अर्थमन्त्रीमा फेरि रामेश्वर ?

अर्थमन्त्रीमा फेरि रामेश्वर ?


आफ्नै दलभित्रबाट आफूलाई असफल बनाउने प्रयास भएको महसूस गरेपछि बालेन्द्र साह केही मन्त्रीहरूलाई हटाउने निर्णयमा पुगेका छन् । तर पार्टी सभापतिको सहयोग नरहने बुझिएकोले साह अप्ठ्यारोमा परेका बुझिएको छ ।

पार्टी सभापतिको कोटाबाट अर्थमन्त्री बनेका स्वर्णिम वाग्लेले अवलम्बन गरेको नीति र ब्यवहारको सर्वत्र आलोचना भएको छ । बीवाईडी गाडी आयातका क्रममा घोटाला गरेको आरोप लागेका वाग्लेलाई साहले त्यतिबेलै पदमूक्त गर्ने सोच बनाएका थिए, तर वाग्लेले आफ्नो पोलिटिकल करियर नै समाप्त हुने भन्दै अनुनय-विनय गरेपछि एकपटकका लागि क्षमा गरिदिने निर्णयमा पुगेका थिए । वाग्लेले विदेशी ऋणको बोझ अनपेक्षित ढङ्गले थपेको, शेयर बजारमाथि उठ्नै नसक्नेगरी थला पारेको, विद्युतमा करको भार थपेको, शिक्षा र स्वास्थ्यमा समेत कर लगाइदिएर सरकारको छवि जनदृष्टिमा नराम्रोसङ्ग गिराएको ठहर बालेन्द्रले गरेका छन् । त्यसैले हर हालतमा अर्थमन्त्री बदल्नुपर्ने निर्णयमा उनी पुगेका छन् ।

वाग्लेको बहिर्गमनको चर्चासङ्गै सम्भावित अर्थमन्त्रीका रूपमा केही नामहरू सतहमा आएका छन् । यसरी सतहमा आएका नामहरूमा रामेश्वर खनाल, विदुषी राणा र माओवादी नेता पदम बैदिकका छोरा सुशान्त बैदिक छन् । उल्लिखित नाममध्ये रामेश्वर खनाललाई वजनदार मानिएको छ । राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनित गरी खनाललाई अर्थमन्त्री बनाउनु उपयुक्त हुने सुझावलाई बालेन्द्रले सकारात्मक रूपमा लिएको बताइन्छ ।

त्यसैगरी पार्टी सभापतिको विशेष अनुरोधमा कानूनमन्त्री बनाइएकी सोविता गौतम, महान्यायाधिवक्ता नारायण कँडेल र बरियताक्रम मिचेर प्रधानन्यायाधीश बनाइएका मनोज शर्माबाट पनि सहयोग नपाइएको गुनासो बालेन्द्रको छ । गौतम र कँडेललाई पनि तत्काल बर्खास्त गरी निजको स्थानमा अन्य ब्यक्तिलाई चयन गर्ने निर्णयमा पुगेका छन् । सरकारको निर्णयविरुद्ध परेका अधिकाङ्श मुद्दामा सरकारको विपक्षमा निर्णय आउनुलाई बालेन्द्रले स्वभाविक मानेका छैनन् । यसलाई पनि उनले सरकारलाई असफल तुल्याउने नियोजित षड्यन्त्रका रूपमा बुझेका छन् र आफ्नो निष्कर्ष पार्टी सभापतिलाई सुनाइसकेका छन् ।

त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको काम पनि सन्तोषजनक नभएको प्रधानमन्त्रीले ठानेका छन् । उद्योगमन्त्री र स्वास्थ्यमन्त्रीका कामप्रति पनि बालेन्द्र सन्तुष्ट नरहेको बताइन्छ । महान्यायाधिवक्ता नारायण कँडेललाई हटाएर कोही उपयुक्त ब्यक्तिलाई चयन गर्ने सोच बालेन्द्रले बनाएका छन् ।