‘यु टर्न’ गर्दै स्वेच्छिक अवकाश रोज्ने कर्मचारी

‘यु टर्न’ गर्दै स्वेच्छिक अवकाश रोज्ने कर्मचारी


सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार सचिव डा. सरोज पोखरेल र सन्तु कोइरालासहित ६ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी पनि रहेका छन् । प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए ।

एकैपटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले सरकारले अवकाश फिर्ता लिने निर्णय गरेको हो ।

मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको थियो ।