त्रासमय तराई

त्रासमय तराई


nisedhहिजोआज तराईका विषयमा कुराकानी मात्र ग¥यो भने पनि मानिसहरू भन्ने गर्छन्– तराई ? अझ कामविशेषले तराई जानुपर्दा धेरैको भनाइ रहने गर्छ, यस्तो बेलामा तराई नै किन जानुप¥यो ? मधेसमा पनि भित्री मधेस नै किन ? जस–जसले जे–जस्तो प्रतिक्रिया दिए पनि समग्रमा भन्नुपर्दा मधेसमा काम गर्न मानिस सहजता महसुस गर्दैनन् । हुन पनि कहिले कसको अपहरण, कहिले कसको हत्या समाचारहरू एकपछि अर्को आइनै रहेका छन् । कुनै बेलाको शान्त मधेस अहिले त्रासमय स्थानमा परिवर्तन भएको छ । सबैतिर त्यस्तो छैन तर एकाध ठाउँमा भए पनि समग्र स्थानले दोष त पाइनै हाल्छ, माओवादी युद्धकालमा सबै क्षेत्र द्वन्द्वग्रस्त थिएन तर बाहिरबाट हेर्दा पूरै नेपाल युद्धग्रस्त क्षेत्रझैं गरिन्थ्यो । मधेसबारे पनि अहिले त्यस्तै हो मधेसका धेरै भागमा द्वन्द्वको छायाले नभेटे पनि केही भागमा भने बिउ रोपिइसकेको छ । केही वर्षयता अपराधलाई राजनीतीकरण र राजनीतिलाई अपराधीकरण गर्ने क्रम पनि त्यत्तिकै बढेको छ । कुनै योग्यता नचाहिने भएकाले अन्य पेसा अपनाउनुभन्दा राजनीति गर्न सजिलो पनि छ । दुई–चारजना मानिस वरिपरि लिएर हिँड्न सके राजनीतिकर्मी भइहालिन्छ । तराईमा मात्रै नभएर मुलुकभरि नै राजनीति गर्नुको अर्थ जनताको दुःखमार्कामा सहभागी हुनु नभएर पैसा कमाउनु हो, मधेसमा यस्तो बुझाइ अझ बढी छ । पद र पैसाका लागि दल र नेताहरूबीच भएको टुटफुटले तराईकेन्द्रित राजनीति गर्न खोज्नेहरूलाई कमजोर मात्र बनाएको छैन, जनताले तिनलाई हेर्ने दृष्टिकोणमा पनि छिया पर्दै गएको छ ।
तराईका विभिन्न भागमध्ये महोत्तरी जिल्ला अहिले चुनौतीपूर्ण स्थान बन्दै गएको छ । साना–ठूला सशस्त्र समूहका गतिविधिका कारण सुरक्षाको दृष्टिले महोत्तरी संवेदनशील बन्दै गएको हो । महोत्तरीमा पनि बथनाह गाविस निकै संवेदनशील मानिन्छ । छिमेकी मुलुकसँग खुला सिमाना रहेको र सशस्त्र समूहहरूको चलखेल बढी हुने गरेका कारण बथनाह बढी संवेदनशील स्थानमा गनिएको हो । छिमेकी मुलुक भारतसँग खुला सिमाना त हामी विभिन्न स्थानमा ‘सेयर’ गर्छौं तर साँच्चीकै खुला सिमाना भनेको के हो भनेर हेर्न भने सोही स्थानमा पुग्नुपर्छ । स–साना गोरेटो बाटोवारि नेपाल छ बाटोपारि भारत । अँगेनामा आगो निभ्यो भने छिमेकीकहाँ लिन जाँदा त्यो यता र उता जहाँको पनि पर्न सक्छ । भारतलाई हामी छिमेकी मुलुक भन्छौँ, छिमेकी नै किन भनिएको रै’छ भनेर हेर्नचाहिँ त्यहीँ पुग्नुपर्ने रहेछ । रोटीबेटीको मात्रै नभएर ससाना कुरामा पनि भरअभर दुवैतिर उत्तिकै सरसहयोग हुने गरेको छ । सुरक्षाको दृष्टिले बथनाह अहिले चुनौतीपूर्ण हुनुको प्रमुख कारण भूमिगत सशस्त्र समूहको एकता र उनीहरूको गतिविधि नै हो । विभिन्न १२ वटा भूमिगत सशस्त्र समूह मिलेर एउटै समूह बनेको छ । टुक्राटाक्री समूह मिलेर संयुक्त बनेको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति मोर्चाका नामले चर्चित छ । तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) र ज्वाला समूहसँगै राजन मुक्ति मोर्चाका गतिविधि तराईमा यत्रतत्र फैलने क्रम जारी छ । यसप्रकारका सशस्त्र समूह बथनाहमा धेरै भएकाले पनि उक्त स्थानमा जानका लागि मानिस कुनै बेलाको जाफ्ना नै जान लागेझैँ गर्छन् । महोत्तरीवासीमै पनि बथनाह भनेपछि त्यहाँ त जानुहुँदैन भन्ने छ तर जुन रूपले प्रचार गरिएको छ त्यस्तो परिस्थिति पनि होइन । भूमिगत समूहका केही गतिविधि भए पनि त्यहाँका स्थानीय सरल र सहृदयी छन् । घरको करेसामै छिमेकी मुलुकको सिमाना जोडिँदाको छुट्टै पीडा उनीहरूसँग छ, जुन कुरा व्यवहारसँग होइन विकाससँग जोडिएको छ । सँगै जोडिएको भूमिमा छिमेकीको बाटो पिच छ, सरर गाडी कुद्छ, ठाउँठाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकीहरू छन । यता आफ्नोपट्टि जताततै खाल्डाखुल्डी परेको, पानी परेका बेला हिँड्नै नसकिने सडक छन् । जुन सडक प्रयोग गर्नु बिरामी र गर्भवती महिलाका लागि निकै जोखिमपूर्ण हुन्छ । स्वास्थ्यचौकी छ तर एम्बुलेन्स र अन्य आवश्यक सुविधा छैन । यस पङ्क्तिकारसँगको कुराकानीमा स्थानीयवासीले भने– गाउँमा एउटा एम्बुलेन्स भइदिए हुन्थ्यो ।
हातहतियारको ओसारपसार, सशस्त्र समूहका गतिविधिपछि सीमाक्षेत्र हुनुको अर्को चुनौती लागूपदार्थको ओसारपसार र सेवनमा वृद्धि पनि हो । महोत्तरीका मात्र नभएर छिमेकी जिल्ला हुँदै टाढाटाढाबाट मानिस लागूऔषध सेवन र ओसारपसारका लागि त्यहाँ पुग्ने गर्छन् । यस्तै वारि अपराध गरेर पारि जाने पारि अपराध गरेर वारि आउने क्रम पनि त्यत्तिकै छ । मधेसको खास समस्या भनेकै चारवटा ‘सी’सँग सम्बन्धित छ भनिन्छ– क्राइम, क्यास, क्रिमिनल र कास्ट । पैसाको चलखेल र आपराधिक गतिविधि मात्र नभएर डर लाग्दो जातीय विभेद र पृतसत्ता पनि मधेसमा छ । यी सब कुराका बाबजुद विकासका कामहरू धमाधम अघि बढ्ने हो भने मधेसमा गर्न सकिने कुरा पनि धेरै नै छ । जिल्लाका लागि छुट्याइएको बजेट दलहरूबीच भागबण्डा गरिन्छ, यदि कथंकदाचित दलहरू र कर्मचारीबाट बजेट जोगियो भने फ्रिज हुन्छ तर विकासमा खर्च हुँदैन । कुनै स्थानीय विकास अधिकारी तीन महिना टिक्न सक्यो भने आश्चर्य मान्नुपर्ने अवस्था छ । महोत्तरीकै कुरा गर्ने हो भने डेढ महिनाको बीचमा तीनजना एलडीओ फेरिइसकेका छन् । हाम्रो मुलुकमा इमानदार कर्मचारी पाउनै गाह्रो, पाइहाले टिकाउन गाह्रो, यही भएको छ मधेसमा । नेताहरूको दबाब यति धेरै छ कि कर्मचारीलाई टिक्नै गाह्रो छ । यस्तो अचम्मको एटिच्युड मधेसका जिल्लामा देखिएको छ । जिल्ला सदरमुकामका सडकहरू सदरमुकाम र नगरपालिका भन्नै नमिल्ने गरी धुलाम्मे र हिलाम्मे छन् । ती सडक र नगरपालिकाका नाममा वर्षौंदेखि बजेट गइरहेको छ तर सडक जस्ताका तस्तै छन्, त्यो पैसा कहाँ गयो ? अहिलेसम्म सोधीखोजी गरिएको छैन । जसले पैसा कमायो त्यसैलाई ठूलो मान्छे मान्ने चलन छ तराईमा । उसले कसरी पैसा कमायो ? ऊ कसरी रातारात धनी भयो ? जस्ता कुरामा खासै वास्ता गरेको देखिँदैन । तराईका गाउँगाउँसम्म पुग्दा जनसाधारणमा एउटा गजबको समान धारणाचाहिँ के पाइन्छ भने आफ्नो काम परिरहने सरकारी कार्यालयहरूमा उनीहरू सकेसम्म मधेसीभन्दा पहाडी जातिकै मानिस आइदिए हुन्थ्यो भन्ठान्छन् । कारण, पहाडीले भए कराउँदै गाली गर्दै भए पनि बिनापैसा फटाफट काम गरिदिन्छन् भन्ने ‘इम्प्रेसन’ उनीहरूलाई छ । यसको अर्थ मधेसीलाई पहाडमा, पहाडीलाई मधेसमा यो देशका नागरिकलाई आफ्नो ठाउँमा मात्र केन्द्रित नगरेर सबैतिर फैलाउँ भन्ने पनि हुन सक्छ । जुन निकै सकारात्मक कुरा हो जस्तो लाग्छ । मधेसी राष्ट्रसेवकले हिमाल, पहाड पुग्नुप¥यो त्यस्तै हिमाली र पहाडीले मधेससम्म हेर्नुप¥यो । भ्रष्टाचार नियन्त्रणका लागि मात्र नभएर सबै नेपालीलाई एकताबद्ध बनाउने उपायका रूपमा पनि यसलाई लिन सकिन्छ ।
तराईमा सशस्त्र समूहको बढ्दो गतिविधिले मधेसभन्दा पनि मधेसका नाममा राजनीति गर्नेहरूलाई भने अब चुनौतीपूर्ण बनाउँदै गएका हुन् कि जस्तो लाग्न थालेको छ । मधेसकेन्द्रित राजनीति गर्ने दलहरूले मधेसका नाममा राज्यसत्तामा पद लिनेबाहेक अरू काम नगरेको भनी उनीहरूलाई लक्षित गरेर सशस्त्र समूहले ‘कारबाही’ गर्ने घोषणा नै गरेका छन् । सशस्त्र समूहको यसप्रकारको घोषणाले दलहरूलाई आफ्नो गतिविधिबारे सोच्न बाध्य बनाउने देखिन्छ । त्रासमय तराईलाई त्रासरहित तराई बनाउने जिम्मेवारी पनि राजनीतिक दलहरूकै हातमा छ ।