सवारी दुर्घटनाबाट नवलपुरमा वर्षदिनमै ६३ को मृत्यु

सवारी दुर्घटनाबाट नवलपुरमा वर्षदिनमै ६३ को मृत्यु


– रमेश बस्ताकोटी, नवलपुर

बितेको एक वर्षमा नवलपुरमा सवारी दुर्घटनामा परी ६३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा ६३ जनाले ज्यान गुमाउनुका साथै ८७ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा जना ५३ पुरुष र ६ जना महिला तथा चार बालबालिका रहेका ट्राफिक प्रहरीको भनाई छ ।

आर्थिक वर्ष ०७३/७४ मा भन्दा यो संख्या ७१ ले कमी हो । अघिल्लो वर्षमा १३४ जनाले नवलपुरमा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका थिए । आर्थिक वर्ष ७३÷७४ मा १४३ जना घाइते भएको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ । जिल्ला ट्रफिक प्रहरी कार्यालयका हवल्दार पदमप्रसाद बडुका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा जम्मा १६६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । तीमध्ये ३१ वटा ट्रक, २१ वटा बस, १४ वटा जिप–कार, १२ वटा ट्याक्टर, ७३ वटा मोटरसाईकल र १७ वटा अन्य सवारी साधन दुर्घटनामा परेका हुन् । चालु आर्थिक वर्षको साउन १५ गतेसम्म नवलपुरमा सवारी दुर्घटनामा परी दुईजनाले ज्यान गुमाइसकेका छन् भने ५ जना घाइते भएका छन् ।

ट्रफिक प्रहरीले सवारी साधन न्युनीकरणका लागि प्रयासहरू गरिरहेपनि अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । जिल्ला ट्रफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्मण शाहीले सवारी साधन दुर्घटनको न्युनिकरणको प्रयास भईरहेको बताउनुभयो । उहाले आवश्यक जनशक्ति पर्याप्त नहुँदा भनेजति काम गर्न नसकेको बताउनुभयो । सवारी दुर्घटना न्युनीकरणका लागि विभिन्न कार्यक्रम आयोजना गरिने उहाँको भनाई छ ।