आदर्शको ढाल हो-वामदेव पण्डित(वर्ष ९५)

आदर्शको ढाल हो-वामदेव पण्डित(वर्ष ९५)


सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा ।
अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।।
पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस ।
सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।।

हाम्रो देश अखण्ड बन्न उसले गर्ला बढी मद्दत ।
नेपाली मनमा सदैव रहला आदर्शको आदत ।।
राम्रो जागिरमा लगाउँछु भनी पैसा कमाइलिने ।
आफू हो भनी जाँचमा निडरले छोरी पठाइदिने ।।२।।

यस्तो काम गरी सभासद् बने निर्लज्ज नाजायज
निक्लेको नववर्षले सुमति दि बन्लान् कि जायज ।।
भ्रष्टाचार गरी थिची मुलुक यो सम्पत्ति थुप्य्राउने ।
थुपै्र मानिसमाथि न्याय कसिई गर्दै छ मुन्ट्याउने ।।३।।

गल्ती अघिका सुधार गरी दे प्यारो नयाँ वर्षले ।
निक्ली उज्ज्वल संविधान रसिला बाँचौँ सबै हर्षले ।।
बढ्दै गो महँगी समग्र जनको खाँदै छ है खप्पर ।
फाल्दे है अब लौ गरिकन कृपा डाँडो कर्टाई पर ।।४।।

राम्रो भन्नु यहाँ कुनै पनि कुरो सर्वत्र देखिन्न र ।
हाहाकार बढेर मूरि्छत बने सम्पूर्ण नारी नर ।।
गुम्यो होस हवास नष्ट गरी दे दाराहरू कष्टको ।
चाँडो दृष्टि पुगोस् यी विषयमा हाम्रो नयाँ वर्षको ।।५।।

नेताको मनभित्र भित्र छ धुलो हावा हुरी बादल ।
पार्टीमा अमिलो भएर रहँदा बन्दैन राम्रो दल ।।
ठूला ती दलमा छ रोग यसले रोगी बन्यो देश र ।
देला कि उनमा नयाँ दिवसले इच्छा सफा सुन्दर ।।६।।

सीता बुद्ध पवित्र जन्मस्थल यो सर्वोच्च नेपाल हो ।
ठूला मित्र प्रसिद्धबीच रहने आदर्शको ढाल हो ।।
यस्ताका जनता जनार्दन कठै बस्दै छ सङ्कटमा ।
स्थायी शान्ति बनोस् यो मुलुकमा प्यारो नयाँ वर्षमा ।।७।।

स्वागत नयाँ वर्ष -ठाकुरमान लामा
फेरि आयो मनमा नयाँ जोस छर्न
खुसी र उमङ्गको उद्घोष गर्न
भोलिका सुनौला दिन अनि बिहान
साँच्दै नयाँ सपना र कल्पना
आयौ तिमी फेरि हर दैलोदैलोमा

हिजोका ती नमिठा तिक्तता मेट्न
हिजोका थुप्रिएर रहेका रिक्तता भर्न
द्वेष र घृणाको खाडल पुर्न
माया अनि ममताको सागर बाँड्न
आयौ तिमी फेरि हर दैलोदैलोमा

जीवनलाई लालीगुराँसझै फुलाउन
प्रगतिपथको त्यो बाटोमा डोर्‍याउन
चिर्दै त्यो दुःखको भुमरीलाई
समुन्नत भविष्यको आशमा अनि मुस्कानमा
आयौ तिमी फेरि हर दैलोदैलोमा

स्वागत हे नयाँ वर्ष तिमीलाई
स्वागत छ तिमीलाई
हर दैलोदैलोमा
हर दैलोदैलोमा ।