बीपीको परिकल्पनाअनुसारकै संविधान आएको दाबी

बीपीको परिकल्पनाअनुसारकै संविधान आएको दाबी


– विश्वामित्र खनाल, सिड्नी (अस्ट्रेलिया)

नेपालको संविधान २०७२ को प्रस्तावनामै लोकतान्त्रिक समाजवाद भन्ने शव्दावली नेपाली काङ्ग्रेसको पहलमा राख्न सफल भएको खुलासा नेपाली काङ्ग्रेसका संविधानसभा सदस्य तथा खोटाङ जिल्लाबाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्यका प्रत्याशी सरस्वती वजमाईले बताएकी छिन् । ३६औँ बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको बीपीको समाजवाद र वर्तमान नेपाल विषयक विचार गोष्ठीमा उनले सो कुरा खुलासा गरेकी हुन् । सभासद् वजमाईले बीपीका विचार आज कुनै एक पार्टीविशेषको नभई नेपाल राष्ट्रको सम्पत्ति भएको पनि बताइन् ।

जनसम्पर्क समिति अस्ट्रेलियाका कावा अध्यक्ष छिरिङ तेन्जी शेर्पाको सभापतित्वमा सम्पन्न सो विचार गोष्ठीमा प्रवासी मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले बीपी कोइराला तत्कालीन समयमा एसियाको कार्लमाक्र्स रहेको बताए । कार्यक्रममा सङ्घीय समाजवादी पार्टी अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङले बीपी कोइरालाको ७० वर्षअघिको समाजवादी विचार अहिलेको वर्तमान नेपालमा पनि समयसापेक्ष रहेको बताएका थिए ।

एनआरएनका भूतपूर्व अध्यक्ष गणेश केसीको उपस्थिति रहेको सो कार्यक्रममा शोधकर्ता डा. मित्र परियारले नेपालमा मानवअधिकारको स्थितिको विषयमा आफूले गरेको अध्ययनको एक कार्यपत्र पेस गर्दै बीपी कोइराला व्यवहारतः नै समाजवादी रहेको तथ्य उनले गठन गरेको मन्त्रिमण्डल तथा पार्टी पदाधिकारीहरूको चयनले नै प्रमाणित गरेको बताए । त्यसैगरी, अर्का वक्ता डा. डिल्ली बन्जाडेले २०३६ सालमा बीपी कोइरालाले पाल्पामा गरेको सम्बोधनको स्मरण गरेका थिए । त्यसैगरी, वाम बुद्धिजीवी एवम् विश्लेषक मनऋषि धितालले बीपी बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै उनको साहित्यिक पाटोबारे चर्चा गरेका थिए ।

यसैगरी सो कार्यक्रममा राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै अस्ट्रेलियाको संसद्मा नेपाली समुदायबाट प्रतिनिधित्व गराउन सम्पूर्ण नेपालीमा मेलमिलाप तथा एकताको भावनाले मात्रै सम्भव हुने कुरा एनआरएनका अभियन्ता महेन्द्र लम्सालले बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले बीपीको विचार नेपाली समाजको अभिन्न अङ्ग भएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य कञ्चन पोखरेलले बीपी कोइराला तत्कालीन समयमा नेपालको मात्र नभएर एसियाको नेता भएको उल्लेख गरेका थिए ।

जनसम्पर्क समिति अस्ट्रेलियाका महासमिति सदस्य विश्वामित्र खनालले सञ्चालन गरेको सो कार्यक्रममा एनआरएन एनएसडब्ल्यूका संयोजक नन्दु गुरुङ, प्रवक्ता डिला खरेल, झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक चुँडाल, युवा नेताहरू भीष्म भण्डारी, रामजी बस्नेत, दीपक भण्डारीलगायतका वक्ताहरूले बीपीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए ।

समितिका सहसचिव शीतल गिरी खाणको स्वागतबाट शुरु गरिएको कार्यक्रममा बीपी स्मृति प्रतिष्ठान अस्ट्रेलियाका संयोजक दुर्गा आचार्यले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।