मोदीले दिए रुवाण्डालाई दुई सय गाई

मोदीले दिए रुवाण्डालाई दुई सय गाई


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्रराष्ट्रलाई गाई उपहार दिएर ‘गाई कूटनीति’को अभ्यास गरेका छन् ।

एक भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवाण्डालाई मंगलबार दुई सयवटा गाई हस्तान्तरण गरेर यस्तो अभ्यास गरेको एएफपीले जनाएको छ ।

राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाउँका गरिब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् ।

हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

रुवाण्डासँगै मोदीले युगाण्डाको पनि भ्रमण गरेका छन् । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाएको अधिकारीहरूले बताएका छन् ।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रुस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेसबर्गमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

‘रुवाण्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमुना गाउँका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ,’ प्रधानमन्त्री मोदीले भने ।

उनले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद पनि दिएका छन् । मोदी र कागामेबीच विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत भएको छ ।