भोजपुरीको नाममा नेपाली दर्शकलाई ठग्दै

भोजपुरीको नाममा नेपाली दर्शकलाई ठग्दै


funtimeभोजपुरी भाषाको चलचित्रको नाममा विभिन्न भाषाका चलचित्र नेपाल भिœयाउने अनि नेपाली भाषामा डबिङ गर्दै हलहरूमा लगाउने एउटा ठूलै गिरोह यतिबेला सक्रिय हुन थालेको छ । यस्ता गिरोहलाई दुई–चार हजारको लोभमा परेर आफूलाई नेपाली सिनेमाको ठेकेदार भनाउँदाहरूले साथ दिएपछि अहिले नेपाली चलचित्रको प्रदर्शनमा गलत असर पर्न थालेको छ ।
खुलेआम यस्ता चलचित्र गैरकानुनी रूपमा नेपाल भित्रिँदा एकातिर सम्बन्धित निकायलाई गुमराहमा राख्ने गरिएको छ भने अर्कोतर्फ बजार खस्किरहेको नेपाली चलचित्र क्षेत्रलाई दीर्घकालीन असर पर्ने स्पष्ट देखिएको छ ।
विदेशी चलचित्र अर्को देशमा प्रदर्शन गर्दा थुपै्र कानुनी पक्षहरू पार गर्नुपर्छ, तर नेपालमा भोजपुरी भाषाको नाममा आएका चलचित्रहरूले त्यस्ता कानुनी पाटाहरू पूरा गरेको पाइँदैन । न त ती चलचित्र दर्ता गराएको पाइएको छ न त सेन्सर नै हुने गरेका छन् । नेपाली चलचित्र नेपालमा नै प्रदर्शन गर्न निर्माताहरूले झमेला व्यहोर्नुपर्छ, तर विदेशी चलचित्र सजिलै भित्रिँदा यहाँ रकमको ठूलै खेल हुने गरेको कुरा अब स्पष्ट भइसकेको छ । यसरी गैरकानुनी रूपमा विभिन्न भाषाका सिनेमालाई भोजपुरी सिनेमाको नाममा नेपाल भिœयाउनेले न त सरकारलाई कर तिरेको पाइन्छ न त कुनै नियमलाई अङ्गीकार गरेको पाइएको छ । त्यसकारण यस्ता सिनेमा भित्रिँदा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड चनाखो हुनुपर्ने देखिन्छ । सस्तोमा यस्ता फिल्म किन्ने र सस्तोमा नेपालीमा डबिङ गरेर सस्तोमा रिलिज गर्दा नेपाली मुद्रा विदेश गएको मात्र छैन कि निरन्तर रूपमा नेपाली सिनेमा हेर्दै आएका दर्शकको बानी पनि यस्तो सिनेमाले बिगार्ने निश्चित देखिएको छ ।
चोर बाटोबाट चोरी गर्ने उद्देश्यले नै प्रदर्शनमा आएका यस्ता सिनेमाप्रति सम्बन्धित निकाय अहिले नै चनाखो हुनुपर्ने भएको छ । जुन भाषाको फिल्मलाई पनि भोजपुरी भन्दै नेपालीमा डबिङ गराउनेहरूलाई अहिले नै पाठ पढाउनुपर्ने भएको छ । नेपाली नायक विराज भट्टले भोजपुरी चलचित्र खेलिरहेको कुरा अब व्यापक भइसकेको छ । त्यो क्षेत्रमा उनको वर्चश्व पनि कायम छ । उनको चलचित्रलाई नेपालीमा डब गराउँदै उनको क्रेजलाई व्यापार गर्नु नराम्रो कुरा होइन । तर, चिन्दै नचिनेका अन्य भाषाका कलाकारहरूद्वारा अभिनीत चलचित्रलाई भोजपुरी भन्दै नेपालीमा डब गराएर दर्शक ठग्ने अनि सरकारलाई गुमराहमा राख्नु त अवश्य पनि सही कुरा होइन होला नि ।

सानुको ठूलो बन्ने इच्छा
रहरले मात्र सिनेमा खेल्नुहुँदैन । कलाकारिता क्षेत्रमा दत्तचित्त भएर लाग्ने हो भने त्यसका लागि चाहिने आधारभूत ज्ञान लिनु पनि आवश्यक छ । अनि मात्र सफलता हात लाग्न सक्छ । यो कुरा राम्ररी बुझेका छन् नवनायक सानु तामाङले ।
गोरखाका सानु यतिबेला चलचित्र क्षेत्रमा जम्ने उद्देश्य बोकेर काठमाडौंमा सङ्घर्षरत छन् । यसैबीच द्वन्द्व र नृत्यको प्रशिक्षण लिइरहेका सानुको प्रतिभा, क्षमता र दक्षता चाँडै नै पर्दामा आउने भएको छ । सानुलाई सिनेमाको पर्दामा नायकको रूपमा अवसर दिएका छन्– निर्माता/निर्देशक शोभित बस्नेतले आफ्नै लगानीमा निर्माण हुन लागेको चलचित्र ‘एउटा साथी’मा । र, यो सिनेमालाई निर्देशन गर्दै छन् सञ्चारकर्मी लक्ष्मण सुवेदीले । यसै हप्ता निकै भव्यताका साथ शुभसाइत गरिन लागिएको चलचित्र ‘एउटा साथी’मा कथाको माग र चरित्र सुहाउँदो पात्र सानु भएको दाबी निर्माता बस्नेत र निर्देशक सुवेदीले बताए । आफूले जन्माएका सबै कलाकार चलचित्र क्षेत्रमा स्थापित भएका र सानु पनि स्थापित हुने दाबी निर्माता बस्नेतले गरे । यता निर्देशक लक्ष्मण सुवेदीले भने सानुमा रहेको प्रतिभालाई निखार ल्याउन आफूहरूकै सल्लाहमा उनले नृत्य र द्वन्द्वको प्रशिक्षण लिइरहेको कुरा बताए ।
नवनायक सानु पनि यतिबेला कम दङ्ग छैनन् । पहिलोपटक नै राम्रो ब्यानर र राम्रो टिमसँग काम गर्न पाएकोमा निकै हौसिएका सानुले भने, ‘उहाँहरूले ममाथि गर्नुभएको विश्वासलाई म डगमगाउन दिन्नँ । काम रामै्र गर्नछु ।’

नन्दिता र गरिमा युरोपमै भासिने चर्चा
नायिका नन्दिता केसीले त केही विदेशी मुलुकको भ्रमण गरिसकेकी छिन् । तर, अर्की नायिका गरिमा पन्तको यो भ्रमण भने पहिलो हो । पहिलोपटक युरोप भ्रमणमा निस्केकी गरिमा गत साता नायिका नन्दिता केसी, गायक मिङ्मा शेर्पा र गायिका रिमा गुरुङसँग सांस्कृतिक कार्यक्रममा सहभागी हुन युरोप हिँडेकी हुन् । यो टोलीको भ्रमण करिब एक महिना हुनेछ । नेपालमा हात हाली हुनु, कुनै सिनेमा हातमा नहुनु अनि ठीक त्यसै समयमा युरोपको भ्रमणको अवसर मिल्नुलाई नन्दिता र गरिमालाई चिठ्ठा नै परेको छ । नेपाली चलचित्र क्षेत्रमा दुवैलाई अनलक्की नायिका पनि भन्ने गरिन्छ । नाम चलेको छ, फाट्टफुट्ट फिल्म पनि हात परेको छ, तर कुनै पनि सिनेमा हिट छैनन् यी दुईका । दुवैको पीडा अनि बाध्यता एउटै थियो– कसरी भावी यात्रालाई अगाडि बढाउने ? ठीक यस्तै बेलामा युरोपको भिसा पाएर युरोप उडेका नन्दिता र गरिमा कतै यही भिसाको भरमा उतै बस्ने त होइनन् ? अहिले नेपालमा गाइँगुइँ चल्न थालेको छ । जो कलाकार कार्यक्रम वा अन्य बहानामा विदेश जान्छन्, उतै लुकेर बस्ने बानीका कारण प्रायः कलाकारमाथि यस्तो शङ्का–उपशङ्का उब्जनु नौला कुरा पनि होइन । त्यसैले नन्दिता र गरिमामाथि पनि अहिले यस्तै चर्चा चल्न थालेको छ । तर, फेसबुकसँगको कुराकानीमा भने यी दुईले युरोपमा लुकेर बस्ने आफूहरूको कुनै मनसाय नरहेको कुरा स्पष्ट पनि पारेका छन् ।
अवसर र मौका नआउञ्जेलसम्म विभिन्न कुरा गर्ने तर अवसर पाउनासाथ आफ्ना प्रतिबद्धतालाई बिर्सने अन्य केही कलाकारजस्तो व्यवहार नन्दिता र गरिमाले नदेखाऊन् । यही भन्छौँ हामी पनि ।

प्राविधिक बोर्डको ऐतिहासिक निर्णय
राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक कार्यकारी बोर्डले खेल, खेलाडी र प्रशिक्षकका सम्बन्धमा विभिन्न निर्णय गरेको छ । बोर्ड बैठकले राष्ट्रिय टिम तयारी प्रशिक्षणमा संलग्न खेलाडीको प्रदर्शन, क्षमता अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी योजनाबद्ध प्रशिक्षण एवम् मानव संसाधन विकासका लागि १२बँुदे निर्णय गरेको छ । पहिलो १२बँुदे निर्णयमा स्वास्थ्य प्रशिक्षण, शारीरिक प्रशिक्षण, मानसिक तथा मनोवैज्ञानिक व्यवस्था तालिम, पोषण तŒव, खेल विज्ञान, खेल नेतृत्व विकास तालिम, नियमित तथा व्यवस्थित विज्ञानसम्मत खेलकुद, आन्तरिक तथा बाह्य एक्सपोजर, प्राथमिक उपचार, एन्टिडोपिङ अवेयरनेस, इन्जुरी प्रिभेन्सन, स्पोर्टस् फिजियोथेरापी, मसाज, रिह्याबिलिटेसन, प्राविधिक नियमसम्बन्धी ज्ञान र नियमित मूल्याङ्कन रहेका छन् ।
त्यस्तै दोस्रो निर्णयमा राखेपको साधन र स्रोत तथा खेल उपलब्धिका आधारमा सबै खेलको राष्ट्रिय टिम तयार गर्ने रहेको छ । यसैगरी तेस्रो निर्णयमा खेल विकाससम्बन्धी योजना निर्धारण, प्रशिक्षण परिचालन, प्रतियोगिता आयोजना तथा सहभागिताका साथै खेल गतिविधि निर्धारणका लागि खेलहरूको जिल्लागत सङ्ख्या पहिचान गरी सोहीअनुरूप वर्गीकरण गरिएको छ । जसमा बृहत् राष्ट्रिय प्रतियोगिता, क्षेत्रीय प्रतियोगिता र जिल्ला राष्ट्रपति कप र जुनियर च्याम्पियनसिप (विद्यालय) रहेका छन् । त्यस्तै चौथो निर्णयमा प्रशिक्षकहरूको पहिचानका लागि १२ महिने तालिका रहेको छ भने पाँचौँ निर्णयमा स्वयम्सेवी प्रशिक्षकको नियुक्तबारे निर्णय गरिएको छ ।
बोर्डले गरेको निर्णयबारे जानकारी गराउँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले यसले नेपाली खेलकुदको विकासमा क्रान्ति ल्याउने बताए । लामाले यसले सबै पक्षलाई जिम्मेवार बनाउने भन्दै ढिलै भए पनि राम्रो कुरोको सुरुवात भएको टिप्पणी गरेका थिए । प्राविधिक हरिहर श्रेष्ठले खेलकुदको आधार र रणनीति तयार पार्न बोर्डको निर्णय फलदायी हुने बताए । परम्परागत शैली वैज्ञानिकता परिणत हुँदा खेलको परिणाम र खेलाडीको क्षमताबारे पहिल्यै जानकारी पाउन सकिने भएकाले यो नेपाली खेलकुदका लागि ज्यादै उपलब्धिमूलक हुने बताएका थिए ।