छद्म नाममा प्रचण्डपुत्रको खेलकुदमा रहस्यमय उपस्थिति

छद्म नाममा प्रचण्डपुत्रको खेलकुदमा रहस्यमय उपस्थिति


sportगत साता प्रचण्डपुत्र प्रकाशको अचानक खेलकुदमा प्रवेशको समाचारले सनसनी फैलियो । आफ्नो प्रचलित नाम ‘प्रकाश’को ठाउँमा ‘साकार’ छद्म नामबाट प्रवेश गरेपछि नेपाली खेलकुदमा क्षेत्रमा ठूलै भूकम्प गएजत्तिकै अनुभूति गर्नेहरू देखिए । नेपाल मोडर्न पेन्ट्राथलन सङ्घको उपाध्यक्षको रूपमा खेलकुदमा भित्रिएका प्रकाशको आगमनलाई यतिबेला अर्थपूर्ण दृष्टिले हेरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा पार्टीगत रूपमा एमालेनिकट मानिने पीताम्बर तिम्सिना अध्यक्ष रहेको उक्त सङ्घमा एमाओवादीका अध्यक्षकै पुत्र प्रकाशको उपस्थितिलाई गम्भीर रूपमा हेरिनु अस्वाभाविक पनि छैन । राखेपमा पेन्ट्राथलन सङ्घ एक महिनाअघि एक सय ३५औँ सङ्घको रूपमा दर्ता भए पनि यो सङ्घको दर्ताबारे राखेपले मौनता साँध्नुले यसलाई अझ रहस्यमय बनाइदिएको छ । प्रचण्डपुत्र प्रकाश किन ‘साकार’को नामबाट खेलकुदमा प्रवेश गरे– चर्चा र खोजीको विषय बनेको छ । प्रकाश अर्थात् साकारले पनि यो विषयमा चुप्पी साँधेका छन् भने सङ्घका अध्यक्ष तिम्सिनाले प्रकाश सङ्घको उपाध्यक्ष भएको स्वीकारेको स्थिति छ । राखेपले चाहिँ ‘साकार’ प्रचण्डपुत्र भएकोमा अनभिज्ञता प्रकट गरेको छ ।
पेन्ट्राथलन सङ्घका अध्यक्ष दक्षिणपन्थी र उपाध्यक्ष क्रान्तिकारी खेमाका भन्ने विषयलाई यतिखेर चर्चामा ल्याइएको छ र यो तालमेल वास्तवमा आफँैमा अनौठो र अमिल्दो देखिएको छ । विपरीत राजनीतिक ध्रुवका यी खेलाडीको गठबन्धनलाई खेलकुदमा अहिले शङ्काको दृष्टिले हेरिन थालिएको छ । के उद्देश्यबाट पे्ररित भएर कमरेड पीताम्बर र प्रकाशबीच लगनगाँठो कसियो ? यो सोचनीय छ । कुनै स्वार्थबिना यो गठजोड बन्यो होला भनेर पत्याउने ठाउँ पनि छैन । तसर्थ दुई महिनापछि राखेपबाट बिदा हुन लागेका उपाध्यक्ष तिम्सिनाको यो नौलो रणनीतिको करामतले अहिले खेलकुद पदाधिकारीलाई निकै सशङ्कित बनाएको छ । खेलकुदमा निकै चतुर खेलाडी मानिने तिम्सिनाले आफ्नो कार्यकालको समाप्तिसँगै चालेको यो गम्भीर चालले अन्य पदाधिकारीको भोक र निद्रा उडाएको छ । जसलाई अहिले विभिन्न कोणबाट विश्लेषण गरिन थालेको छ– ‘कहीँ ठूलै षड्यन्त्रको शंखनाद त होइन भनेर । आफ्नो स्वार्थ पूरा गर्न र विरोधीहरूलाई पाखा लगाउन केही महिना पहिलेदेखि राखेपका सदस्यसचिव युवराज लामासँग आत्मीय सम्बन्ध गाँसेका तिम्सिनाले अहिले प्रकाशलाई सङ्घको उपाध्यक्षको रूपमा भित्याएर एक तीरले दुई निशाना साँध्न लागेका त होइनन्– खेलवृत्तमा यस्तै हल्ला चलेको छ ।
‘पेन्ट्राथलन’ ओलम्पिक खेल भएकोले यसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता पाउनेमा दुईमत छैन । र पनि, नेपाल ओलम्पिक कमिटीभित्र यसको प्रवेश सहजै हुनेमा विश्वास गर्न सकिँदैन । अझ ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठसँगको तिम्सिनाको छत्तीसको आँकडालाई हेर्दा त्यो निकै जटिल हुनेमा सायदै कसैको दुईमत होला । जसका लागि तिम्सिनाले फलामको चिउरा चपाउनुपर्ने प्रस्ट रूपमा देखिएको छ । प्रधानभन्दा पनि श्रेष्ठसँगको ‘मल्लयुद्ध’ले गर्दा ओलम्पिक प्रवेश तिम्सिनाका लागि निकै असहज बन्ने प्रायः निश्चित छ । एउटै पार्टी नेकपा एमालेका यी दुई खेलाडीबीचको ‘बुलफाइट’ अहिले एक–अर्कालाई सिध्याउनेसम्म पुगिसकेको छ । जसको प्रत्यक्ष फाइदा नेपाल ओलम्पिक कमिटीको महासचिवको सपना देखेका अर्थात् शिखण्डीको रूप धारणा गरेका एमालेकै अर्का कार्यकर्ता टेन्डी लामालाई पुगेको छ । ‘फुटाऊँ’ भन्दा पनि ‘जुधाऊँ’ र फाइदा उठाऊँ भन्ने रणनीतिमा लागेका लामा तालपरे जे गर्न पनि तत्पर देखिएका छन् । पार्टीगत हिसाबले अहिले जीवनलाई समर्थन गरिरहेका उनी भोलि आफ्नो स्वार्थसिद्ध नभए जीवनरामलाई लात हान्ने पक्षमा छन् । जो अध्यक्ष भए पनि आफू महासचिव बन्ने होडमा लागेका लामाले भोलि यही कारणले प्रधानलाई साथ दिएमा अन्यथा मान्नुपर्ने छैन ।
आफ्नै भाइ सुनिल प्रधानको फेन्सिङ सङ्घलाई ६ वर्षपछि मात्रै एनओसीमा प्रवेश गराएका प्रधानले पेन्ट्राथलन सङ्घलाई पनि त्यसरी नै नझुलाउलान् भन्न सकिँदैन । अझ एनओसीको भावी अध्यक्षको रूपमा आफूलाई उभ्याएका जीवनराम एनओसीको अध्यक्ष भए भने यो खेलको एनओसी प्रवेशको ढोकामा लामो समयका लागि तगारो लाग्नेछ । यस्तो सम्भावना निकै बढी छ । जीवनराम र पीताम्बरको दुश्मनी पार्टीदेखि खेलकुदसम्म छताछुल्ल छ । यी दुई खेलाडी एमाले अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता ओली गुटका प्यादाका रूपमा चिनिन्छन् । उनीहरू एक–अर्कालाई सिध्याउन लामो समयदेखि युद्धरत रूपमा लागेका छन् । एक–अर्काको कमजोरीमाथि ‘मार’ हान्न अवसरको खोजीमा ढुकिरहेकाहरूले पेन्ट्राथलनको पनि तेजोबध गरे भने अन्यथा मान्नुपर्ने छैन । श्रेष्ठका हरेक चाललाई माथ दिन राखेपको सहयोगी बनेर आवरणमा देखिएका तिम्सिनाले राखेपकै काँधमा बन्दुक राखेर फड्काउने प्रायः निश्चित छ । श्रेष्ठसँग असन्तुष्ट राखेप यो कार्यमा तिम्सिनाको सहयोगी बन्नेछ भन्दा अतिसयोक्ति नहोला । तसर्थ साँढेजुधाई गर्नका लागि गठन गरिएको पेन्ट्राथलन सङ्घमा भोलि साकारको उपस्थितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा कसैको दुईमत होला ।
पेन्ट्राथलन सङ्घमा प्रकाशको आगमनसँगै एकलौटी तरिकाले ओलम्पिक कमिटीलाई हाँक्दै आएकाहरूको निदहराम भएको छ । ओलम्पिक सूत्रकै अनुसार यो सङ्घ गठन हुनुलाई ओलम्पिक छिर्ने ढोकाको रूपमा वर्णन गरिएको छ । अमेरिकी डलरमा कुस्त भत्ता खाने सुविधाभोगी सङ्घको रूपमा चित्रित गरिएको छ । यसबाट के अन्दाज लगाउन सकिन्छ भने एनओसीका पदाधिकारी अमेरिकी डलरमा भत्ता खान्छन् र विदेश सयर गर्छन् भनेर । अर्को कुरा, उनीहरू खेलकुद र खेलाडीको विकासभन्दा व्यक्तिगत विकासमा लागेको प्रस्ट हुन्छ । अन्यथा एउटा खेलकुद सङ्घ गठन हुँदा उनीहरूको टाउको अवश्य दुःख्ने थिएन । सङ्घ खोल्ने र त्यसमा बस्ने अधिकार आमनेपालीलाई छ भने साकार बस्दा किन यत्रो सन्त्रास त ? कुरा स्पष्ट छ, आफूले खाइपाई आएको खोसिने डर र भयले उनीहरू छटपटिएका हुन् । तर, उनीहरूलाई वनको बाघले नखाए पनि मनको बाघले खाएको पीडा र छटपटी अहिले हेर्नलायक भएको छ जुन गत साता सार्वजनिक रूपमा छरपस्ट भइसकेको छ ।
अब कल्पना गरौँ, तिम्सिनाको रणनीति सफल भयो र साकाररूपी प्रकाश एनओसीमा प्रवेश गरे के होला ? सर्वप्रथम महासचिव जीवनरामको पत्तासाफ हुनेछ भने त्यसपछि उनका हनुमानहरूको । यसर्थमा कि उनीहरूलाई समाप्त गर्नमा तिम्सिनाको नेतृत्वदायी भूमिका रहनेछ । एक–अर्कालाई सिध्याउने खेलमा लागेका तिम्सिनाले प्रकाशको उपस्थितिलाई क्षेप्यास्त्रको रूपमा प्रयोग गर्नेछन् । जीवनराम र उनका हनुमानहरूलाई समाप्त नपारुन्जेल उनको कोसिस जारी रहनेछ । प्रकाश सियो भएर एनओसीमा प्रवेश गर्ने र फाली भएर निस्कने प्रायः निश्चित छ । यसैका लागि उनी सङ्घमा पनि आएका हुन् भन्दा फरक नपर्ला । सदस्यसचिव युवराज लामाले एनओसीमा नजाने पटकपटक घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा माओवादीको तर्फबाट पहिलो विकल्प भनेकै प्रकाश हुनेछन् । प्रकाशको नेतृत्वमा माओवादीको डफ्फा एनओसीमा प्रवेश गर्ने र विभीषणको भूमिकामा तिम्सिना देखिने प्रायः निश्चित छ ।

खेल समाचारहरू

दोस्रो विद्यालय खेलकुद मङ्सिरमा
विद्यालय खेलकुद विकास बोर्डको दशौँ बोर्ड बैठकले आर्थिक वर्ष ०७०/७१ मा गर्ने कार्यक्रमहरूबारे विभिन्न निर्णय गरेको छ । जसअनुसार आगामी मङ्सिरमा दोस्रो विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा थुप्रै विद्यालयको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । समावेश गरिने खेलको सन्दर्भमा २ (दुई) जना प्राविधिक र हिसान, प्याब्सन, एन. प्याब्सनका एक–एकगरी पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको सिफारिसमा जिल्ला, क्षेत्र र राष्ट्रिय गरी विद्यालय खेलकुदका खेलहरू समावेश गरिने भएको छ ।
बोर्डले खेलकुद अतिरिक्तबाट अनिवार्य भइसकेकाले हिसान, प्याब्सन, एन. प्याब्सन र सामुदायिक विद्यालय त्यसका सरोकारवालाहरू भएको बताउँदै राखेप र खेलकुद मन्त्रालयको सहयोगमा उक्त अतिरिक्त क्रियाकलापलाई अनिवार्य विषयका रूपमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रत्येक विद्यालयमा खेलकुदको विकास गर्ने उद्देश्यले कम्तीमा एक विद्यालय एक खेलशिक्षकको अनिवार्य व्यवस्था गर्ने निर्णय गरेको छ । खेलकुदको विकास गर्न हाललाई एउटै भए पनि नमुनाका रूपमा खेलकुद विद्यालयको अवधारणालाई यसै वर्षदेखि आवश्यक पहल गर्ने निर्णय गरिएको छ । यसैगरी दोस्रो विद्यालय खेलकुदमा उत्कृष्ट खेलाडीलाई छुट्टै विद्यालयस्तरमा राष्ट्रिय टिम बनाउने निर्णय गरिएको छ । त्यस्तै, सम्पूर्ण विद्यालयस्तरका कार्यक्रमलाई व्यापक सहभागिता र त्यसको कार्यान्वयन तल्लो तहदेखि गराउन अभिमुखीकरण कार्यक्रमअन्तर्गत भदौ दोस्रो सातादेखि आयोजना गर्ने निर्णय गरिएको छ ।
राखेपले नेपाली खेलकुदको बृहत् रूपान्तरण गर्न र जगैदेखि समग्र खेलकुदको विकास गर्ने उद्देश्यले आजभन्दा १० महिनाअघि विद्यालय खेलकुद विकास बोर्डको गठन गरेको थियो । बोर्डले छोटो समयमा प्रथम राष्ट्रिय विद्यालय खेलकुद २०६९ (जुनियर च्याम्पियनसिप) सम्पन्न गर्न सफल भएको थियो । शिक्षा र खेलकुद सँगसँगै जानुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै राखेपले हिसान, प्याब्सन, एन. प्याब्सन, सामुदायिक विद्यालयहरू, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय एकै थलोमा उभिएका हुन् ।

छोराले बाबु हराए
अमृत थापाले दोस्रो एनएसआरए राष्ट्रिय खुला स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको उपाधि भिडन्तमा अमृतले डिफेन्डिङ च्याम्पियन बाबु हीराबहादुरलाई ३–१ को सेटमा पाखा लगाएका थिए । बेस्ट अफ फाइभको पहिलो सेट ३–११ ले गुमाएका अमृतले त्यसपछिका लगातार तीन सेटको नतिजा आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाएका थिए । लगातार तीन सेट जित्ने क्रममा अमृतले १२–१०, ११–४ र ११–७ को प्रदर्शन गरे । बाबु/छोरा उपाधिका लागि भिडेको यो दोस्रोपटक हो । यसअघि गत असोजमा विश्व स्क्वास दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी स्क्वासको पुरुष एकलको फाइनलमा पनि अमृतले हीरालाई हराएका थिए । विजयसँगै अमृतले पाँच, हीराले तीन तथा तेस्रो हुनेद्वयले दुई–दुई हजार नगद पुरस्कार प्राप्त गरेका थिए । जुनियर ब्वाइज एकलको उपाधि पनि अमृतकै नाममा रह्यो । डिफेन्डिङ च्याम्पियन अमृतले फाइनलमा अर्हान्तकेशर सिंहलाई १२–१०, ११–६ र ११–४ ले निराश पार्दै दोहोरो उपाधि जितेका थिए । सोही स्पर्धाको गल्र्समा विपना ब्लोन शीर्ष स्थानमा रहिन् । विपनाले मन्जिला आलेमगरको चुनौती ११–७, ९–११, ११–५ र ११–३ ले समाप्त पारेकी थिइन् । नेपाल स्क्वास -याकेट्स सङ्घको आयोजना तथा क्यापिटल ग्रिल प्रा.लि. को मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा अमृतकी दिदी कृष्णा महिला एकल च्याम्पियन बनिन् । कृष्णाले फाइनलमा विपना ब्लोनलाई पराजित गरेकी थिइन् । मास्टर्स ४५ वर्षमाथि सुदीपबहादुर, प्लेटतर्फ मास्टर्स ४५ वर्षमाथि किशोर महर्जन, पुरुष एकलतर्फ लोकेन्द्रमानसिंह भण्डारी तथा जुनियर ब्वाइज एकलमा आकाश सुनुवार पहिलो भए । समग्रमा अर्हान्तकेशर सिंह, यू–१५ मा दीपक थापा तथा यू–१३ मा आकाश सुनुवार उदीयमान खेलाडी चुनिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा तथा स्क्वास सङ्घका अध्यक्ष भूषणकृष्ण श्रेष्ठले पुरस्कृत गरेका थिए ।

रक्षा डोजाङलाई टप माउन्टेनको सहयोग
हङकङमा रहेको टप माउन्टेन तेक्वान्दो एसोसिएसनले रक्षा तेक्वान्दो डोजाङलाई चालीस हजार रुपैयाँबराबरको खेलकुद सामग्री सहयोग गरेको छ । सो खेलकुद सामग्री राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले रक्षा डोजाङका अध्यक्ष अशोक खड्कालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि युवराज लामाले भविष्यमा रक्षा डोजाङलाई भौतिक वा आर्थिक सहयोग चाहिएको खण्डमा कुनै पनि बेला सहयोग गर्न आफू तत्पर रहेको बताएका थिए । सदस्यसचिव लामाले टप माउन्टेन तेक्वान्दो एसोसिएसनले रक्षा तेक्वान्दोलाई खेलकुद सामग्री सहयोग गरेकोप्रति आभार व्यक्त गर्दै भने, ‘कुनै पनि व्यक्ति वा संस्थाले नेपालको तेक्वान्दो विकासका लागि कुनै पनि डोजाङलाई सहयोग गर्न चाहेको खण्डमा सङ्घ वा राखेपको स्वीकृति लिइरहन पर्दैन ।’ कार्यक्रममा तेक्वान्दोका पूर्वप्रशिक्षक नन्दकुमार राईलाई सम्मान गरिएको थियो । रक्षा तेक्वान्दो डोजाङका बाबबालिकाले तेक्वान्दो गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले यौनजन्य हिंसामा परेका बालबालिकाको आत्मबल बढाउन र आत्मरक्षाका लागि रक्षा डोजाङ स्थापना गरेको बताइन् । कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्काले गरेका थिए । खड्काले रक्षा नेपालमा आश्रित बालबालिकालाई भविष्यमा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी बनाउने प्रण गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका प्रशिक्षक अर्जुनबहादुर विक, सङ्घकै केन्द्रीय सदस्यद्वय हरिश्वर पोखरेल एवम् दीपेन्द्र पोखरेल, काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष कविराज खड्गी, सहायक प्रशिक्षकहरू दिनेश श्रेष्ठ, रवीन्द्र मल्ललगायत विभिन्न डोजाङका प्रमुखको उपस्थित थियो ।

मध्यमाञ्चललाई राष्ट्रिय किकबक्सिङको उपाधि
मध्यमाञ्चलले प्रथम राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको उपाधि जितेको छ । पाँच विकास क्षेत्र सहभागी प्रतियोगितामा मध्यमाञ्चलले सर्वाधिक ११ स्वर्ण, २ रजत र १ कास्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको थियो । राष्ट्रिय किकबक्सिङ सङ्घ नेपालद्वारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, चार रजत र तीन कास्यसाथ मध्यपश्चिमाञ्चल दोस्रो भयो । त्यस्तैै तेस्रो स्थानमा रहेको पूर्वाञ्चलले एक स्वर्ण, चार रजत र ५ कास्य हात पारेको थियो । प्रतियोगिताको अन्तिम दिन फुलकन्ट्याक्टअन्तर्गत पुरुषको ६५ केजीमा मध्यमाञ्चलका दिवस श्रेष्ठले स्वर्ण जितेका थिए । दिवसले लाइटकन्ट्याक्टको ६५ केजीमा पनि स्वर्ण हात पारेपछि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए । दोहोरो स्वर्ण जितेबापत दिवसले १० हजार नगद पुरस्कार पाए । फुलकन्ट्याक्टको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०, पाँच र दुई हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजेतालाई सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, आयोजक सङ्घका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा फुलकन्ट्याक्ट, सेमिकन्ट्याक्ट र लाइटकन्ट्याक्टमा ९५ पुरुष र २५ महिलासहित एक सय २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

टेबलटेनिस खेलाडीको बरियता निर्धारण
दोस्रो राष्ट्रिय टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताबाट शीर्ष १६–१६ स्थानका पुरुष/महिला खेलाडीको बरियता निर्धारण गरिएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा एपीएफका पुरुषोत्तम बज्राचार्यले नेपाल प्रहरीका अजय सुवाललाई पराजित गरेका थिए । जितसँगै तेस्रो स्थानमा रहेका पुरुषोत्तम दुई स्थान सुधार्दै शीर्ष स्थानमा उक्लिए । शीर्ष स्थानका नेपाल च्याम्पियन अजय सुवाल दोस्रोमा झरे । तेस्रो स्थानका लागि भएको खेलमा प्रहरीका दीप सावनले एपीएफका शिवसुन्दर गोथेलाई पाखा लगाएका थिए । दीप यसअघि दोस्रो स्थानमा थिए । शिव चौथोमा यथावत् छन् । पाँचौँदेखि १६औँ बरियता प्राप्त गर्ने खेलाडीमा क्रमशः अमरलाल मल्ल, मणिकुमार लामा, रन्जितसिंह रायमाझी, विनेश खनियाँ, सुनील महर्जन, पीयूश अवाल, अभयराज श्रेष्ठ, चन्दन शाही, प्रदीप रोका, सन्तोष काफ्ले, गणेश तामाङ तथा निहाल श्रेष्ठ छन् ।
अखिल नेपाल टेबलटेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला एकलको फाइनलमा कास्कीकी काजोल रौनियारलाई सीधा सेटमा हराउँदै राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठ शीर्ष स्थान जोगाउन सफल भएकी छिन् । काजोल आफ्नो बरियतामा व्यापक सुधार गर्दै १०औँ स्थानबाट छैटौँ स्थानमा उक्लेकी थिइन् । छैटौँ स्थानकी भक्तपुरकी रीता प्रजापति प्रहरीकी एरिका महर्जनको चुनौती समाप्त पार्दै तेस्रो स्थानमा उक्लेकी थिइन् । यसभन्दा अगाडि शीर्ष १६ मै नपरेकी प्रहरीकी स्वेच्छा नेम्वाङले पाँचाँै बरियता हासिल गरेकी छिन् । त्यस्तै, सेलिशा खड्गी, एलिना महर्जन, सुनिता लामा, रेश्मा रसाइली, स्वीकृति श्रेष्ठ, सोनु थापामगर, मनिता चित्रकार, रविना देशार, रविना महर्जन, गीता भुजेल तथा निकिता ख्वाजुले क्रमशः छैटौँदेखि १६औँ बरियता पाएका थिए । यसअगाडि रविना देसार दोस्रो तथा एलिना महर्जन तेस्रो स्थानमा थिए । खेलाडी बरियता र राष्ट्रिय टिम तयार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ६४ खेलाडीले लिग कम नकआउटका आधारमा तीन दिनसम्म प्रतिस्पर्धा गरेका थिए ।

उसुमा नेपाललाई थप दुई कास्य
सातौँ एसियाली जुनियर उसु च्याम्पियनसिपमा नेपालले आइतबार थप दुई कास्य जितेको छ । थाउलुतर्फ पुरुषको तुइलियन विधामा विशाल थापा सिञ्जाली र रिन्जी शेर्पाले एक–एक कास्य जितेको नेपाल उसु सङ्घका सचिव प्रताप थापाले जनाएका छन् । योसहित उक्त प्रतियोगितामा नेपालको पदकसङ्ख्या तीन पुगेको छ । अघिल्लो दिन विशालले नै थाउलोतर्फ नान छ्वान स्पर्धामा कास्य पदक जितेका थिए । जुनियर एसियाली च्याम्पियनसिपमा नेपालले पदक जितेको यो पहिलोपटक हो ।

क्यारिनालाई ह्यान्डबल उपाधि
तीर्थ–मीना स्मृति बज्राचार्य खुला छात्रा ह्यान्डबलको उपाधि क्यारिना इन्टरनेसनल एकेडेमीले जितेको छ । फाइनलमा क्यारिनाले अक्सफोर्ड उमाविलाई पराजित गरेको थियो । नाम्स स्कुलले तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा सात टिम सहभागी थिए । प्रतियोगिता नेपाल विद्यालय ह्यान्डबल सङ्घका महासचिव विराटमान बज्राचार्यका माता–पिताको स्मृतिमा आयोजना गरिएको हो । त्यस्तै ह्यान्डबल एट स्कुल कार्यक्रमअन्तर्गत अक्सफोर्ड उमाविद्वारा सञ्चालित विद्यालयस्तरीय छात्र ह्यान्डबलमा वृहस्पति विद्या सदन पहिलो भएको थियो । फाइनलमा वृहस्पतिले अक्सफोर्डलाई १८–७ गोलअन्तरले पराजित गरेको थियो ।