक्ष्ँित गरी ९६ करोड रुपैयाँ बजेटमार्फत छुट्याएको छ । यो रकमले अर्थ, सहकारी मन्त्रालय र राष्ट्र बैंकको संयुक्त समिति बनाएर सहकारीको अनुगमन गर्ने भएको छ । अर्थ मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपालका अनुसार सहकारीलाई सशक्त बनाउने र अनुगमन नियमन पनि अघि बढाउने सरकारको योजना छ ।
सहकारीमा बढ्दै गएको कारोबारसँगै विकृतिसमेत बढेपछि अनुगमनलाई बढाउन लागिएको हो । अनुगमनलाई प्रभावकारी बनाउन भन्दै गभर्नर डा. युवराज खतिवडा र सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केशव भट्टराई तथा विभागका रजिस्ट्रार केदार न्यौपानेबीच अनुगमनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ । सहकारी विभागका अनुसार सहकारीबाटै पाँच करोडभन्दा बढी कारोबार भएका सहकारी पाँच सयभन्दा बढी छन् । हाल एक करोडभन्दा बढी कारोबार गरेका सहकारीले बुझाउँदै आएको मासिक वित्तीय विवरणसमेत राष्ट्र बैंकले विश्लेषण गर्दै आएको छ । पाँच करोडभन्दा बढी कारोबार गरेका सहकारीको विवरण सहकारी विभाग हुँदै राष्ट्र बैंक पुग्ने गरेको छ ।

राजदूतलाई सताउन खटिइन् युवती
मुरारीले देखाए सक्कली अनुहार
भनिन्छ, आफ्नो भाग खोस्ने व्यक्तिलाई मानिसले आफ्नो जीवनकै सबभन्दा ठूलो शत्रु ठान्दछ । बेलायतमा शरणार्थी जीवन बिताइरहेका पूर्वपरराष्ट्रसचिव मुरारीराज शर्माले हालै दर्शाएको व्यवहारले उक्त कहावतको पुष्टि गरेको छ । कूटनीतिक सेवाको सबै महत् वपूर्ण जिम्मेवारीलाई आफ्नै पैतृक अंश ठान्ने मुरारीराज शर्मालाई चार वर्षअघि तात्कालिक सरकारले राजदूतबाट फिर्ता बोलाएपछि उनले आफ्नो अपमान भएको ठाने र त्यसरी नेपाल फर्कनुभन्दा बेलायतमै शरणार्थी जीवन बिताउनुलाई उनले उपयुक्त माने । अनि नेपालको राजदूतका रूपमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भई आफ्नो कार्यभार सम्हाल्न लन्डन पुगेपछि शर्माले चालिसेलाई पनि महान् शत्रुका रूपमा देख्न थाले । चालिसेलाई कुनै न कुनै काण्ड रचेर नेपाल फर्काउन सके आफू पुनः सो पदमा पुग्ने आशामा रहेका मुरारीराजले डा. सुरेशचन्द्रलाई विवादमा तान्न करिब चार वर्षदेखि प्रयास गरिरहे । तर, त्यसरी विवादमा तान्न गरिएको प्रतीक्षा प्रतीक्षामै सकिने भएपछि कर्मचारीहरूको सरकार क्रियाशील भएकै मौका पारेर उनले यसपालि एक नाटक मञ्चन गरेको खबर बेलायतबाट घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार मुरारीराज शर्मा अब राजनीतिक दलहरूले आफूलाई पत्याउने ठान्दैनन् । बरु खिलराज रेग्मी नेतृत्वकै सरकारले आफ्ना लागि केही गरिदिने आशा उनले गरेका छन् । मुरारी बेलायतमा पुनः राजदूत हुँदा मात्र आफू सम्मानित र विजयी बनेको ठान्ने मानसिकतामा छन् । तर, हालका राजदूत डा. सुरेशचन्द्र चालिसेको आगामी माघमा मात्र कार्यकाल पूरा हुँदै छ, जब कि वर्तमान सरकार माघसम्म रहनेमा उनी विश्वास गर्दैनन् । कुनै विवादमा पारेर अहिले नै चालिसेलाई फर्काउन सके मात्र आफ्नो दिन फर्कने ठान्दै मुरारीराज शर्माले लन्डनमा एक युवतीलाई प्रयोग गरेर जस्तो नाटक रचे त्यो भद्दा र फोहोरी भए पनि अत्यन्त रोचक छ ।
मुरारीराज शर्मा बेलायतमा राजदूत रहँदा उनले खेमराज भट्ट मायालुकी बुहारी दमयन्ता भट्ट खरेललाई भुइँ सफा गर्ने (मेट) कामका लागि दुईवर्षे करारमा राखेका थिए । दमयन्तासँगै भीसा सेक्सनमा काम गर्नका लागि सुरेन्द्र भण्डारीलाई पनि उनले दुईवर्षे नियुक्ति दिएका थिए । बेलायतमा निरन्तर पाँच वर्ष बस्नेले स्थायी बसोबासको अवसर पाउने हुनाले डा. चालिसेले दुईवर्षे करार अवधि सकिएपछि पनि ती दुवैलाई ‘सेवा’ मा निरन्तरता दिँदै आएका थिए । करिब एक महिनाअगाडि दमयन्ता र सुरेन्द्र भण्डारीले नियमानुसार इन्डिफिनिट लिभ टु रिमेन प्राप्त गरे र त्यसको तीन सातापछि दुवैको राजदूतावासमा काम गर्ने करार अवधि पनि सकियो । दुवैजनाको ‘कल्याण’ भएको र सो स्थानमा अरू कोही नेपालीलाई मौका दिनु उपयुक्त हुने ठानेर हुनसक्छ उनीहरूको करार अवधि थप गर्न राजदूतावासले चाहेन । दूतावास कर्मचारी सूत्रका अनुसार दमयन्ताको आचरण ठीक नभएको र काम पनि राम्रो नगर्ने हुनाले उनको करार अवधि पुनः थप गरिनुपर्छ भन्ने पक्षमा कोही पनि थिएनन् र राजदूत चालिसे स्वयम्ले पनि यस तथ्यलाई बुझेका थिए । त्यसैले दमयन्ता र सुरेन्द्रको करार नवीकरण हुन सकेन । ‘सेवा’मा कायम रहन दमयन्ताले अनेकौँ प्रयास गरेकी थिइन् तर उनलाई सफलता मिलेन । यही विषयलाई लिएर क्रूद्ध बन्न पुगेकी दमयन्तालाई राजदूतावासकै भीसा सेक्सनमा काम गर्ने अनिल अधिकारी (जो मुरारीराज शर्माका साढुभाइ पनि हुन्) ले राजदूत चालिसेविरुद्ध उक्साउन थाले । करार अवधि थप नभए घूस मागेको र यौन हिंसा गरेको भन्ने आरोप लगाएर मिडिया तथा न्यायालयसम्म जाने धम्की पनि दमयन्ताले राजदूतलाई दिएको बताइन्छ । ‘जागिर’ गएपछि तिनै मुरारीराज शर्मा र अनिल अधिकारीको सहयोगमा दमयन्ता विभिन्न सञ्चारमाध्यमसम्म पुगिन् र राजदूत चालिसेको मानमर्दन गर्ने काम गरिरहेकी छिन् । बेलायतमा अदालती प्रक्रिया महँगो हुने भएकाले उनी अदालत भने जान सकिनन् । तर, एक सूत्रले दिएको जानकारीअनुसार राजदूतविरुद्ध अदालतमा जान आफूहरूले सहयोग गर्ने वचन मुरारीराज शर्मा र अनिल अधिकारीले दमयन्तालाई दिएका छन् । शर्मा र अधिकारीको आश्वासन पाएपछि दमयन्ता राजदूत चालिसेका विरुद्ध यौन हिंसाको आरोप लगाउँदै अदालत जाने तयारी गरेको बताउँदै हिँड्न थालेकी छिन् । अदालतमा मुद्दा परेमा राजदूतलाई नेपाल फिर्ता बोलाइने र रेग्मी सरकारले आफूलाई राजदूत नियुक्त गरिदिने विश्वासमा रहेका मुरारीराज शर्मा दमयन्तालाई शिखण्डीका रूपमा प्रयोग गरेर लाखौँ खर्च गर्न तयार भएको बताइन्छ । यसरी आफ्नी पत्नीलाई मुरारीराजले दुरुपयोग गर्न खोजेका भए पनि तिनका पति एवम् खेमराज मायालुका सुपुत्र भने निरीह बनेका छन् । आफ्नी पत्नीको स्वभाव र चरित्रबाट आजित बनेका उनले जतिसुकै सम्झाउँदा पनि पत्नीलाई काबुमा लिन सकेका छैनन् । यस प्रकरणमा दमयन्ताको भन्दा पनि मुरारीराज शर्माको व्यवहारलाई लिएर राजदूतावासका कर्मचारी तथा लन्डनस्थित नेपाली समुदाय चकित परेका छन् । स्मरणीय छ, दमयन्ता टुरिष्ट भिसामा बेलायत पुग्नुअघि साइप्रसमा ‘बारगर्ल’का रूपमा काम गर्थिन् । उनले त्यहाँ शरणार्थी बन्न गरेको प्रयास असफल भएपछि साइप्रस सरकारले उनलाई नेपाल फिर्ता पठाइदिएको थियो ।

प्रचण्ड चिल भए परेवा को ?– हरदम कोइराला
जिम्मेवारीले नेताको, आकारले मानिसको र प्रकारले हिंसात्मक जनावरको व्यवहार गर्नुहुने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफू चिल (पन्छी) भएको दाबी गर्नुभयो । प्रचण्डको छवि एक जाली–झेलीका रूपमा स्थापित भए पनि उहाँ बेलाबखत मनका कुरा खुलस्त राख्ने पनि गर्नुहुन्छ । गत साता आफ्ना कार्यकर्तामाझ पचासौँ झुटबीच एउटा सत्य बोल्दै आफूहरू चिलझैं निशाना लगाउन सचेत रहेको सङ्केत गर्नुभयो । पन्छीहरूमा चिललाई आकर्षक, चतुर र बलियो मांसाहारी पन्छीका रूपमा लिइन्छ । जनावरमा सिंह, बाघ या चितुवाले पाउने ‘मान सम्मान’ पन्छी जगत्मा चिललाई प्राप्त छ । शिकार गर्ने र मासु खाने भए पनि हुँडार, स्याल र ब्वाँसो तिनका रूपरङ्ग र शैलीका कारण अपहेलित छन् । पन्छीहरूको संसारमा चाहिँ सम्भवतः गिद्धलाई तिरष्कृत मानिन्छ । तर, जनावर या पन्छीप्रतिको यस्तो दृष्टिकोण तिनको चरित्र, स्वभाव, शैली र रूप हेरेर हामी मानिसले बनाएका हौँ । आफ्नो संसारभित्र तिनको छवि हामीले देखेको या बनाएकोभन्दा भिन्न हुनसक्छ । मांसाहारी र आकर्षणविहीन भए पनि गिद्धलाई चिलभन्दा कैयन गुणा योग्य र उपयोगी मान्न सकिन्छ । गिद्ध, जसले मासु खाए पनि कसैको हत्या गर्दैन, लुटेर–खोसेर खाँदैन, मिति पुगेर या नपुगीकन मरेका या मारिएका जीवजन्तुको मासु खाएर उसले आफनो जीवन निर्वाह गर्ने गर्दछ । उसले आफनो जीवन निर्वाह गरिरहँदा प्रदूषणमुक्त तुल्याउन योगदान पु-याएकोले गिद्धको भूमिका सम्मानजनक नभए पनि उसको उपयोगिता बोध गर्न सकिन्छ ।
तर चिलको कुरा बेग्लै छ, ऊ शान्तपूर्वक आफ्ना गुँडमा बसिरहेको वा चरिरहेका परेवा र त्यस्तै आकारप्रकारका पन्छीहरूलाई आक्रमण गर्छ र भोक मेटाउँछ । पखेटा नलागेका आफ्ना बचेराहरूलाई आहारा खोज्न निस्केका चराचुरुङ्गीलाई बाटैमा शिकार गरेर चिलले वास्तवमै कति ठूलो आपराधिक र दानवीय कार्य गरेको छ भन्दा पनि उसले कति मज्जाले शिकार–कौशल प्रस्तुत गर्छ भन्ने पक्षलाई आधार बनाएर हामी चिलप्रति आकर्षित हुने गर्दछौँ । तर, प्रकृतिको शोभा बढाउँदै बथानमा उडिरहेका या जमिनमा चरिरहेका निहत्था पन्छीहरूलाई आफ्नो शिकार बनाउने चिलभन्दा कैयन गुण बढी गुणी पन्छीका रूपमा गिद्धलाई लिइनु उपयुक्त हुनसक्छ । प्रचण्डले आफूहरूलाई त्यसप्रकारको गुणी पन्छी गिद्धसँग तुलना गर्नुभन्दा सिधासादालाई शिकार बनाउने चिलसँग जोड्नुमा गौरव महसुस गर्नुभयो । अब प्रश्न उठेको छ– प्रचण्ड चिल भए परेवाचाहिँ को ?
प्रचण्डहरूको गन्तव्य ‘सम्पूर्ण सत्तामाथि आफ्नो नियन्त्रण’ हो भन्ने तथ्य सबैमा जाहेर छ । उहाँहरू अन्य सबैलाई अलमल्याउँदै र भुलभुलैयामा राख्दै सम्पूर्ण सत्ताको मालिक बन्न चाहनुहुन्छ भन्ने पनि सबैले बुझेको सत्य हो । शान्तिपूर्वक आ–आफ्नै संसारमा रमाइरहेका अन्य राजनीतिक विचारवाहकहरूले सुइँकोसमेत नपाउने गरी सत्तामाथि आफ्नो एकलौटी नियन्त्रण बनाउन प्रचण्डहरू क्रियाशील रहेकोे जानकारी पनि सबैले पाएका छन् । काङ्गे्रस–एमालेलगायतका विपक्षी विचारप्रति प्रतिबद्ध सामान्य नेपालीमध्ये करिब १७ हजारको गला रेट्दा पनि सत्ता प्राप्तिको सपना पूरा नभएपछि कथित सम्झौताको मार्ग अवलम्बन गरेका प्रचण्डहरू रोल्पा–रुकुमबाट नयाँदिल्ली र दिल्लीबाट काठमाडौं सिंहदरबारसम्मको यात्रा पूरा गरिसक्दा पनि एकलौटी सत्ता प्राप्तिको खहरे सोचबाट मुक्त भइनसकेको महसुस आमनेपाली जनताले गरेका छन् । शान्तिप्रक्रियामा आइसकेपछि पनि एकलौटी सत्ताप्रति दर्शाएको मोहले एमाओवादी नेतृत्व छट्टु स्याल या चिलझैं शिकार प्राप्तिको रणनीतिक चालबाजीमा रहेकोे हामी सबैले महसुस गरेका छौँ । विपक्षी राजनीतिक शक्तिहरू आफ्नै प्रकारका भूमिकामा रमाइरहेको मौका छोपेर चिलले चल्ला टिपेझैं सत्ता टप्काउने जुन रणनीतिक चालबाजी प्रचण्डले चलिरहनुभएको छ त्यसप्रति आमनेपाली र विश्व समुदाय सचेत नरहेको ठान्नु प्रचण्डको महाभूल हुनसक्छ । सबैलाई छलेर सत्ताको मालिक बन्ने प्रचण्डको सपना अन्ततः सातुको घ्याम्पोमा लात्ती हान्ने कथाका पात्रझैं भताभुङ्ग हुनेमा द्विविधा राख्नुपर्ने परिस्थिति अब छैन । फरक विचारसमूहका निहत्था समर्थकको गला रेटेर ‘सफलता’ प्राप्त गर्ने अध्याय त केहीअघि नै समाप्त भइसकेको छ, अब सबको आँखा छलेर सत्ता टिप्ने स्थिति पनि छँदै छैन । यस्तो अवस्थामा प्रचण्डले आफू चिल भूमिकामा रहेको उद्घोष गरेर देश र जनतालाई थप सचेत मात्र बनाइदिनुभएन, आफू मानव भूमिकामा रूपान्तरित हुन अझै बाँकी रहेकोे खुलासासमेत गर्नुभएको छ । विगत कैयन वर्षदेखि प्रचण्डहरूलाई ‘मानव बनाउन’ राज्यबाट भएका प्रयासहरू निरर्थक रहेको तथ्य पनि यस प्रकरणले उजागर गरेको छ । चिल बनेर आकाशमा जति फन्को लगाए पनि अब धर्तीमा कुनै परेवा तिनको आहार बन्न तयार छैनन्, न राज्यसत्तालाई टपक्क टिपेर लैजाने स्थिति नै छ । त्यसैले यति भन्न सकिन्छ– ‘चिल रहेछन् प्रचण्ड, आकाशमा घुमिरहे हुन्छ, धर्तीमा बिर्को लागिसकेको छ, सत्ताकब्जाको सपना देख्दै नदेख्नु राम्रो ।

‘कलियुगका राम पनि लक्ष्मणविरुद्ध’
एक महिलासहित छोरालाई नियुक्त गर्न दबाब
राज्य सञ्चालन प्रक्रियामा आफ्नो भूमिका शून्य बराबर हुन थालेपछि राष्ट्रपति डा. रामवरण यादवको ध्यान काङ्गे्रसको आन्तरिक राजनीतितर्फ केन्द्रित हुन थालेको छ । आफ्नो सुपुत्र डा. चन्द्रमोहन यादवलाई केन्द्रीय सदस्य नियुक्त गराउन विगत नौ महिनादेखि सभापति सुशील कोइरालालाई दबाब दिँदै आउनुभएका राष्ट्रपति यादवले पछिल्ला दिनहरूमा मकवानपुरतिर निकै ‘चर्चामा रहने’ गरेकी कुनै रिता खनाल नामक महिलालाई समेत केन्द्रीय सदस्य बनाइदिन कोइरालामाथि दबाब दिन थाल्नुभएको छ । राष्ट्रपति डा. यादवले आफ्नी भतिजी पूर्वसभासद् किरण यादवका पतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाइनुपर्ने र नेपाली काङ्गे्रसको युवा पङ्क्तिका नेतासमेत रहेका लक्ष्मण ढकाललाई सभापति सुशील कोइरालाको सहयोगीबाट हटाउनुपर्नेजस्ता माग पनि प्रस्तुत गर्नुभएको छ । लक्ष्मण ढकाल विगत सोह्र वर्षदेखि सुशील कोइरालाको सहयोगीका रूपमा रहँदै आएका छन् । कोइरालाको हैसियत दुरुपयोग गर्न चाहनेहरूप्रति कठोर व्यवहार गर्ने ढकालकै कारण आफ्ना पुत्र चन्द्रमोहनलाई केन्द्रीय सदस्य नबनाइएको विश्वास राष्ट्रपति यादवले गर्नुभएको छ । त्यसैले उहाँले गत साता आफ्नै निवासस्थान शीतलनिवासमा रात्रिभोजको निम्ति आमन्त्रण गरेर सभापति कोइरालासमक्ष आफ्ना चारवटा माग प्रस्तुत गर्नुभएको बुझिएको छ । डा. यादवको पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार सभापति कोइरालाले चन्द्रमोहन र रिता खनाललाई अहिले केन्द्रीय सदस्य बनाउन नसकिने स्थिति रहेको स्पष्ट रूपमा बताउनुभयो । त्यसैगरी लक्ष्मण ढकाललाई सहयोगीको भूमिकाबाट हटाउन गरिएको आग्रहलाई पनि कोइरालाले गम्भीरतापूर्वक लिनुभएन, बरु उल्टै प्रश्न गर्नुभयो, ‘उनले त्यस्तो गल्ती के गरेका छन् र ?’ कोइरालाको प्रतिप्रश्न सुनेपछि राष्ट्रपतिले ठूलो स्वरमा ‘त्यो बद्मास छ’ भन्नुभएको थियो । त्यस्तै भतिजीज्वाइँलाई अख्तियारको आयुक्त बनाउन सकिने स्थिति नरहेको जानकारी पनि कोइरालाले राष्ट्रपतिलाई गराउनुभएको थियो । यसरी राष्ट्रपतिले रात्रिकालीन भात खान बोलाएर अनेक अवाञ्छित माग प्रस्तुत गर्नुभएपछि सभापति कोइराला खिन्न हुनुभएको बुझिएको छ । यसअघि कोइराला परिवारका केही सदस्य तथा पूर्वप्रतिकार समितिका सदस्य दिलेन्द्रप्रसाद बडूलगायतले पनि लक्ष्मण ढकाललाई सुशील कोइरालाको सहयोगी भूमिकाबाट पन्छाउन निकै प्रयास गरेका थिए । कसैको केही नचलेपछि लक्ष्मणलाई हटाउन राष्ट्रपति यादव आफैँ सक्रिय हुन थाल्नुभएको हो । यसरी रामवरणले लक्ष्मणलाई हटाउन सक्रियता दर्शाएपछि कोइराला परिवारका केही व्यक्ति तथा दिलेन्द्र बडूलगायतले प्रसन्नता प्रकट गरेका छन् । तर, यस कुराको जानकारी पाउने अन्य केहीले भने ‘कलियुगका राम लक्ष्मणका विरुद्ध समेत लाग्दा रहेछन्’ भनी रोचक टिप्पणी गरेका छन् । राष्ट्रपति यादवको पार्टी राजनीतिमा अनावश्यक हस्तक्षेपलाई काङ्गे्रस नेताहरूले अस्वाभाविक रूपमा लिएका छन् ।

पूर्वराजाको सुरक्षामा खटिएकाहरूसँग मागियो स्पष्टीकरण
भीड देखेर पूवैराजा आफै चकित
– बबिता बस्नेत/ धनगढी, कैलाली
पूर्वराजा र युवराज्ञीको धनगढी आगमनका क्रममा गत सोमबार देखिएको सर्वसाधारणको भीडले नेपालमा गणतन्त्र स्थापना भएको महसुस गराएन । दार्चुला र सुदूरपश्चिमको अन्य क्षेत्रका बाढीपीडितको सहयोगका लागि कैलालीको धनगढीलाई बासस्थान बनाएर दश दिनको सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वराजपरिवारका सदस्यलाई यहाँका जनताले देखाएको हार्दिकताबाट यो मुलुकमा राजतन्त्र नरहेको पत्याउनै मुस्किल तुल्याइदिएको छ । सडकदेखि पसल हुँदै सार्वजनिक निकाय र स्थानहरू जताततै पूर्वराजपरिवारकै चर्चा सुनिन्छ । कम्तीमा बाढीपीडितका लागि राजपरिवारले ग-यो, नेताहरूले के गरे ? प्रायः सबैको मुखबाट यस्तै कुरा सुनियो । पूर्वयुवराज्ञी हिमानी र पूर्वराजा ज्ञानेन्द्रलाई हेर्न टाढा–टाढादेखि मानिसहरू धनगढी आएका थिए । हिमानी साउन ६ गते आइतबार र पूर्वराजा ज्ञानेन्द्र ७ गते सोमबार धनगढी आइपुग्नुभएको हो ।
हिमानीका साथमा छोरा पूर्वनवयुवराज हृदयेन्द्र, छोरी कृतिका, पूर्वराजकुमारी दिलासा र हिमानी ट्रष्टका केही पदाधिकारी आएका थिए भने पूर्वराजा ज्ञानेन्द्रका साथमा रानी कोमल, राजकुमारी प्रेरणा, सीतास्मा र उहाँहरूका बच्चा थिए । सुदूरपश्चिममा यसरी राजपरिवारका पूरै सदस्यको भ्रमण पहिलो हो । पूर्वयुवराज्ञी हिमानी धनगढी एयरपोर्टमा ओर्लंदा करिब तीन सयजनाले स्वागत अभिवादन गरेका थिए भने उहाँहरू बस्नुभएको रुवस होटलभन्दा पाँच सय मिटर वरबाट महिलाहरूले लाइन लागेर पुष्पगुच्छाले स्वागत गरेका थिए । स्वागत लिने क्रममा हिमानी ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञी हिमानीले हाँसेर धन्यवाद भनेको र उहाँको मुहार तथा स्वरमा आत्मविश्वास झल्किएको स्वागतार्थीले बताए ।
साउन ७ गते सोमबार पूर्वराजा ज्ञानेन्द्र विमानस्थल ओर्लंदा हजारौँको सङ्ख्यामा स्वागतार्थीको भीड लागेको थियो । धनगढी बजारदेखि पाँच सय मोटरसाइकल -यालीसहितको जुलुस तथा बस एवम् जीपहरूमा मानिसहरू त्यहाँ पुगेका थिए । राजाको सवारीलाई व्यवस्थित बनाउनका लागि सयौँ युवा स्वतस्फुर्त रूपमा परिचालन भएका थिए जसमा करिब ८० प्रतिशतजति थारू समुदायका युवाहरू थिए । राजपरिवारका सदस्यहरूको भ्रमणलाई लिएर थारू युवाहरूले देखाएको सौहार्दता र सक्रियताले स्थानीयवासीलाई आश्चर्यचकित बनाएको छ । धनगढी बजार प्रवेश गर्दा सर्वसाधारणको भीड बढेपछि स्थानीय ट्राफिक चौकदेखि सबै सवारीसाधनहरूको प्रवेश निषेध गरी सडक खाली गरिएको थियो । मध्यगर्मीमा सर्वसाधारण हातमा फूल बोकेर राजालाई स्वागत गर्न लाम लागेर बसेका थिए । पूर्वराजाको उपस्थितिपछि सर्वसाधारणले ‘मेची काली के भन्छ, राजा फेरि ले भन्छ’, ‘सुदूरपश्चिममा हल्ला छ, नेपाली जनताले चाँडै नै राजा पाउने सल्ला छ’, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । धनगढीमा राजालाई गरिएको स्वागतको माहौल हेर्दा यो मुलुकमा राजतन्त्र फालिएको महसुस कसैले गर्न नसक्ने भान हुन्थ्यो । राजपरिवारलाई देखेर मानिस भावविभोर भएका थिए । धेरैको भनाइ थियो– यो मुलुकबाट राजा फाल्नु नेताहरूको ठूलो भूल थियो । नेताले राजा फाले अब जनताले तिनलाई फाल्छन् भन्दै ठूलो–ठूलो स्वरले मानिसहरू कराएको पनि सुनियो । होटल पुगेपछि पनि बरन्डामा निस्किएर हात हल्लाएर बाई–बाई गरेपछि पूर्वराजा शयनकक्षमा पस्नुभएको थियो । उहाँ भित्र पसेपछि पनि धेरै बेरसम्म बाहिर मानिसले उभिएर हेरेका थिए । धेरैको उस्तै प्रतिक्रिया थियो, आखिर राजा भनेको राजै हो । आफ्नो स्वागतमा उर्लिएको जनसागर देखेर पूर्वराजा आफैँ चकित पर्नुभएको बुझिएको छ ।
राजपरिवारका सम्पूर्ण सदस्यहरूको बसाइका लागि स्थानीय रुवस होटलका अधिकांश कोठा बुक गरिएको छ । होटलमा २८ वटा कोठाहरू छन । जसको पाँचाँै तलामा पूर्वराजपरिवारका सदस्यहरू रहेका छन् । उक्त तलामा सातवटा कोठा छन् । अन्य कोठामा ट्रस्टका अधिकारीदेखि राजाका सचिवहरू सागर तिम्सिना, डा. फणीन्द्र पाठकलगायत भ्रमण टोलीका ३० जना सदस्य छन् । होटलभित्र र वरपर सुरक्षाकर्मीको बाक्लै भीडभाड छ । सुरक्षाकर्मी पनि होटलमै बसेका छन् । उनीहरूका लागि खानाको व्यवस्था होटलमै गरिएको छ । राति भने उनीहरू होटलकै हलहरूमा स्लिपिङ ब्याग तथा अन्य बिछ्यौनामा लाइन लागेर सुत्ने गरेका छन् । होटलका प्रायः सबै कोठा बुक भए पनि रेस्टुरेन्टमा गएर खानका लागि जो पनि जान सक्छन् । स्थानीय आवागमनका लागि काठमाडांैबाटै करिब एक दर्जनको सङ्ख्यामा गाडीहरू ल्याइएको छ । तिनका ड्राइभर र निजी सुरक्षागार्डहरूसहित गरी भ्रमण टोलीको सङ्ख्या ३० पुगेको हो । भ्रमण टोलीमा ३० जना भए पनि सबै सुरक्षाकर्मीसहित गर्दा दैनिक खाना खानेको सङ्ख्या भने ५० को हाराहारीमा रहने गरेको बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र, युवराज्ञी हिमानी र नवयुवराज हृदयेन्द्र बाढीपीडितको सहयोगार्थ साउन ९ गते बुधबार दार्चुला जाने कार्यक्रम रहेको छ । बाढीपीडितका लागि एक करोड रुपैयाँको चामल र कपडाहरू रहेका छन् । स्कुले केटाकेटीका लागि स्कुलड्रेस पनि राखिएको छ । स्कुलका सामग्रीहरू नवयुवराज हृदयेन्द्रको हातबाट बाँड्ने कार्यक्रम रहेको छ । साथै नगद, भाँडाकुडा, औषधिलगायतका सामग्री भने पूर्वराजा र युवराज्ञीका हातबाट बाँडिनेछन् । ९ गते ११ बजेतिर धनगढीबाट हेलिकोप्टरमा दार्चुला गई उद्धार सामग्री बाँडेर उहाँहरू सोही साँझ धनगढी फर्कने कार्यक्रम रहेको छ । दार्चुलापछि कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यहाँका बाढीपीडितका लागि पनि सहयोग गरिनेछ ।
यसैगरी धनगढीमै रहेका बेला पूर्वराजपरिवारका सदस्यहरू साउन ११ गते कैलालीकै टीकापुर जाने कार्यक्रम रहेको छ । टीकापुर पार्कमा रहेको राजा महेन्द्रबाट निर्माण गरिएको घर महेन्द्र विश्राम र सोही स्थानमा रहेको वीरेन्द्र–ऐश्वर्य आरोग्य सदन बच्चाहरूलाई देखाउने उद्देश्यले टीकापुरको भ्रमण गर्न लागेको बुझिएको छ । महेन्द्र विश्राममा तत्कालीन राजा महेन्द्र र बडामहारानी रत्न बसेको बेला राजा महेन्द्रले सिकार खेल्ने अभ्यास गर्दै गर्दा बन्दुक पड्किएर रत्नलाई गोलीका छर्राले लागेको थियो । नेपालको राजपरिवारको इतिहासमा उक्त स्थान ऐतिहासिक स्थान हो । छोरी–बुहारी तथा बच्चाहरूले सो ऐतिहासिक स्थान आँखैले देखून् र अनुभव गर्न सकून् भनेर पूर्वराजा स्वयम्ले उक्त योजना बनाउनुभएको बुझिएको छ । साउन १६ गते हिमानी तथा उहाँसँग आएको समूह एवम् १७ गते राजा तथा उहाँसँग आएको समूह राजधानी फर्कने कार्यक्रम रहेको छ ।
यसैबीच पूर्वराजपरिवारको सुरक्षामा व्यापक प्रहरी परिचालन गरिएकोमा प्रहरी प्रधान कार्यालयले क्षेत्रीय प्रहरी प्रमुख नारायण बस्ताकोटीसँग स्पष्टीकरण मागेको छ । फिल्डमै खटिएका एसपीले डीआईजीको आदेशमा पूर्वराजपरिवारको सुरक्षार्थ खटिएको जवाफ फर्काएको र डीआईजी बस्ताकोटीले चाहिँ पूर्वप्रधानमन्त्रीहरू आउँदा सुरक्षाको मजबुत प्रबन्ध गरिन्छ भने पूर्वराजा आउँदा किन सुरक्षा नगर्ने भनी जवाफ दिएको बुझिएको छ । पूर्वराजाको सुरक्षा गरेबापत अब यी उच्च प्रहरी अधिकृतहरूलाई कस्तो कारबाही गरिने हो प्रतीक्षाको विषय बनेको छ । यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार सरकारले आफूमातहतका सञ्चारमाध्यमहरूमा पूर्वराजपरिवारको समाचार सामग्री सम्प्रेषण नगर्न कडा निर्देशन जारी गरेको छ । यसरी निर्देशन दिँदादिँदै पनि रेडियो नेपालले उक्त समाचार सम्प्रेषण गरेकोले यसमा संलग्न कर्मचारीलाई कारबाही गर्ने तयारी भएको बुझिएको छ ।

ज्वाइँ पोसेपछि गभर्नर विवादमा
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको एकलौटी निर्णयले उग्र रूप लिएपछि बैंक तथा वित्तीय क्षेत्रमा उनको व्यापक आलोचना हुन थालेको छ । गभर्नर बनेको पछिल्लो तीन वर्षमा खतिवडाले केन्द्रीय बैंकको प्रशासन विभाग, नियमन विभाग र सुपरिवेक्षण विभागलाई एमालेमय बनाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा पनि राजनीतिक प्रतिशोधको आधारमा कारबाही प्रक्रिया अघि बढाइएका अनेकौँ समाचार यसअघि नै सार्वजनिक भइसकेका छन् । एमालेको आगामी महाधिवेशन र आसन्न संविधानसभाको निर्वाचनमा आफू पक्षीय महासचिव ईश्वर पोखरेलको निम्ति आवश्यक कोष खडा गर्न बैंकका विभिन्न गौंडाहरूमा आफ्ना मान्छेलाई सेटिङ मिलाएर राखेपछि बैंकभित्रका कर्मचारी माझ असन्तोषको आगो फैलिएको स्रोतले बताएको छ ।
यसैक्रममा उनले आफ्ना छोरी–ज्वाइँ तथा बैंकका झन्डै १००औँ नम्बरका उपनिर्देशकलाई अख्तियार दुरुपयोग गरी दुई वर्षको निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय, वासिङटनमा ‘डलर सोहोर्न’ पठाएपछि खतिवडालाई विश्व बैंकका एकजना भूतपूर्व अध्यक्षसँग तुलना गर्न थालिएको छ । कुरा राम्रा गर्ने तर काम ठीक उल्टो गर्न माहिर गभर्नरले ज्वाइँ रामशरण खरेललाई उनीभन्दा अग्रज तथा सक्षम निर्देशक तथा उपनिर्देशकहरूलाई हठात् पन्छाएर मुद्रा कोषको ‘साउथ इस्ट एसिया भोटिङ ग्रुप्स अफिस अफ द एक्जुकेटिभ डाइरेक्टर’कोे सहयोगीका रूपमा पठाएका हुन् । पदलाई भन्दा पैसालाई महत् व दिइएका कारण उनले पदीय अख्तियारको दुरुपयोग गरेको स्पष्ट भएको छ । स्मरण रहोस्, विश्व बैंकका तत्कालीन अध्यक्षले आफ्ना एकजना सहयोगीलाई नियमविपरीत तलब बढाइदिएका कारण अनुचित कार्य गरेको आरोपमा पद त्याग गर्नुपरेको थियो । अर्थमन्त्रीको ख्वाब देखेका खतिवडाले कतै विश्व बैंकको अध्यक्षझैँ बन्नुपर्ने त होइन भन्ने चर्चा ‘टङ्गाल दरबार’मा चल्न थालेको छ ।
आचारसंहिता मिच्ने दाउमा गभर्नर
नेपाल राष्ट्र बैंकले प्रक्रिया प्रारम्भ भइसकेको नाममा विभिन्न बढुवाको प्रपञ्च रचेर निर्वाचन आयोगले गत ७ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिताविपरीतको कार्य गर्न खोजेको छ । बढुवाको निम्ति रातारात प्रक्रिया सुरु गरेको व्यवस्थापनले दुई महिनासम्म कानमा तेल हालेर बसेको हो । यस्तो अवस्थामा बैंक व्यवस्थापनले अस्ति ७ गतेपछि मात्र कार्यकारी निर्देशकको बढुवा गर्न तम्सिनुले निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपले बेवास्ता गर्न खोजेको बुझिएको छ ।
त्यसैगरी, बाह्य परीक्षाका लागि पनि बैंकले आवश्यक तयारी गरिसकेको छ । यसैबीचमा केही शाखाहरूमा रातारात रिजल्ट गरिएको छ । विगतमा लामो समयसम्म कुनै मतलब नराखेको बैंकले एकाएक चुनावको आचारसंहिता घोषणा भएपछि मात्र देखाएको चासोलाई सम्मानित आयोगजति सबैले गम्भीरतापूर्वक लिनुपर्ने हो कि भन्ने चर्चाले समेत विशेष महत् व पाउन थालेको छ ।

कसले बुझ्ने लामातालवासीको व्यथा ?
– मुक्तिनाथ भुसाल
अर्घाखाँचीको लामाताल एउटा आफैँमा रमणीय स्थान हो । हरियाली पहाड अनि मधुरताका साथ सुसाइरहेको राप्ती नदीको शोभा जति नै भए पनि स्थानीयका निम्ति यसले कुनै फरक परेको अनुभूति गर्न सकिन्न । प्रचुर मात्रामा विकासका सम्भावना हुँदाहुँदै पनि राजनीतिक दलको मौनता र पटक–पटक गठन भएका निकम्मा सरकारको बेवास्ताका कारण यहाँको लामाताललाई अर्को कर्णालीको रूपमा अथ्र्याउन सकिन्छ । जलुगे–४ अर्थात् लामातालदेखि करिब १० किलोमिटर दूरीमा कुनै समय दुई सय ४५ मेगावाट विद्युत् उत्पादनका लागि ठूलो धनराशि नौमुरे जलविद्युत् आयोजनाको नाममा खर्च नगरिएको पनि होइन । तर, विडम्बना ! विदेशीको गुलामी गर्न पल्किएका हाम्रा शासकहरूका कारण आयोजना अलपत्र परेको र वर्तमान सरकारकाले पनि यो वर्षको बजेटमा यसलाई प्राथमिकतामा नराखेको कुरा आमतप्कामा विदित नै छ । नौमुरे जलविद्युत् आयोजनाबारे यसअघि पनि नालीबेली प्रकाशित गरी सबै तह र निकायमा सुसूचित तुल्याउने प्रयास भएकै हो, तर करोडाँै रकम डिटेल सर्वेमा खर्च गरिएको यस महत् वपूर्ण आयोजनालाई अहिलेको ब्युरोक्र्याट सरकारले पनि बेवास्ता गरी छिमेकी रिझाउने दुष्प्रयास गरेको हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।
अर्घाखाँचीको लामाताल प्युठान जिल्लाको सिमानामा पर्छ । हिउँदको समयमा सरकारी तेलको प्रयोग गरेर यो वा त्यो वहानामा यो स्थानमा पुगी पार्टनर बोकी पौडी खेल्न र वरपर रहेका लोकल कुखुराको नास्तासँगै मस्ती मार्न लामाताललाई सौखिन व्यक्तिहरूले प्रयोग गर्ने गरेको भए पनि विकास भने शून्य रहेको त्यहाँको स्थितिले बताउँछ । करिब दुई सय घरधुरी बसोबास गरेका लामातालका स्थानीयमा ६ देखि १० जनासम्मको परिवार रहेका छन् । हिउँदमा मुस्किलसँग ६ महिनाका लागि सदरमुकाम सन्धिखर्कबाट एउटा सवारीसाधन पुग्ने लामातालवासीलाई वर्षाको समयमा भने सन्धिखर्क पुग्नलाई मात्र १२ घन्टा पैदल यात्राको सामना गर्नुपर्छ । जसको कारण दैनिक जीवनमा आवश्यक पर्ने समानहरू खरिद गर्नेका लागि उनीहरूलाई प्युठानको दरवाङ र फर्सवाङ पायक भए पनि लामातालमा पुल नभएको कारण वर्षामा करिब १४ सय जनताले समस्या झेल्नुपरेको छ । ०५४ सालदेखि जिल्लामा झोलुङ्गे पुल निर्माणकार्य सुरु गरिएको कारण हालसम्म ४८ वटा पुल निर्माण भइसकेको र ४१ वटा पुल निर्माणाधीन अवस्थामा रहेको सरोकारवालाहरूको दाबी रहे पनि लामातालजस्ता विकटका स्थानीय लाभान्वित बन्न सकेका छैनन् । यसको विपरीत लामातालमा उत्पादन हुने मौवाको रक्सी र लोकल कुखुरा भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सदरमुकाममा रहेका पहुँचवालासमक्ष भित्रिएको स्थानीयहरू दाबी गर्छन् ।
लामातालवाट पाँच कक्षा पास गरिसकेपछि कक्षा ६ देखि १२ सम्म सरस्वती उमावि फर्सवाङ स्थानीयहरूलाई नजिक पर्छ तर बर्खामा राप्ती नदी उर्लने कारण उनका नानीबाबुहरू विद्यालय जान नसकेको पीडा गाउँलेमा रहेको छ । बर्खाको समयमा जिल्लाको सदरमुकाम सन्धिखर्क पुग्न १२ घन्टा पैदल हिँड्नुपर्ने समस्या समाधानका लागि यो स्थानमा पुल निर्माण गर्ने हो भने ढेड घन्टा पैदल यात्राबाट उनीहरू प्युठानको दरवाङ पुगी गाडी चढेर विजुवार पुग्न सक्छन् । दुःखबिमार परेको समयमा आफ्नो गाविसमा रहेको उपस्वास्थ्यचौकीको सुविधा लिन करिब तीन घन्टा पैदल यात्रा उनीहरूलाई हिँड्नुपर्छ । यदि लामातालमा पुल हुने हो भने प्युठानको बाङ्गेसाल एकै घन्टाको पैदल यात्रामा स्थानीय जनता पुग्न सक्ने कुरालाई बुझिदिने कसले ?
राप्ती नदीमा पुल नभएको भन्न त मिल्दैन । भालुवाङमा पुल छ तर उक्त पुलमा पुग्न लामातालवासीलाई सात घन्टा पैदल यात्रा गर्नुपर्छ । अर्घाखाँचीको बाघेदेखि प्युठानको दरवाङलाई आधार बनाएर निर्माण गरिएको पुलमा पुग्न कमसेकम दुई घन्टा पैदल हिँड्नुपर्ने गुनासो स्थानीय धनबहादुर आले बताउँछन् । करिब दुई सय घरधुरी बसोबास गरेका लामातालवासीका लागि लामातालबाट प्युठानको क्षिलिवाङसम्म जोड्ने पुलको आवश्यकतालाई कुनै समय नेपाल सरकारद्वारा ३–४ पटक सर्वे भइसकेको तर सर्वे सरकारको फाइलमा मात्र सीमित बनेको कुरा स्थानीय गन्नेमान्नेहरूले जानकारी गराएका छन् ।
लामातालवासीहरूको समस्या एउटा पुलमा मात्र सीमित राख्न मिल्दैन । यहाँका स्थानीयलाई लक्षित गर्दै लामाताल बाघद्वारे खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत पाँच वर्षअघि खानेपानीका लागि करिब २७ लाख रकम खर्च गरिएको थियो । सरकारी उदासीनता र राजनीतिक दलहरूको ध्यान नपुगेको कारण उनीहरूको टोलमा रहेको धारामा पानी आउँदैन र उनीहरू भन्छन्– हामीलाई कहाँ बिग्रिएको छ, जानकारी छैन, कसैले पनि हामीलाई फर्कर हेर्दैन । जब कि ७६३९ मिटर मुख्य पाइपलाइन ७७८३ मिटर शाखा पाइपलाइन विस्तार गर्दै ३९ वटा धारा २ वटा कनेक्सन चेम्बर, पाँचवटा इन्टेक, एउटा डीसी र चारवटा रिजर्भ ट्याङ्क निर्माण गरिएको भए पनि स्थानीयलाई तालिम प्रदान नगरिएको र राज्यले फर्केर नहेरेको कारण पानी धारामा आउन नसकेको जानकारी प्राप्त भएको छ । समग्रमा भन्नुपर्दा अर्घाखाँची जिल्ला धेरैपटक मन्त्री र प्रभावशाली भनौँदा नेताहरू जन्माएको जिल्लाको रूपमा परिचित मानिन्छ । यति हुँदाहँुदै पनि उनीहरूलाई जानकारी नभएर हो वा जानीजानी बुझ पचाएर हो करिब दुई सय घरधुरी बसोबास गरेको गाउँलाई बेवास्ता गर्दै आफू मात्र महलमा बस्न मन पराउनु विधिसम्मत मानिँदैन र यो पङ्क्तिकारलाई जानकारी भएसम्म काङ्ग्रेसको समाजवाद र कम्युनिस्टको नयाँ जनवाददेखि बहुदलीय जनवादमा पनि यसरी जनतामाथि कुठाराघात गर्ने अनुमति दिएको छैन । जसतर्फ जिल्लामा रहेका राजनीतिक दलहरू सचेत बन्दै एकपटक लामातालवासीको अधिकारका लागि एकढिक्का भएर आवाज उठाउनु बुद्धिमानी मानिनेछ ।

‘भ्वाइसेस’मा दीक्षित र वाग्ले
बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सक्रियतामा सञ्चालित ‘भ्वाइसेस’को दोस्रो संस्करण गत शुक्रबार भारतीय राजदूतावास, काठमाडौं तथा बीपी कोइराला भारत–नेपाल फाउन्डेसनद्वारा नेपाल–भारत पुस्तकालयमा आयोजना भयोे । नेपालका दुई प्रख्यात सञ्चारकर्मी तथा लेखक कुन्द दीक्षित र नारायण वाग्ले उपस्थित ‘भ्वाइसेस’को आरम्भमा कुन्द दीक्षितले नेपालको पत्रकारितामा रहेका समस्याबारे विचार राख्दै आफूले पञ्चायतकालदेखि पत्रकारिता सुरु गरेको बताए । दीक्षितले विगतको समस्या सम्झँदै पञ्चायतकालमा पत्रकारहरू आफ्ना विचारहरू खुला रूपमा व्यक्त गर्न असमर्थ हुने भएकाले व्यङ्ग्यमार्फत आफ्ना कुरा प्रस्तुत गर्ने कोसिस गर्ने गरेको जानकारी दिए ।
दीक्षित र वाग्लेद्वयले समयसँगै सञ्चारमाध्यममा आएको परिवर्तनबारे छलफल अघि बढाए । उनीहरूले डिजिटल मिडियाले ल्याएको क्रान्ति, नेपालमा पत्रकारिताको क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले व्यहोरेका चुनौतीका साथै नेपालमा सञ्चारकर्मीको रूपमा काम गर्दा भोगेका यथार्थका अनेक पाटा उजागर गरे ।
यस अतिरिक्त, दीक्षित र वाग्लेले नेपालमा नागरिक पत्रकारिताको भविष्यबारे जोड दिँदै आधुनिक समयमा सामाजिक सञ्जालको प्रभावबारे विचार राखे । उनीहरूको साझा राय थियो, ‘कसैले पनि आजको पत्रिका भोलि पढ्दैन । आज मानिसहरूमा टीभीमा साँझको समाचारसमेत कुर्ने फुर्सद छैन न त उनीहरू आफ्नो समय लामा–लामा खबरहरू पढ्न नै इच्छुक हुन्छन् । यो व्यावसायिक पत्रकार र नागरिक पत्रकारबीचको प्रतिस्पर्धा हो ।’
फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले समाज परिवर्तनमा कसरी महत् वपूर्ण भूमिका खेलेका छन् भन्ने विषयमा ‘भ्वाइसेस’ले प्रस्ट्याएको थियो भने कार्यक्रममा उपस्थित नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले काठमाडौंबाट मात्रै दर्जनभन्दा बढी दैनिक पत्रिका प्रकाशित हुने जानकारी पाएर आफूलाई उत्साहित तुल्याएको अभिव्यक्ति दिनुभयो ।

दृष्टिहीनको रोशनी बन्दै नेत्रहीन सङ्घ
दृष्टिविहीन मानवको सबैभन्दा अँध्यारो पक्ष हो । दृष्टिहीनताकै कारण समाजबाट उनीहरू अपहेलित र उपेक्षितसमेत भएका हुन्छन् । आफ्नै परिवारले हेर्ने दृष्टिसमेत उनीहरूमा फरक हुन्छ । यसरी समाज र परिवारले पूर्णरूपमा बहिस्कार गरेका उनीहरूप्रति राज्यले पनि कुनै चासो नदेखाउँदा दृष्टिहीनहरूले कठिन र उदास जीवन बिताउनुपरेको हाम्रो समाजमा यत्रतत्र देखिन्छ । त्यसै त दृष्टिहीन त्यसमाथि सबैको उपेक्षाको पात्र बन्दा उनीहरूको मन कति कुँडिएला ! वास्तवमा दृष्टिविहीनहरू सहानुभूति होइन प्रेम र अवसरको भोका हुन्छन्, जसले उनीहरूको जीवन उज्यालोतिर लम्काउन सक्छ । तर, यो तथ्य बुझेर व्यवहार गर्ने र दृष्टिविहीनलाई सघाउने हाम्रो समाजमा कति होलान् ?
दृष्टिहीनहरूको यही बाध्यतालाई आत्मसात् गर्दै ०५३ मा नेपाल एकीकृत नेत्रहीन विकास सङ्घको स्थापना भएको थियो । आफ्नो स्थापनासँगै सङ्घले नेपाल अधिराज्यभरिका जन्मजात दृष्टिहीन र आर्थिक स्थिति कमजोर भएर दृष्टिहीन भएकाहरूलाई समेटेको थियो । दृष्टिहीनको उपचार र उनीहरूलाई सीपमूलक प्रशिक्षण दिएर आत्मनिर्भर बनाउन सङ्घले महत् वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वर्तमान सङ्घका अध्यक्ष विनोद काफ्ले शर्माले दृष्टिहीनहरूलाई भक्तपुर परोपकार हनुमन्तेघाटमा धुपबत्ती बनाउने, डल्लो साबुन र मैनबत्तीको प्रशिक्षण दिइरहेको जानकारी गराए ।
सङ्घ सञ्चालन गर्न निकै कठिन भएको बताउने अध्यक्ष शर्माले अहिले स्थानीय समाजसेवी/सहयोगीहरूको सहयोगमा सङ्घको दैनन्दिनी चलेको जानकारी दिए । संस्थाको लक्ष्य विदेशीभन्दा स्वदेशी समाजसेवीको सहयोगबाटै सञ्चालन गर्ने भए पनि सोअनुरूप सहयोग पर्याप्त नभएको उनको गुनासो छ । सुरुमा संस्थाको पवित्र उद्देश्यलाई आत्मसात् गर्दै सरकारले केही सहयोग गरे पनि अहिले कुनै पनि सहयोग नगरेको शर्माले बताए । निवर्तमान गोलढुङ्गा गाविस अध्यक्ष ईश्वरीप्रसाद धिताल र राजनीतिक दलको अथक प्रयासमा गोलढुङ्गा गाविसमा सङ्घलाई ४० रोपनी जग्गा प्राप्त भएको छ । सो जग्गामा दृष्टिहीनहरूका लागि टेक्निकल स्कुल, टेक्निकल सेन्टर, वृद्ध आश्रम, जेन्स र लेडिज होस्टेल र स्वास्थ्यचौकी स्थापना गर्ने लक्ष्य राखेको अध्यक्ष शर्माले जानकारी दिए ।
संस्थाको विकासका लागि अहम् भूमिका निभाइराखेका महासचिव हरि रेग्मी, कोषाध्यक्ष इन्द्र दुवालले संस्थालाई विभिन्न सङ्घ–संस्थाबाट सहयोग भइरहेको भए पनि त्यो अपुग भएको उल्लेख गरे । संस्थालाई वामदेव ज्ञवाली, किरणप्रसाद श्रेष्ठ र शाखाप्रसाद धिताललगायतका शुभेच्छुकहरूले विशेष सहयोग गर्दै आएको संस्थाकी सुनिता पन्तले जानकारी दिइन् । पृथ्वीनारायण उमावि गोलढुङ्गाले १० जना दृष्टिहीनलाई निःशुल्क शिक्षा प्रदान गरेर ठूलो गुन लगाएको बताउने संस्थाका पदाधिकारीहरूले नेपाल अधिराज्यका विभिन्न जिल्लाका दृष्टिहीनलाई समेटेर गत असारदेखि गोलढुङ्गामा होस्टेल सञ्चालन गर्दै आएको पनि बताए ।

यसरी विकृति र अपराध बढाउँदै छन् राजधानीका होस्टेल
उज्ज्वल भविष्यका लागि आफ्ना सन्तानलाई होस्टेलमा राखेर अध्ययन गराइरहनुभएका अभिभावकहरूले होस पु-याउनुपर्ने बेला आएको छ । कतै तपाईंका बालबच्चा होस्टेलमा रहँदा आफ्नो भविष्य बर्बाद त पार्दै छैनन्– यो अहिलेको गम्भीर प्रश्न सबै अभिभावकमाझ छ । होस्टलमा बस्ने विद्यार्थीको भविष्य के उज्ज्वल नै छ कि उनीहरू कुलतमा फसेर आफ्नो भविष्य नै बर्बाद बनाइरहेका छन् ? किशोर अवस्थाका नानीहरू घरमै त अभिभावकको आँखा छल्दै कुलतमा फस्ने ठर हुन्छ भने यदि कसैको डर छैन भने उनीहरू के गर्लान् ? राजधानीका अधिकांश होस्टेलमा न कुनै नियम छ न कुनै निगरानी, बस्न र खान दिनबाहेक कोहीले केही वास्ता गर्दैनन् । त्यसैले स्कुल–कलेज पढ्ने किशोरकिशोरी विविध कुलतमा फसिरहेका छन् ।
अहिले एसएलसी पास भएर उच्च शिक्षाका लागि भन्दै हजाराँै विद्यार्थी राजधानी भित्रिरहेका छन् । काठमाडौं भित्रिएका विद्यार्थीका लागि बस्ने, खाने र पढ्ने सहज विकल्प होस्टल नै बनेको छ । तर, होस्टलहरू आचारसंहिताअनुसार सञ्चालित नहुँदा सज्जन तथा उत्कृष्ट विद्यार्थीसमेत अनेकौँ कुलतमा फस्ने डर चुलिएको छ । मुलुकको भविष्य बोकेका विद्यार्थी कुलत तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा समग्र राज्यलाई नै बेफाइदा हुनेछ ।
लागूऔषध ब्युरो बानेश्वरका एसएसपी रणबहादुर चन्दका अनुसार पछिल्ला दिनहरूमा लागूऔषध सेवन तथा विक्रेताको रूपमा पक्राउ परेकामध्ये धेरैजसो प्लस टु अध्ययनरत विद्यार्थी रहेका छन् । चन्दले होस्टलमा निगरानी नबढाए लागूऔषध दुव्र्यसनीमा फस्ने विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाने बताए । त्यसैले होस्टल क्षेत्रलाई शिक्षामुखी मात्र बनाउन आवश्यक रहेको र अन्यलाई होस्टलमा बस्ने व्यवस्था गर्न नहुने पनि ब्युरोका एसएसपी चन्दको भनाइ छ । ब्युरोले पछिल्लो समय लागूऔषध प्रयोग गर्दागर्दै पक्राउ परेको अधिकांश आरोपी होस्टलमा बस्ने गरेका छन् । त्यसैले ब्युरोले निरन्तर होस्टलमा छापा पनि मारिरहेको छ ।
होस्टल लापरबाही तरिकाबाट सञ्चालन भएको कारण नै त्यहाँ बस्ने विद्यार्थी बिग्रन थालेका हुन् । कमाउने उद्देश्यले मात्र स्थापना गरेको होस्टलमा बस्ने अधिकांश विद्यार्थी जङ्गलमा छोडेको छाडा गाईवस्तुसरह आफ्नो दैनिकी बिताइरहेका छन् । यद्यपि सबै होस्टेलहरू यस्तै नहुन सक्छन्, नियमसङ्गत चलेका कैयौँ होस्टेलहरू पनि राजधानीमा छन् । तर, प्रहरीको अनुसन्धानले देखाएको यथार्थअनुसार काठमाडौंको कतिपय होस्टलमा बस्ने विद्यार्थी अन्जान सब लागूऔषध तथा आपराधिक काममा फस्ने गरेका छन् । लागूऔषध विक्रेताको गिरोहले होस्टलमा बस्ने विद्यार्थीलाई सहज तरिकाले आफ्नो नियन्त्रणमा लिने र उनीहरूलाई लागूऔषधको लतमा फसाउने गरेको खुलासा भएको छ । त्यसैले होस्टलमा बसिरहेका आफ्नो बालबच्चाको विषयमा अब अभिभावकलाई सोच्नैपर्ने बेला आएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले पछिल्लो एक वर्षदेखि होस्टलबाट आपराधिक क्रियाकलाप बढेको बताउनुहुन्छ । होस्टलहरू अपराधी जन्माउने र आपराधिक क्रियाकलापको योजना बनाउने स्थलको रूपमा विकास भइरहेको भन्दै यस्तो हुन नदिन प्रहरीले आफ्नो क्षेत्रबाट गृहकार्य गरिरहेको सिलवालले जानकारी दिनुभयो । प्रहरीले होस्टल सञ्चालकहरूलाई आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिइरहेको छ । तर, प्रहरीले बारम्बार यस्तो निर्देशन दिए पनि कतिपय होस्टलमा अझै पनि उचित व्यवस्थापनको खाँचो देखिएको छ । पढ्न बसेका विद्यार्थीको रुममा तासको गड्डी, चुरोटका प्याकेट, कन्डमका प्याकेटलगायतका वस्तुहरू फेलापर्नुले पनि होस्टल व्यवसाय व्यवस्थित हुन नसकेको स्पष्ट पार्छ । केही दिनअघि लागूऔषध ब्युरोले केही मर्यादित भनिएको होस्टलहरूको अनुगमन गर्दा त्यहाँका विद्यार्थीको कोठामा समेत तासको गड्डी र चुरोटका प्याक फेला परेको थियो । त्यसैले अहिले लागूऔषध ब्युरोले राजधानीआसपासका पाँच सय होस्टलमाथि निगरानी कसेको छ । त्यसमध्ये ५२ होस्टल हिटलिस्ट सूचीमा राखिएको छ । हिटलिस्ट सूचीमा रहेका होस्टलहरूमा ब्युरोका प्रहरीले छड्के छापा मार्ने ब्युरोका एसएसपी रणबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रहरी एवम् सम्बन्धित निकायले निरन्तर अनुगमन गर्न नसक्दा होस्टेलहरूमा आपराधिक गतिविधि बढ्दै गएको यथार्थ हो । होस्टेल सञ्चालकको लापरबाही र अभिभावकले पनि ध्यान दिन नसक्दा होस्टेलमा बस्ने धेरै विद्यार्थी लागूऔषध दुव्र्यसनमा फसेर अपराधमा लागेका हुन् । कतिपय होस्टेलमा वेश्यावृत्तिसमेत हुने गरेको जनगुनासो छ । गेस्टहाउसको प्रकृतिमा खुलेका होस्टलहरूमा यस्तो हुने गरेको आमसर्वसाधारणको आरोप छ । एक दिनका लागि कोठा भाडामा लगाउन तर होस्टलको रूपमा दर्ता गरिएको यस्तो व्यवस्यामा प्रहरीको आँखा पुग्न सकेको छैन । आँखा पुगे पनि स्थानीय प्रहरीले उनीहरूको नुन खाएकाले केही बोल्न सकिरहेका छैनन् ।
होस्टल कति किसिमका हुन्छन् भन्ने स्पष्ट नियमावली नहँुदा पनि यस्तो समस्या आएको हो । होस्टेल सञ्चालनका लागि तयार पारिएको निर्देशिका गृह मन्त्रालयको कुनै कोठामा थन्किएको छ । त्यो सदर भएर आउन नसकेको तीन महिना भइसक्यो । सो निर्देशिकामा होस्टेल हुनका लागि न्यूनतम विद्यार्थी हुनैपर्ने, सुविधाअनुसारको शुल्क निर्धारण हुनुपर्ने, योग्य होस्टेल वार्डेन हुनुपर्ने उल्लेख छ । वार्डेनले विद्यार्थीको गतिविधि निगरानी राखी अनुशासन पालना गराउनुपर्ने भए पनि हाल कतिपयमा त वार्डेन नै छैनन् भने, वार्डेनकै कमजोरीका कारण विद्यार्थी खुलेआम लागूऔषध प्रयोग तथा आपराधिक गतिविधिमा लाग्ने गरेका छन् । तर, यता होस्टल बिजनेस एसोसिएसनका अध्यक्ष किरण राजभण्डारीले एसोसिएसनमा आबद्ध होस्टलहरू अनुशासित तरिकाबाटै सञ्चालन भएको दाबी गर्नुभएको छ । उहाँले एसोसिएसनमा तीन सयको हाराहारीमा मात्र होस्टलहरूले सदस्यता दिएको र सदस्यता लिएको सबै होस्टलहरूले एसोसिएसनले जारी गरेको आचारसंहितामा रहेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभयो ।
यता नेपाल प्रहरीले दिएको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा मात्र पाँच सय हाराहारीमा होस्टल खुलेका र खुल्ने क्रम अझै जारी छ । सबै होस्टलले एसोसिएसनको सदस्यता दिएका छैनन् । त्यसैले एसोसिएसनका महासचिव सुवास कोइराला एसोसिएसनमा नआएको होस्टलहरूमा अराजकता भएको हुन सक्ने बताउनुहुन्छ । कोइरालाले एसोसिएसनमा सदस्यता नलिएको होस्टलहरूबारे कुनै पनि कुरा आफूले दाबी गर्न नसक्नेसमेत स्पष्ट पार्नुभएको छ । एसोसिएसनमा सदस्यता दिएका होस्टलहरूमा विद्यार्थीलाई मात्र राखिने र न्यूनतम मापदण्ड पूरा गरिएको होस्टल एसोसिएसनका पदाधिकारीको दाबी छ । त्यसैले असुरक्षित बन्दै गएको होस्टलहरूलाई प्रहरी प्रशासन, नेपाल होस्टल व्यवसायी सङ्घ र सबै होस्टल व्यवसायी मिलेर नियन्त्रण गर्न जरुरी छ । यता केही दिनदेखि होस्टल व्यवसायी प्रहरीले निगरानी कस्यो भनेर त्यसो नगर्न माग गर्दै आवाज उठाइरहेका छन् । होस्टल व्यवसायी सङ्घका महासचिव सुवास कोइरालाले त लागूऔषध ब्युरोले गरेको होस्टल छापा गैरजिम्मेवारी ढङ्गबाट भएको भन्दै टीका–टिप्पणी गर्नुभएको छ । तर, यता लागूऔषध ब्युरोले भने आफ्नो निगरानी निरन्तर राखेको र व्यवसायीहरूलाई प्रशिक्षणसमेत दिइरहेको छ । होस्टल क्षेत्रलाई अनुशासित बनाउन लागूऔधष ब्युरोले होस्टलमा बस्ने विद्यार्थी, अभिभावकहरू र स्वयम् होस्टल व्यवसायीलाई एक स्थानमा राखी निरन्तर चेतनामूलक काम गरिरहेको छ । तर, यतिले मात्र पुग्ने अवस्था छैन । एउटा ब्युरोको मात्र प्रयासले होस्टललाई अनुशासित क्षेत्र बनाउन सकिने अवस्था नभएको एसएसपी चन्दको भनाइ छ । ब्युरोले गर्दै आएको कामका लागि सरोकारवाला निकाय र होस्टल एसोसिएसनले पनि सहयोग गर्न आवश्यक छ ।

११ अर्बको तराई सडक परियोजना जारी
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम दुई देशबीचको विकास साझेदारीमा कोसेढुङ्गाजस्तै महत् वपूर्ण रहने बताउनुभएको छ । भारत सरकारको सहयोगमा बाराको पिपरपाटी पर्चौटा–८ मा नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित विभिन्न विकास परियोजनाले नेपाली जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । राजनीतिक दलका स्थानीय नेताहरू, उच्चपदस्थ प्रशासकीय अधिकारी तथा सर्वसाधारणको उपस्थितिबीच राजदूत जयन्तले नेपालमा बढ्दो विकासकोे महत् वलाई आत्मसात् गर्दै त्यसका लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको जनाउनुभयो ।
सन् १९५१ मा निम्नमाध्यमिक विद्यालयको रूपमा स्थापना भई सन् २००७ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको नेपाल राष्ट्रिय उमावि बाराको पुरानो सरकारी विद्यालयमध्ये एक हो । दुई करोड ४८ लाख भारतीय आर्थिक अनुदान सहयोगमा निर्मित नयाँ विद्यालय भवनले उक्त विद्यालयमा अध्ययनरत करिब एक हजार तीन सय छात्रछात्राका निम्ति ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
यसअघि भारत सरकारको ४५ लाख सहयोगमा बारामै कन्काई माध्यमिक विद्यालयको भवन निर्माण भएको थियो भने तीन करोड १७ लाखको सहयोगमा बंगारी नदीमा पुल निर्माण कार्य भइरहेको छ । यसैगरी भारतले बारा जिल्लाका लागि नौवटा एम्बुलेन्स र तीनवटा स्कुल बससमेत प्रदान गरेको छ । मित्रराष्ट्र भारतले नेपालमा चालू तराई सडक परियोजनाको प्रथम चरणअन्तर्गत बारामा ६६ किलोमिटर लामो दुईवटा सडक एमआरएम (तामाघारी)–सिम्रनगढ र एमआरएम (मनमत)–कलैया–मतियारवा निर्माण गर्दै छ । तराई सडक परियोजनाले ११ अर्ब भारतीय सहयोगमा तराईका विभिन्न जिल्लामा कुल ६ सय ५ किलोमिटर लम्बाइ भएको १९ वटा लिङ्क (हुलाकी) सडकहरू निर्माण गर्ने लक्ष्य राखेको छ ।

अर्काको भूमिमा अध्यागमन चेकपोस्ट नराखिने प्रस्टोक्ति
सीमावर्ती क्षेत्रमा चेकपोस्ट राख्ने प्रस्तावसम्बन्धी केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रकाशन गरेकोमा नेपालस्थित भारतीय दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको राष्ट्रिय स्वाधीनतासँग सम्झौता गरी’ ‘पशुपतिनगर र लुम्बिनीमा अध्यागमन चेकपोस्ट राख्ने प्रस्ताव’सम्बन्धी सञ्चारमाध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै दूतावासद्वारा जारी विज्ञप्तिमा गत जेठ १८ (जुन १, २०१३) मा नेपाल र भारतका गृहसचिवस्तरको काठमाडौंमा सम्पन्न बैठकमा भएको छलफलका विषयलाई भ्रामक रूपमा सम्प्रेषण गरिएको प्रस्ट्याइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पशुपतिनगर र लुम्बिनीमा दुवैतर्फ सीमामा अध्यागमन चेकपोस्ट राख्ने प्रस्ताव असल नियतले र नेपालको उत्कट चाहनाअनुसार तेस्रो देशबाट आउने विदेशी पर्यटकलाई यी बिन्दुहरूबाट आवागमनमा सहजीकरण गर्न राखिएको थियो । पशुपतिनगरमा अध्यागमन चेकपोस्टको स्थापना विदेशी पर्यटकहरूलाई दार्जिलिङबाट इलाम आउन तथा लुम्बिनीमा भारतमा रहेका बुद्धिष्ट सर्किटको भ्रमणपश्चात् लुम्बिनी भ्रमण गर्न इच्छुक पर्यटकलाई सहजीकरण गर्ने आशय रहेको छ । हाल यी पर्यटक अध्यागमन चेकपोस्टहरू रहेका स्थानहरू क्रमशः काँकडभिट्टा र भैरहवा भएर आउने गर्छन् ।’ दूतावासका अनुसार उल्लेखित बाटोबाट आउँदा घुमाउरो पर्दछ जसले गर्दा विदेशी पर्यटकलाई यात्रा, समय तथा दूरी बढी भई इलाम र लुम्बिनीमा भ्रमणमा आउन उत्साहित हुँदैनन् । सहज चेकपोस्टको अभावले गर्दा पर्यटन विकासको प्रयासमा अवरोध आएको कुरा जनवरी १४–१५, २०१३ मा लुम्बिनीमा सम्पन्न भारतीय राजदूतावासले आयोजना गरेको भारत–नेपाल संयुक्त पर्यटन मेलामा पर्यटन व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अध्यागमन चेकपोस्टहरू कहिल्यै पनि एक देशले अर्को देशको भूमिमा स्थापना गर्दैन, तर यस्ता चेकपोस्टहरू आ–आफ्नै भूमिमा समीपवर्ती रूपमा राखिन्छन् । तसर्थ, भारतले पशुपतिनगर र लुम्बिनीमा नेपाल भूमिमाथि अध्यागमन चेकपोस्टहरू स्थापना गर्ने भन्ने प्रश्न नै आउँदैन । वास्तविकता के हो भने भारत र नेपालबीच यी दुई बिन्दुहरू (पशुपतिनगर र लुम्बिनी)मा भारत–नेपाल सीमामा यसअघि सहमतिमा रहेका चेकपोस्टहरूजस्तै आ–आफ्नो भूमिमा स्थापना गर्नेबारे छलफल भएको थियो ।

निर्वाचनमा महिला सहभागिताका लागि अमेरिकी राजदूतको जोड
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीले अमेरिका नेपालमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । अमेरिकी सरकारको सहयोगमा लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (डिउ–नेपाल) र नेसनल डेमोक्र्याटिक इन्स्टिच्युट (एनडीआई)ले राजधानीमा आयोजना गरेको ‘निर्वाचन प्रक्रियाको सबै चरणमा महिला प्रतिनिधित्वका लागि सहयोग’ विषयक छलफल कार्यक्रममा मन्तव्य दिँदै राजदूत बोडीले राजनीतिमा महिला तथा पिछडिएका समुदायको सहभागितामा जोड दिन नेपाल सरकार तथा नागरिक समाजसँग सहकार्य गर्ने बताउनुभयो ।
निर्वाचन आयुक्त इला शर्मा एवम् विभिन्न राजनीतिक दलसम्बद्ध महिला नेतृहरूको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूत बोडीले भन्नुभयो, ‘नेपाल विशिष्ट नागरिक र स्रोतसाधनले सम्पन्न छ । नेपालले आफ्नो क्षमता हासिल गर्नका लागि यहाँ स्थायित्व र यो देशको विविधतालाई सही अर्थमा प्रतिनिधित्व गर्ने राजनीतिक प्रणाली चाहिन्छ । यसका लागि पहिलो महत्वपूर्ण कदम भनेको मङ्सिरमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचन सम्पन्न गर्नु हो ।’ मतदाता नामावलीमा दर्ता भएका सबैलाई आगामी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उहाँले आफ्नो मताधिकारको प्रयोग गर्नु हरेक स्वतन्त्र नागरिकको महत् वपूर्ण दायित्व हो भन्नुभयो ।
स्मरण रहोस्, नेपालमा लोकतन्त्र र सुशासनको प्रयासलाई टेवा पु-याउन अमेरिकी सरकारले गत वर्ष ५५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराएको छ ।

यस्ता छन् रूपन्देही प्रहरी प्रमुखका प्रतिबद्धता
रूपन्देही/ रूपन्देहीको प्रहरी प्रमुखमा सरुवा भई आएका एसपी विक्रमसिंह थापाले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्र्न शून्य सहनशीलता अपनाउने बताएका छन् । सोमबार जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै एसपी थापाले रूपन्देहीमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात, चेलिबेटी ओसारपसार, लागूपदार्थको दुव्र्यसन, तिनाउ र दानव नदीको अवैध दोहन, तराई मधेसको नाममा सञ्चालित भूमिगत सशस्त्र गतिविधिजस्ता गैरकानुनी क्रियाकलापविरुद्ध जुध्ने प्रतिबद्धता जनाए । उनले बुटवलस्थित जितगढी किल्लाको सुरक्षाका लागि पनि सक्दो पहल गर्ने बताए ।
लागूपदार्थको प्रयोग, क्यासिनोमा नेपालीको प्रवेश, तस्करी र गुण्डागर्दीविरुद्ध विशेष अभियान सञ्चालन गर्ने एसपी थापाको विशेष कार्यक्रम रहेको छ । सप्तरी, कपिलवस्तु, ललितपुर, बाँकेलगायत जिल्लाको कमाण्ड सम्हालिसकेका एसपी विक्रमसिंह थापा प्रहरी सङ्गठनभित्रका सीमित व्यावसायिक र दक्ष अधिकृतमध्येका मानिन्छन् । बाँकेमा प्रमुख रहँदा तराई मधेस क्षेत्रमा सञ्चालित भूमिगत सशस्त्र समूहको गतिविधि निमिट्यान्न पारेको र गुण्डागर्दी एवम् तस्करीविरुद्ध छेडेको जेहादबाट प्रभावित भई बाँकेवासीले उनलाई हिन्दी चलचित्र सिंघमको नायक प्रहरी अधिकृत सिंघमको प्रतिरूप भन्ने गर्दथे । उनी ०६० सालमा नेपाल प्रहरीले प्रदान गर्ने उत्कृष्ट प्रहरी अर्थात् पूर्ण शान्ति पुरस्कारबाट पनि पुरस्कृत भइसकेका छन् ।