अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालद्वारा क्लीन स्वीप

अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालद्वारा क्लीन स्वीप


नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ ।

टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए । आसिफले टी-२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै, अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए ।

यसैगरी, अमेरिकाका बलर जुआनोय ड्राइसडा र जसदीप सिंहले एक/एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन र मिलिंद कुमारले ४३ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक/एक विकेट लिएका थिए ।

योसँगै नेपालले तीन खेलको सिरिज ३-० ले जितेको छ । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो ।

नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्नेछ ।