कर्मचारी मात्रै सम्झनु मुलुककै दुर्भाग्य

कर्मचारी मात्रै सम्झनु मुलुककै दुर्भाग्य


sportविज्ञहीन बन्दै छ राखेप
विज्ञहरूको विशेष भूमिका रहने राष्ट्रिय खेलकुद परिषद् केही समयपश्चात् ‘विज्ञहीन’ बन्ने प्रायः निश्चित छ । राखेपको अदूरदर्शिताको कारणले यस्तो अवस्थाको सिर्जना भएको हो । खेलकुदको समग्र विकासलाई मध्यनजर गर्दै विगतमा उच्च शिक्षाको अध्ययनका लागि कर्मचारी विदेशमा पठाउने गरिन्थ्यो । तर, यसमा रोक लागेको अहिले २४ वर्ष भइसकेको छ । ०४६ सालदेखि आजसम्म कसैलाई राखेपले उच्च शिक्षा अध्ययनका लागि विदेश पठाएको रेकर्ड छैन । राखेपको यही दीर्घकालीन सोचको अभावले केही वर्षमै विज्ञहरूको सङ्ख्या ‘शून्य’ हुने ठोकुवाका साथ भन्न सकिन्छ । प्रजातन्त्रको उदयसँगै उच्च शिक्षा अध्ययनमा वृद्धि हुने विश्वास गरिए पनि उल्टै भएको कोटामा पनि राखेपले कटौती गरेपछि शून्यतामा झरेको थियो । परिणाम अहिलेको अवस्थाको सिर्जना भएको हो । अब कर्मचारीको उमेरको हदबन्दी ६५ वर्ष नगरे विज्ञहरूको अवस्था शून्य हुने पक्का छ ।
वर्तमान अवस्थामा विभिन्न खेलका ६ सय ४० जना प्राविधिक राखेपमा छन् । जसमध्ये क्वालिफाइट अर्थात् पटियाला, जर्मन, रसिया, जापान, कोरिया र चीन गएर डिप्लोमा गरेर आएका केबल ७०–८० जना बाँकी छन् । यी बाँकी रहेका ७०–८० जना पनि आउँदो पाँच वर्षभित्रमा विभिन्न समयमा रिटायर्ड हुँदै छन् । तसर्थ समस्या गम्भीर बन्दै गए पनि राखेपको ध्यानाकर्षण यो विषयमा हुन सकेको छैन । राखेपले यो प्रक्रियाको आजैदेखि थालनी गरे पनि पाँच वर्षको अवधिमा यत्तिकै सङ्ख्यामा विज्ञ तयार गर्न सक्तैन । तसर्थ स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै र त्यसलाई समाल्न राखेपले उमेरको हदबन्दी ६५ वर्ष गर्नुपर्ने बाध्यता भइसकेको छ । न्यायिक र शैक्षिक क्षेत्रमा कर्मचारीको उमेरको हदबन्दी ६५ वर्षको भएकोले सोहीअनुरूप गरिए केही भरथेक हुने अवश्य देखिन्छ । नेपालमा उच्च शिक्षा अध्ययन गराउने निकाय, विज्ञ र भौतिक पूर्वाधार नभएका कारण राखेपका लागि यो उत्तम विकल्प हुनसक्छ ।
खेलकुदका संरक्षक तथा अन्तरिम चुनाव मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी ६५ वर्षको उमेरमा आफ्नो व्यक्तित्व देखाउँदै मुलुकलाई हाँक्न सक्छन् भने खेलकुदका प्रशिक्षकमाथि शङ्का गर्ने प्रश्नै उठ्दैन । यसर्थमा कि अन्यको तुलनामा खेलकुदका लागेकाहरू स्वास्थ्यका हिसाबले पनि निकै तन्दरुस्त हुन्छन् । अर्को कुरा विदेशी प्रशिक्षक प्रायः ५८ वर्षभन्दा माथिको हुने र उनीहरूले कुशलतापूर्वक आफ्नो कार्यभार सम्हालिरहेका हुन्छन् । यदि नेपालमा पनि यो नियम लागू भए अन्यथा मान्नुपर्ने छैन । नेपाली प्रशिक्षकले पनि ५८ वर्ष मात्र नभई ६५ वर्षसम्म काम गर्न सक्छन् भन्ने नजिर बन्नेछ । जसका लागि राखेपले गम्भीर रूपमा सोच्नुपर्ने भएको छ । अन्यथा उनीहरूमाथि सरकारले गरेको लगानी त्यसै खेर जानेछ । उपयोगिताका लागि सरकारले गरेको लगानी अहिले बालुवामा पानी हालेसरह हुने अवस्थामा पुगेकाले यसलाई बेर्थैमा खेर जान नदिन राखेपले बुद्धिमताका साथ कदम चाल्नुपर्ने आवश्यक भइसकेको छ ।
अब कुरा आउँछ खेलकुद कसले चलाउने ? खेलकुद खेलकुद पदाधिकारी, प्रशिक्षक र विज्ञहरूले चलाउने हो । दुर्भाग्य, अहिलेसम्म त्यस्तो हुन सकेको छैन । खेलकुदका सारा निकाय र संरचनाहरू राजनीतिक नियुक्ति लिएर आउनेहरूले चलाइरहेका छन् । जुन खेलकुदको समग्र विकासका लागि विडम्बनाको विषय बनेको छ । खेलकुदमा राजनीतिक नियुक्ति लिएर आउनेहरूले मेरो गोरुको बाह्रै टक्का गर्दै अन्यको अस्तित्वलाई अस्वीकार र बाईपास गर्नु खेलकुदको मुख्य समस्या बन्दै आएको कसैबाट छिपेको छैन । अझ निषेधको राजनीतिले खेलकुदलाई अस्तव्यस्त नै बनाइदिएको छ । यही मानसिकता र समस्याबाट ग्रस्थ राखेपले खेलकुदका कर्मचारीलाई राखेपले ‘कर्मचारी’बाहेक अर्को रूपमा हेरेको छैन, जुन खेलकुदका लागि दुर्भाग्य भएको छ । राखेपको कर्मचारी भए पनि उनीहरूले खेलकुदको विकासमा बगाएको रगत, पसिना र गरेको योगदानको अहिलेसम्म मूल्याङ्कन भएको छैन । कसले त्यसको मूल्याङ्कन गर्ने हो त्यसको मेसो पनि उनीहरूले पाउन सकेका छैनन् । तसर्थ कुहिरोमा हराएको कागसरह बनेका ‘खेलकुदका विज्ञ’ले आफ्नो लक्ष्य भेट्टाउन अझै कति कसरत गर्नुपर्ने हो त्यो अहिले प्रतीक्षाको विषय बनेको छ ।
३६ वर्ष टेबुलटेनिसलाई हाँकेका रमेशराज जोशी अर्थात् (आरआर गुरु) र ब्याडमिन्टनका दिग्गज दिलेन्द्रराज पाण्डेको दिनचर्या डिल्लीबजारमा चियागफमै सीमित भएको छ । त्यस्तै हालत बक्सिङका पितामह सुरेश आले, एथलेटिक्सका विश्वप्रकाश थापा, नारायण यादव, पौडीका युवराज सुनुवार, ब्याडमिन्टनका किशोरबहादुर सिंह, मधुशमशेर राणा, फुटबलका योगम्बर सुवाल, कमल प्रधान, अशोकजंग थापा, छविलाल विश्वकर्मा, जीएन दाइ, ईश्वरबहादुर श्रेष्ठ, कृष्ण क्षेत्री, शिवभक्त जोशी, खेम गुरुङ, खड्कबहादुर रानाभाट, खड्कबहादुर दाहाल, सुरेन्द्र खाती, विष्णुगोपाल श्रेष्ठ, रामभक्त श्रेष्ठ, थानेश्वर राई, रामभगत माथेमा, अजय राणा, रतन टण्डन, अच्युतकृष्ण खरेल, उदय श्रेष्ठ, गोपाल बस्नेत, रमेश खनाल, भीम थापा, मुकुन्दलाल नकर्मी, जेआर जोशी र अन्यको छ । तर, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले महिला अभिवक्ता सपना मल्ललाई आजीवन सदस्य प्रदान गर्दा उनीहरूको मनचाहिँ अमिलो भएको छ । यो दृश्य देख्दा खेलकुदमा लामो समयसम्म योगदान दिएका उनीहरूलाई राखेपले सम्मान दिनुपर्छ कि पर्दैन अहम् प्रश्न बनेको छ ।
खेलकुदमा उमेरको हदबन्दीले विज्ञहरू रिटायर्ड हुने क्रम जारी छ । केही समय पहिले हरिहर श्रेष्ठ र पार्थसारथीसेन गुप्त अर्थात् मीठु गुरुको पनि बिदाइ भइसकेको छ । रिटायर्ड भए पनि राखेपका सदस्यसचिव युवराज लामाले उनीहरूको व्यक्तित्वको कदर गर्दै पुनः जिम्मेवारी दिए पनि अन्यको हकमा यस्तो हुन सकेको छैन । गत जेठ र असारमा सुरेन्द्र खाती, नन्दलाल यादव र महेन्द्रलाल श्रेष्ठले अवकाश पाएका थिए भने यही साउन १६ गते अर्का विज्ञ केशवराज गौतमले उमेर हदबन्दीकै कारणले अवकाश पाउन लागेका छन् । यसरी खेलकुदमा आफ्नो जीवन अर्पण गर्दै आएकामध्येहरूबाट यो वर्ष अर्थात् ०७० साल भदौ ८ मा प्रदीप जोशी, असोज ९ मा शम्भु विष्ट, कात्तिक ११ मा लक्ष्मीनारायण वैद्य र रामनारायण वैद्यले अवकाश पाउँदै छन् । त्यस्तै ०७१ मा अवकाश पाउने १२ जना प्राविधिकहरूमा सोहन सिन्हा, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा, सन्तोषकुमार बानियाँ, जितेन्द्र चौधरी, बिकुलाल चौधरी, मोहनकुमार घले र भगीरथ आले रहेका छन् । यसैगरी ०७२ मा विजय न्यौपाने, श्यामकुमार मण्डल, शम्भु केसी, शान्ति सिंह, पूर्णमान बज्राचार्य, कपिलकिशोर श्रेष्ठ, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी र अशोकराज पाण्डे अवकाश पाउँदै छन् । त्यस्तै, ०७३ मा विजेन्द्रबहादुर हमाल, दीपराज गुरुङ, विद्यासागर पोखरेल, तिलकबहादुर राउत, रतिया राजवंशी, अरुणकुमार अर्याल र केशवलाल श्रेष्ठ रहेका छन् ।
यसरी ०७३ सम्म खेलकुदमा डिप्लोमा गरेको प्रशिक्षकहरू औँलामा गन्न सकिन मात्र बाँकी रहेनछन् । यसपछि खेलकुदमा विज्ञहरूको खडेरी पर्ने प्रायः निश्चित छ । खेलकुदमा विज्ञहरूको खडेरी पर्ने पक्कापक्की भइसक्दा पनि राखेप भने यो मुद्दामा उदासीन रहनु चिन्ताको विषय बनेको छ । पहिलो पुस्ताको बहिर्गमनपछि दोस्रो पुस्ताको तयारीमा राखेपले अहिलेसम्म कदम चालेको छैन । वर्तमान अवस्थामा प्रशिक्षण तालिम लिएर आउन दुई वर्ष लाग्ने भएकाले त्यो रातारात सम्भव हुने देखिँदैन । अर्को कुरा भएकालाई समेत उचित जिम्मेवारी दिन नसकेको राखेपले अवकाश प्राप्तलाई कस्तो र कति अवधिका लागि जिम्मेवारी देला त्यो प्रतीक्षाको विषय बनेको छ । राजनीतिक परिवर्तनसँगै खेलकुदका पदाधिकारी परिवर्तन हुने नेपालको परम्पराले आवरणमा देखिएको यो समस्यालाई अझ विकराल नबलाउला भन्न सकिँदैन । तसर्थ समस्याले विकराल रूप धारण गर्नुअघि नै राखेपले यसलाई निराकरण गर्नु जरुरी भइसकेको छ । जसको एउटै विकल्प हदबन्दीलाई ६५ वर्ष पु-याउनु मात्रै देखिएको छ ।

खेलकुद समाचार

पारा ट्रायथलनमा यमी र राजुलाई उपाधि
प्रथम पारा तथा खुला ट्रायथलन प्रतियोगिताको पारातर्फ महिलामा यमी झाँक्रीमगर र पुरुषमा राजु कटवाल पहिलो भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा यमीले १७ मिनेट ४३ सेकेन्ड समय र राजुले १३ मिनेट ४२ सेकेन्ड समय खर्चेका थिए । महिलामा सोनिका ढकाल (१८ मिनेट २९ सेकेन्ड) दोस्रो तथा निर्मला कार्की (२५ मिनेट ४० सेकेन्ड) तेस्रो भएका थिए । पुरुषमा कृष्ण चौधरी (१४ मिनेट ४३ सेकेन्ड) ले रजत र अनिल तामाङ (१६ मिनेट ५८ सेकेन्ड) ले कास्य जितेका थिए । खुलातर्फ पुरुषमा नेपाली सेनाको वर्चस्व रह्यो । शीर्ष तीन स्थानको सबै पदक सेनाले आफ्नो पोल्टामा पार्न सफल भएको थियो । टीकाराम थापा पौडी, साइक्लिङ र दौडतर्फ समग्रमा एक घन्टा १५ मिनेट ३३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहेका थिए । वसन्त चौधरी (१ घन्टा १९ मिनेट ४६ सेकेन्ड) दोस्रो र चित्रबहादुर पौडेल (१ घन्टा २० मिनेट १० सेकेन्ड) तेस्रो
स्थानमा रहेका थिए । नेपाल ट्रायथलन सङ्घद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ महिलामा सेनाकी केशरी थापाले समग्रमा एक घन्टा ४७ मिनेट ४९ सेकेन्ड समय निकाल्दै स्वर्ण जितिन् भने सेनाकै यानकुमार घले (१ घन्टा ५५ मिनेट ०१ सेकेन्ड) दोस्रो तथा पानीपोखरीकी लक्ष्मी मगर (१ घन्टा ५९ मिनेट ५७ सेकेन्ड) तेस्रो भएकी थिइन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र ट्रायथलन सङ्घका अध्यक्ष गणेशमान पुनले पुरस्कार वितरण गरेका थिए ।

स्नेहालाई राइफल उपाधि
ओलम्पियन स्नेहाराज्यलक्ष्मी राणाले राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलको उपाधि जितेकी छिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको
प्रतिस्पर्धामा स्नेहाले सर्वाधिक एक सय ९५ अङ्क बटुल्दै एक मात्र पदकका रूपमा रुपन्देहीलाई स्वर्ण दिलाएकी थिइन् । अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी एक सय ९० अङ्क जोड्दै दोस्रो स्थानमा र एक सय ७० अङ्कसाथ प्रहरीकै दुर्गा सिञ्जालीले तेस्रो भएका थिए । कुल दुई सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा चार स्पर्धामा खेल भएको थियो । यसअघि पुरुषको १० मिटर एयर राइफलमा नेपाली सेनाका दीपक थापा तथा १० मिटर एयर पेस्तोलको पुरुषमा सेनाका कुवेर केसी र महिलामा प्रहरीकी सीमा तुलाधरले स्वर्ण जितेका थिए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार र पाँच हजार
नगद पुरस्कार प्राप्त गरेका थिए । कुल पुरस्कार राशि ८८ हजारमध्ये १६ हजार रुपैयाँ जी फोर ग्रुपका प्रबन्ध–निर्देशक महेश श्रेष्ठले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभागीय टोलीको वर्चस्व रहेको थियो । नेपाली सेनाले दुई स्वर्ण, एक रजत र दुई कास्य जित्दै शीर्ष स्थानमा रह्यो भने प्रहरीले समान १/१/१ स्वर्ण,
रजत र कास्य हात पार्दै दोस्रो भएको थियो । त्यस्तै रुपन्देही एक स्वर्णसाथ तेस्रो भयो । बाँकेले दुई रजत तथा सप्तरीले एक कास्य प्राप्त गरेका थिए । २०१३ को जनवरीदेखि सुटिङमा नयाँ नियम लागू भएपछि नेपाल सुटिङ सङ्घले आयोजना गरेको यो नै पहिलो प्रतियोगिता हो । चारदिने प्रतियोगितामा ३३ पुरुष र ३२ महिला गरी ६५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङ तथा सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पुरस्कृत गरेका थिए ।

जितकुन्डोमा विकास र लव च्याम्पियन
दोस्रो जितकुण्डो मार्सल आर्ट कम्ब्याट फाइटको पुरुष ५६ केजीमाथि केन्द्रीय डोजाङका विकास सिवाकोटी र ५५ केजीमुनि सर्लाहीका लवहरि पोखरेल च्याम्पियन बनेका छन् । फाइनलमा विकासले सामाखुसी डोजाङका सुरेन घलेलाई पराजित गरेका थिए भने नुवाकोटका सुरेश लामाले तेस्रो भए । उक्त स्पर्धामा आठजनाले प्रतिस्पर्धा गरेका थिए । नेपाल जितकुण्डो डो मार्सल आर्ट सङ्घद्वारा आयोजित प्रतियोगिताको अर्को स्पर्धाको उपाधि भिडन्तमा लवले ललितपुरका सुमन गुरुङलाई पाखा लगाएका थिए ।
सर्लाहीका कुमार बस्नेत तेस्रो भए । यो स्पर्धामा १९ खेलाडीले भाग लिएका थिए । एकदिने प्रतियोगिताका विजेता खेलाडीलाई आयोजक जितकुन्डोका अध्यक्ष लोकबहादुर खड्का, प्रथम उपाध्यक्ष टेकबहादुर बम, महासचिव शिवबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

एन्टा पदाधिकारी र खेलाडी युनियनमा प्रवेश
विघटित अखिल नेपाल तेक्वान्दो सङ्घ (एन्टा) का केही पदाधिकारी र खेलाडी राष्ट्रिय तेक्वान्दो युनियन नेपालमा प्रवेश गरेका छन् । विघटित एन्टाका कोषाध्यक्ष पदमबहादुर राणालगायतका पदाधिकारी र खेलाडी गरी करिब पाँच सयजना युनियनमा प्रवेश गरेको कोषाध्यक्ष राणा स्वयम्ले जानकारी गराएका छन् । युनियनका अध्यक्ष शिव कोइराला, महासचिव राजकुमार कार्की, प्रमुख प्रशिक्षक एकनाथ थापालगायतले एन्टा पदाधिकारी र खेलाडीलाई खादा तथा टीका लगाई स्वागत गरेका थिए ।

शारीरिक सुगठन खेलाडी छनोट
नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले ४७औँ एसियाली शारीरिक सुगठन प्रतियोगिताका लागि तीन पुरुष खेलाडी छनोट गरेको छ । पुरुषतर्फ ६० केजीमा रामबहादुर दाहाल, ६५ केजीमा सञ्जीवकुमार श्रेष्ठ तथा ७५ केजीमा महेश्वर महर्जन छानिएको सङ्घका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । प्रतियोगिता भदौ ११ देखि १७ गतेसम्म भियतनाममा हुँदै छ ।

बृहत् राष्ट्रिय छनोट कराते सम्पन्न
नेपाल कराते महासङ्घद्वारा आयोजित बृहत् राष्ट्रिय छनोट कराते प्रतियोगिता हालै सम्पन्न भएको छ ।
यसअघि राष्ट्रिय टिममै रहेका अधिकांश खेलाडी पुनः राष्ट्रिय टिममा अटाउन सफल भएका छन् । राष्ट्रिय टिममा चार नयाँ अनुहारले स्थान पाउनेहरूमा सुनिता महर्जन, दिवस श्रेष्ठ, अर्मिला डीसी र रिता कार्की रहेका छन् । कुल १७ स्पर्धामा २१ खेलाडी छनोट हुनुपर्नेमा २० खेलाडी छनोट भएका छन् ।
राष्ट्रिय टिमका गणेशबहादुर थिङले दोहोरो स्वर्ण जितेकाले २१ बाट खेलाडी सङ्ख्या २० मा झरेको हो । प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी राष्ट्रिय टिमलाई छनोट भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला ६८ केजीमुनि फाइनलमा साग स्वर्णधारी राष्ट्रिय टिमकी गंगादेवी अधिकारीले सितोरियोकी निर्मला राईलाई ८–० ले हराएकी थिइन् । विश्वविद्यालयकी सिर्जना सापकोटा तेस्रो भइन् । पुरुषको ८४ केजीमाथि राष्ट्रिय टिमका दिगम्बरप्रसाद पन्तले स्वर्ण जितेका थिए । उनले फाइनलमा नेपाली सेनाका सीताराम विकलाई २३–१५ अङ्कले निराश पारेका थिए । विश्वविद्यालयका लालबहादुर राणा र बादोरियोका राजकुमार नगरकोटी संयुक्त रुपमा तेस्रो भएका थिए ।
पुरुषको ६७ केजीमुनि राष्ट्रिय टिमका मुकुन्द महर्जन पहिलो भए । फाइनलमा उनले राष्ट्रिय टिम ‘ग’का सागर शाहीलाई ९–० ले पाखा लगाएका थिए । नेपाल प्रहरीका गंगा कुसुवार र सेनाका गोविन्द विशंखेले तेस्रो स्थानमा चित्त बुझाए । महिलाको ५५ केजीमा राष्ट्रिय टिमकी मल्लिका थापाले शीर्ष स्थान हात पारिन् । फाइनलमा मल्लिकाले गोजुरियोकी मनीषा रानाभाटलाई ९–१ ले पराजित गरेकी थिइन् । सोतोकानकी लक्ष्मी आले तथा विश्वविद्यालयकी निरु दुवाल तेस्रो स्थानमा रहे । महिलाको ४५ केजीमा सितोरियोकी अर्मिला डीसी पहिलो भइन् । उपाधि भिडन्तमा अर्मिलाले प्रहरीकी निर्मला तामाङलाई पराजित गरेकी थिइन् । अर्मिला र निर्मलाले समान ६–६ अङ्क जोडे पनि ‘उत्कृष्टता’का आधारमा अर्मिलालाई विजेता घोषित गरिएको थियो ।
पहिले यो तौलसमूहबाट मल्लिकाले खेल्ने गर्थिन् । हाल मल्लिकाले आफ्नो तौल बढाएर ५५ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । गोजुरियोकी सरु लामा र विश्वविद्यालयकी लक्ष्मी गुरुङ तेस्रो स्थानमा रहे । पुरुषको ७५ केजीमा सितोरियोका दिवस श्रेष्ठले राष्ट्रिय टिममा स्थान बनाउन सफल भए । फाइनलमा उनले एपीएफका वीरबहादुर रनेनीलाई १०–२ ले पन्छाएका थिए । गोजुरियोका प्रदीपजंग थापा र विश्वविद्यालयका सोजन श्रेष्ठ तेस्रो भए । महिलाको ६८ केजीमुनि सेनाकी रीता कार्की राष्ट्रिय टिममा स्थान सुरक्षित गर्न सफल भइन् । रीताले फाइनलमा राष्ट्रिय टिमकी कल्पना बस्नेतको चुनौती ७–१ ले समाप्त पारेकी थिइन् । विश्वविद्यालयकी सरिता श्रेष्ठ र गोजुरियोकी अनिता तामाङ तेस्रो भए । पुरुषको ५५ केजीमा राष्ट्रिय टिमका सुनील लामा पहिलो भए । साग स्वर्णधारी सुनीलले फाइनलमा राष्ट्रिय टिम ‘ख’का सागमा तीन कास्य जितिसकेका रवीन्द्र दाहाललाई ६–० ले पाखा लगाएका थिए । प्रहरीका रवीन्द्र कार्की र सेनाका मणिकुमार सुनवार तेस्रो भए । राष्ट्रिय टिममा स्थान बनाउने अर्का खेलाडी विश्वविद्यालयका मिलन नेपाली रहे । पुरुषको ६० केजी फाइनलमा मिलनले एपीएफका शेखर थपलियालाई ८–० ले पराजित गरेका थिए । यो तौल समूहमा विनोद महर्जन राष्ट्रिय टिममा थिए । विनोद अध्ययनका लागि मोरिसेस जाने भएकाले प्रतियोगितामा भाग नलिएको राष्ट्रिय टिमका प्रशिक्षकमध्येका एक दीपक श्रेष्ठले जनाएका छन् । राष्ट्रिय टिम ‘ख’का मोहन कार्की तेस्रो भए । महिलाको ६१ केजीमा नेपाल प्रहरीकी सुनिता महर्जनले दशौँ सागकी रजतधारी विश्वविद्यालयकी अमृता शाक्यलाई पराजित गरेकी थिइन् । उक्त तौलसमूहमा राष्ट्रिय टिममा रहेकी सपना मल्ल पहिलो बाउटमै सुनिता महर्जनसँग पराजित भएकी थिइन् । बादोरियोकी ज्योति गुरुङ र गोजुरियोकी सनी डोटेल तेस्रो भएका थिए । पुरुषको ५० केजीमा विजय लामा, ८४ केजीमुनि भीमबहादुर तामाङ र महिलाको ५० केजीमा अनु अधिकारी पहिलो भए । खेलाडीत्रय राष्ट्रिय टिमका हुन् । विजेतालाई युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्यसचिव एवम् नेपाल कराते महासङ्घका संरक्षक युवराज लामा, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा अफिसियल स्टायलका चार कराते सितोरियो, बादोरियो, गोजुरियो र सोतोकान, चार विभागीय टोली प्रहरी, सेना, एपीएफ र विश्वविद्यालय, राष्ट्रिय टिम, छैटौँ राष्ट्रिय खेलकुदमा दोस्रो र तेस्रो हुने खेलाडी गरी १२ टिमका दुई सय पाँच खेलाडीको सहभागिता रहेको थियो ।