पाँच नेताको बेग्लै दाउ

पाँच नेताको बेग्लै दाउ


othernewsनेकपा–माओवादीको बहुचर्चित पोखराबैठकले ‘जनविद्रोहको जगमा जनयुद्धमा जाने’ कार्यनीति पारित गरेको भए पनि उक्त पार्टीका केही प्रभावशाली नेता चुनाव उपयोगकै पक्षमा रहेको जानकारी प्राप्त भएको छ । सम्बद्ध सूत्रले जनाएअनुसार नेताहरू सीपी गजुरेल, रामबहादुर थापा बादल, देवप्रसाद गुरुङ, पम्फा भुसाल र हितमान शाक्य चुनाव उपयोगको पक्षमा छन् । तर, पार्टी नीतिविपरीत जान सक्ने अवस्थामा भने उनीहरू नरहेको बताइन्छ । त्यसैले ३३ दलको कभरमा भए पनि चुनावमा भाग लिनु उपयुक्त हुने धारणा ती नेताहरूले बनाएका छन् । ज्ञातव्य छ, नेकपा–माओवादीले निर्वाचन आयोगमा आफूलाई दर्ता गराएको छैन । निर्वाचनमा सहभागी नहुने अठोटकै कारण माओवादीले दल दर्ता नगराएको स्वतः बुझिन्छ । माओवादीका जुझारू नेता नेत्रविक्रम चन्द विप्लव जो पार्टीको मेरुदण्ड मानिन्छन्, उनले आवश्यक परे सशस्त्र युद्धमा जाने योजना बनाइरहेको बुझिएको छ । तर, सीपी गजुरेलदेखि हितमान शाक्यसम्मका नेताहरूमा सुविधाभोगी प्रवृत्ति बढेको र नेत्रविक्रम चन्दलाई कमाण्डर बनाएर युद्धमै गए पनि आफूहरूको हैसियत वृद्धि नहुने देखिएपछि उनीहरूले खुट्टा कमाउन थालेको अनुमान पार्टीको क्रान्तिकारी पङ्क्तिले गरेको छ । समाचार स्रोतको भनाइ छ– कामरेड गजुरेल, का. बादल, का. पम्फा भुसाल, का. हितमान र का. देव गुरुङहरूको पेटमा बोसो पलाइसकेको छ, उहाँहरू शहर छोडेर फेरि पनि गाउँ पस्न डराउनुको कारण त्यही बोसो हुनसक्छ । तर, उनीहरू अघिबढे पनि नबढे पनि पार्टी अब अघि बढ्छ ।’ उनले भने, ‘निर्वाचनको सक्रिय बहिष्कार मात्र गरिँदैन, अब सशस्त्र युद्धको आधार पनि खडा हुन्छ र अबको युद्ध राष्ट्रियताको निमित्त हुनेछ ।’

अमरेशले भोज खुवाउँदा गोलमेच भङ्ग
नेपाली काङ्गे्रसका युवा नेता एवम् पूर्वसांसद अमरेशकुमार सिंहले नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई दिनुभएको बिदाइ भोजले राजनीतिक वृत्तमा यो साता निकै ठूलो चर्चा पायो । उक्त भोजलाई कतिपयले हुनै लागेको ‘गोलमेच सम्मेलन’ भाँड्नका लागि रचिएको विशेष बैठकका रूपमा पनि परिभाषित गरेका छन् । तर, प्राप्त जानकारीअनुसार सो भोज गैरराजनीतिक तवरमा गरिएको थियो र त्यस अवसरमा नेकपा–माओवादी तथा गोलमेच सम्मेलनबारे कुनै कुराकानी भएका थिएनन् । गत शुक्रबार (भदौ ७ गते) साँझ नेता सिंहले नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका भारतीय राजदूत जयन्त प्रसादलाई भैंसेपाटीस्थित आफ्नै निवासमा एक बिदाइ भोज दिनुभएको थियो । सो अवसरमा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, काङ्गे्रस नेता शेरबहादुर देउवा, काङ्गे्रस महामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री माधव घिमिरे, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रती, प्रधानसेनापति गौरवशमशेर जबरा, प्रहरी महानिरीक्षक कुवेरसिंह राना, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, जनरल पवनबहादुर पाँडे तथा भारतीय राजदूतावासका डीसीएम जयदीप मजुमदारसमेतलाई आमन्त्रण गरिएको थियो र भोजमा उहाँहरू सबैको उपस्थिति थियो ।
आमन्त्रण गरिएको भए पनि काङ्गे्रस सभापति सुशील कोइराला सो भोजमा सरिक हुनुभएन । तर, भोजमा नेकपा एमाले र मधेसकेन्द्रित दलहरूका कुनै पनि नेतालाई आमन्त्रण गरिएको थिएन । बरु सेनापति राणा, महानिरीक्षक कुवेर राना र राजदूत जयन्त प्रसाद आ–आफ्ना पत्नीसहित भोजमा सहभागी भएका थिए । निर्वाचन, राजदूत जयन्तको कार्यकालमा भएका काम र स्वयम् अमरेशकुमारको पारिवारिक जीवनबारे त्यहाँ गफ चले पनि नेकपा–माओवादी र गोलमेच सम्मेलनबारे कुनै कुराकानी नभएको सम्बद्ध सूत्रले जनाएको छ । तर, राजधानीमा सोही भोजपछि गोलमेचमा जाने सहमति तुहाइएको भनी व्यापक प्रचारबाजी भइरहेको छ । जुन भोजको कार्यक्रम १५ दिनअघि नै तय भएको थियो भने गोलमेचमा जाने सहमति भोजको दुई दिनअघि मात्र भएको थियो

राजस्वको लोभमा देश कुरूप बनाइँदै
राजस्वको लोभमा राज्यले सवारीसाधान आयातलाई प्रोत्साहन गर्दा देशको शहरी क्षेत्र र राजमार्गहरू कुरूप बन्दै गएका छन् । सडक विस्तार तथा सुधारतर्फ सरकारले ध्यान नदिएर सवारीसाधन मात्र भित्र्याउने नीति लिएपछि देशमा यतिबेला पन्ध्र लाख साठी हजारभन्दा बढी सवारीसाधन शहर र सडकलाई अस्तव्यस्त बनाउँदै गुडिरहेका छन् ।
पछिल्लो समयमा सबैभन्दा सजिलै र धेरै राजस्व सवारीसाधनबाट उठ्ने भएपछि सरकारले सवारीसाधन आयातलाई सजिलो बनाउँदै लगेको र सोही कारण यसको सङ्ख्यामा एक्कासि वृद्धि भएको हो । यातायात व्यवस्था विभागका अनुसार पछिल्लो समय मोटरसाइकल तथा कार किन्नेको सङ्ख्या बढिरहेको छ । तथ्याङ्कअनुसार अन्य सवारीसाधनको तुलनामा कार तथा मोटरसाइकलको सङ्ख्या झन्डै दश गुणाले बढी छ ।
सरकारले सवारी कर पनि सबैभन्दा बढी मोटरसाइकल र कार/जिप बाटै उठाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले भने, ‘अहिले यो मन्त्रालयको आम्दानीको मुख्य स्रोत नै सवारी कर भएको छ ।’ सबैभन्दा धेरै आम्दानीको स्रोत भएपछि यसको सङ्ख्या बढाउनेतिर सरकारको ध्यान जानु स्वाभाविकै भएको ती सहसचिवले बताए । यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल पनि राम्रो र धेरै राजस्व उठ्ने क्षेत्रहरूमध्ये सवारीसाधन पनि रहेकोले सरकारले यसको आयात खुकुलो नै पारेको बताउँछन् । उनका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सवारी कर २७ प्रतिशतले बढेको देखिन्छ । सवारीसाधनबाट आर्थिक वर्ष ०६९/७० मा मात्र सात अर्ब ७१ करोड ३८ लाखभन्दा बढी राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ६ करोड राजस्व उठेको थियो ।
सवारी खरिद इजाजत तथा सवारीचालक अनुमतिपत्र दस्तुरबाट ८६ करोड ३४ लाखभन्दा बढी आम्दानी भएको छ । ‘सबैभन्दा धेरै कर बागमती अञ्चल यातायात कार्यालयबाट उठेको जानकारी गराउँदै निर्देशक ढकालले भने, ‘बागमतीबाट मात्र चार अर्ब बढी राजस्व उठेको छ ।’ सबैभन्दा कम तीन करोड ५८ लाख राजस्व धौलागिरीबाट उठेको छ । सवारीसाधनबाट धेरै कर उठे पनि सडकको क्षमताभन्दा धेरै सवारीसाधन भएकोले निकै ठूलो समस्या देखिएको महानिर्देशक ढकालको भनाइ छ । उनका अनुसार गाडी खरिदसम्बन्धी सरकारी नीति अत्यन्तै कमजोर भएकोले समस्या देखिएको हो । ‘गाडी थपिएको थपिएकै छ, सडक विस्तार हुन सकेको छैन, त्यसैले समस्या देखिनु स्वाभाविकै हो,’ उनले थपे ।
यतिबेला शहरी क्षेत्र तथा राजमार्गमा गुड्ने मोटरसाइकलको सङ्ख्या मात्र १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या आर्थिक वर्ष ०६९/७० सम्मको मात्र हो । आर्थिक वर्ष ०४६/४७ सम्ममा नेपालमा चौंतीस हजार पाँच सयको हाराहारीमा मात्र मोटरसाइकल थियो । त्यसपछिका वर्षहरूमा वार्षिक दुई हजारको हाराहारीमा भित्रिने गरे पनि ०६२/६३ को आन्दोलनपछि नेपालमा सवारीसाधन भित्रिने सङ्ख्यामा अत्यधिक वृद्धि भई वार्षिक पचास हजारको हाराहारीमा पुगेको देखिन्छ । आर्थिक वर्ष ६६/६७ पछि त यो तथ्याङ्कमा पनि वृद्धि भई वार्षिक डेढ लाखका हाराहारीमा मोटरसाइकल भित्रिने गरेका छन् ।
मोटरसाइकलपछि दोस्रो नम्बरमा कार/जिप भित्रिने गरेका छन् । अहिले एक लाख ३८ हजार कार/जिप सडकमा गुड्छन् । यो सङ्ख्यामा पनि वृद्धि हुने क्रम बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सवारीसाधन खरिद गर्न सजिलै ऋण दिने भएकोले पनि मोटरसाइकल तथा कार/जिप खरिद गर्नेहरूको सङ्ख्या बढी देखिएको हो ।
नेपालमा प्रजातन्त्र उदय हुनुअघिसम्म अर्थात् आर्थिक वर्ष ०४६/४७ मा नेपालमा जम्मा ७६ हजार तीन सय ७८ वटा मात्र सवारीसाधन थिए । यसमा मोटरसाइकलको सङ्ख्या ३४ हजार मात्र थियो । त्यस्तै, बस सात सय ९७, मिनीबस एक हजार २८, ट्रक एक हजार पाँच सयवटा मात्र थिए । सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष ०६९/७० सम्ममा तीस हजार एक सय ३८ बस, पचास हजार एक सय ९१ क्रेन, डोजर एस्काभेटर/ट्रक, मिनीबस/मिनीट्रक १३ हजार तीन सय सात, टेम्पो, सात हजार पाँच सय, माइक्रोबस २६ सयभन्दा बढी रहेका छन् ।
यातायात व्यवस्था विभागका अनुसार मेचीमा ४९ हजार १९, कोसीमा एक लाख ३६ हजार, सगरमाथामा २६ हजार छ सय पाँच, जनकपुरमा २६ हजार दुई सय ११, नारायणीमा तीन लाख ४५ हजार सात सय ३०, बागमतीमा ६ लाख ८८ हजार ९७, गण्डकीमा ७८ हजार एक सय तीन, धौलागिरीमा ३७ सय नौ, लुम्बिनीमा एक लाख ३७ हजार ४८, राप्तीमा १५ हजार सात सय ६३, भेरीमा ३२ हजार एक सय ४८, सेतीमा १४ हजार र महाकालीमा पाँच हजार आठ सय ४५ वटा सवारीसाधन छन् । यी सबै सवारीसाधन शहरी तथा राजमार्गमा एकैपटक निकाल्ने हो भने गुडाउन होइन राख्न पनि पर्याप्त स्थान पुग्दैन । नेपाल ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार नेपालका सडकमा प्रतिकिलोमिटर चार सयभन्दा बढी सवारीसाधन गुड्छन् । जब कि छिमेकी देश भारतमा प्रतिकिलोमिटर दुई सयको हाराहारीमा मात्र सवारीसाधन गुड्ने गर्छन् ।
सवारीसाधन धेरै हुनु तथा साँघुरो सडकका कारण सवारी दुर्घनाका सङ्ख्या पनि प्रत्येक वर्ष बढ्दै गएको महानगरीय ट्राफिक प्रहरीका कार्यालयका प्रवक्ता वसन्त पन्तले जानकारी दिए । पन्तका अनुसार आर्थिक वर्ष ०६९/७० मा मात्र चार हजार सात सय ७० वटा सवारीसाधन ठूला दुर्घटनामा परेका छन् भने आठ हजारभन्दा बढी सवारीसाधन सामान्य दुर्घटनामा परेका छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा यही अनुपातमा दुर्घटना भएका थिए । यी सवारीसाधन दुर्घटनामा हुनुमा धेरै सवारीसाधन हुनु, चालकको लापरबाही, साँघुरो तथा खराब सडक हुनुजस्ता प्रमुख कारण रहेको पन्तको भनाइ थियो । सबैभन्दा धेरै दुर्घटनको सिकार मोटरसाइकल हुने गरेका छन् । राजधानीमा मात्र ६५ प्रतिशतभन्दा बढी स्थान मोटरसाइकले ओगट्ने गरेको जानकारी दिँदै पन्तले भने, ‘सानो चेपबाट पनि गुडाउन खोज्ने तथा ट्राफिक सङ्केतको उल्लङ्घन गरेर चलाएको मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् ।
युरोप–अमेरिकालगायत विकसित राष्ट्रहरूमा मोटरसाइकल गुडेको देखिँदैन भने अजरबैजानलगायतका कतिपय मुलुकले शहरमा मोटरसाइकललाई निषेध नै गरिदिएका छन् । छिमेकी मुलुक भारतले पनि आफ्ना प्रमुख शहरमा मोटरसाइकल गुडाउन प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । तर, नेपालमा मोटरसाइकल भित्रिने–भित्र्याउने कार्यलाई राज्यले नै प्रोत्साहन दिएर शहरी वातावरण बिगार्नुका साथै दुर्घटनाको कारण निम्त्याइरहेको देखिन्छ ।

एमाओवादीलाई उम्मेदवार छान्न सकस
आ–आफ्ना मानिसलाई उम्मेदवार बनाउन एकीकृत माओवादीका नेताहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । आफ्ना मानिसलाई उम्मेदवार बनाउन अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कस्सिएपछि एमाओवादीमा उम्मेदवार छनोटमा तीव्र प्रतिस्पर्धा देखिएको हो ।
उम्मेदवार छनोट, निर्वाचन घोÈण्ाँ र निर्वाचन रण्ँनीति तय गर्न केन्द्रीय समितिको बैठक बसे पनि शीर्ष नेताहरूले आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अड्डी कस्न थालेपछि पार्टीले सजिलै उम्मेवादर छनोट गर्न कठिन हुने स्थिति रहेको एक केन्द्रीय नेताले जानकारी दिए । स्रोतका अनुसार जनमोर्चाबाट एमाओवादी बनेका अमिक शेरचन, लीलामणि पोखरेललगायतका नेताहरूले आफूनिकट नेताहरूको नाम सिफारिस गरेका छन् । उनीहरूले आफूनिकट नेताहरूको नाम सफारिस गर्दै सिफारिसमा परेका नेताहरूको जिल्लामा राम्रो पकड रहेको तथा निर्वाचन जित्ने निश्चित रहेको दाबीसमेत गरेका छन् । साथै उनीहरूले आफूले सिफारिस गरेकाबाहेक अन्य व्यक्तिलाई पार्टीले टिकट दिए निर्वाचन जित्न मुस्किल पर्ने चेतावनीसमेत दिएका छन् ।
एमाओवादीका एक केन्द्रीय नेताका अनुसार पार्टीको निणर््ँयअनुसार दुई सय ४० निर्वाचन Ôेत्रमा पुगेर आएका केन्द्रीय नेताहरूले तयार गरेको नामावली तथा रिपोर्टिङसमेत अस्पष्ट रहेको भन्दै धेरै योग्य र निर्वाचन जित्ने व्यक्ति सिफारिसमा नपरेको गुनासोसहित नाम सच्याउन अध्यक्ष प्रचण्ड तथा बाबुराम भट्टराईसमक्ष निवेदनसमेत दिएका छन् । यसरी निवेदन दिनेमा नारायणकाजी श्रेष्ठ तथा जनमोर्चाबाट एमाओवादी बनेकाहरू छन् । यसैबीच जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन क्षेत्र पुगेर आएका प्रतिनिधिहरूले निर्वाचन क्षेत्रमा आफ्नो तथा अन्य पार्टीको पोजिसन, वैद्यमा गएका तथा उनीहरूले बनाएको सङ्गठन आदिका बारेमा बैठकमा जानकारी गराएका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा पार्टीको अवस्था निकै कमजोर रहेको र अहिलेकै अवस्थामा निर्वाचनमा गए खराब नतिजाको सामना गर्नुपर्नेसमेत बताएका थिए । उनीहरूले फेरि निर्वाचन क्षेत्रमा पुगेर चुनावी कार्यक्रम गरिनुपर्नेमा जोड दिँदै फेरि निर्वाचनकेन्द्रित अभियान चलाउनुको विकल्प नभएको जिकिर गरेका थिए ।
यसअघि गत सोमबार बसेको पूर्व स्थायी समिति र ब्युरो प्रमुखहरूको बैठकले पनि निर्वाचन क्षेत्रमा निर्वाचनकेन्द्रित कार्यक्रम गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । एमाओवादीले अहिलेकै अवस्थामा निर्वाचनमा सहभागी भएर निर्वाचन जित्न धेरैखाले चुनौतीसँग सामना गर्नुपर्ने ठहर गरेको छ । उनीहरूले पार्टीको आन्तरिक व्यवस्थापन, अव्यवस्थित विभिन्न समितिहरू तथा गुटबन्दीका कारण्ँ आन्तरिक व्यवस्थापन कमजोर भएकोले पनि लक्ष्यअनुसारको नतिजा नआउने निष्कर्ष निकालेका छन् ।

पाल्पामा काङ्गे्रस–एमालेबीच प्रतिस्पर्धा
पाल्पामा यसपटक नेपाली काङ्गे्रसप्रति जनआकर्षण बढेको पाइएको छ । काङ्गे्रसप्रतिको आकर्षणमा भएको वृद्धिसँगै आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या पनि बढेको छ । विगतमा एमाले बलियो रहेको पाल्पा क्षेत्र नं. एकमा एमालेले यसपटक पनि आफूहरू नै विजयी बन्ने विश्वास राखेको छ । क्षेत्र नं. एकमा एमालेका दलबहादुर राना र राधाकृष्ण कँडेल बलिया उम्मेदवार मानिन्छन् । एमाओदीको स्थापित नेता कोही नभएको सो क्षेत्रमा नेपाली काङ्गे्रसका देवराज ढकाल ज्ञानबहादुर गाहामगर, दानबहादुर पछाई र रमण थापा उम्मेदवारीको निम्ति प्रतिस्पर्धा गर्दै छन् । चर्चामा आएका नाममध्ये देवराज ढकाल र दानबहादुर राना बढी प्रभावकारी देखिएका छन् । क्षेत्र नं. दुईमा नेपाली काङ्गे्रसका राजनप्रसाद पन्त यसअघिका दुई निर्वाचनमा पराजित भएका थिए । यसपटक बलिया उम्मेदवारका रूपमा वीरबहादुर राना देखिएका छन् । रानापछिको बलियो उम्मेदवारमा फेरि पनि राजन पन्त नै मानिन्छन् । उक्त क्षेत्रमा काङ्गे्रसका रामेश्वर पन्थी, माधव नेपाल र यमलाल तिमिल्सिनाले पनि उम्मेदवार बन्ने चाहना राखेका छन् । सो क्षेत्रमा नेकपा एमालेका सोमप्रसाद पाण्डे, ठाकुर गैरे र झपेन्द्र जीसीमध्ये एकले पार्टीको टिकट पाउने सम्भावना छ भने एमाओवादीका राजेन्द्र श्रेष्ठ, मथुरा ढकाल, चक्रब्युह थापा र नेत्र थापा उम्मेदवारीका निम्ति चर्चामा आएका छन् । यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुनसक्ने देखिएको छ । त्यसैगरी क्षेत्र नं. तीनमा काङ्गे्रसका स्थायी उम्मेदवार हरिप्रसाद नेपाल र युवा नेता विमल ढकाल उम्मेदवारीको प्रतिस्पर्धामा सबभन्दा अगाडि देखिएका छन् । सो क्षेत्रमा विधान श्रेष्ठ र भूषण राजलवटलाई पनि सम्भाव्य उम्मेदवारका रूपमा लिइएको छ । तर, विमल ढकालले उम्मेदवारी पाएमा काङ्गे्रसका निम्ति सहज हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ । सोही क्षेत्रमा हालै मात्र काङ्गे्रस प्रवेश गर्नुभएका रामेश्वर खनालको पनि चर्चा आरम्भ भएको छ । तर, काङ्गे्रस कार्यकर्तामाझ खनालको प्रभाव परिनसकेको हुनाले सो क्षेत्रमा विमल ढकाल नै बलिया उम्मेदार हुनसक्ने ठानिएको छ । नेकपा एमालेका कुलप्रसाद नेपाल, चर्चित पत्रकार शम्भु श्रेष्ठ, यादवबहादुर रायमाझी, नारायण जीसी, धनेन्द्र घिमिरे र ओमबहादुर घर्ती थापा उक्त क्षेत्रमा सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका छन् । त्यहाँ शम्भु श्रेष्ठ र कुलप्रसाद नेपाललाई बलिया उम्मेदवारका रूपमा लिइएको छ । एनेकपा माओवादीका राजेश श्रेष्ठ र नेत्र पाण्डेमध्ये एकले पार्टीको तर्फबाट उम्मेदवारी पाउन सक्ने बताइएको छ । तीन नम्बर क्षेत्रमा एमाओवादीको स्थिति धेरै कमजोर रहेकोले काङ्गे्रस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुन देखिएको छ ।

राम्रा मानिसहरू काङ्गे्रस रोज्दै
अराजकता र आवारागिरीमा विश्वास गर्नेहरूको रोजाइ एमाओवादी बनिरहेका बेला देशका विद्वत् एवम् प्रतिष्ठित समुदायका ख्यातिप्राप्त व्यक्तिहरूले भने नेपाली काङ्गे्रस रोजेका छन् । पूर्वगभर्नर एवम् अर्थविद् डा. तिलक रावलबाट सुरु भएको यो क्रम बहुचर्चित पूर्वअर्थसचिव रामेश्वर खनालसम्म आइपुगेको छ । यसअघि देशका सुप्रसिद्ध कवि श्रवण मुकारुङ काङ्गे्रस प्रवेश गर्नुभएको थियो भने निर्माण व्यवसायी सङ्घका अध्यक्ष जयराम लामिछानेले पनि काङ्गे्रस नै रोज्नुभएको छ ।
डा. तिलक रावलको काङ्गे्रस आगमनले मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा अत्यन्त सकारँत्मक प्रभाव परेको छ भने राष्ट्रव्यापी रूपमा काङ्गे्रसप्रतिको आकर्षण बढाउन यस घटनाले महत्र्वपूर्ण योगदान पु-याएको छ । पश्चिमनेपालका जनताले सक्षम र योग्य नेता पाएको महसुस गरेका छन् । अछाम, बर्दिया, कैलाली र बाँकेमा विशेष प्रभाव रहेको डा. रावललाई बर्दियाका काङ्गे्रस कार्यकर्ताले निर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन् । उहाँ बर्दियाको क्षेत्र नं. ३ बाट उम्मेदवार बनाइनुहुने सम्भावना छ । त्यस्तै गत सोमबार (भदौ १० गते) नेपाली काङ्गे्रस प्रवेश गर्नुभएका पूर्वअर्थसचिव रामेश्वर खनाललाई काङ्गे्रसले पाल्पाको क्षेत्र नं. ३ बाट उम्मेदवार बनाउने चर्चा सुरु भएको छ । तर, सो क्षेत्रमा पुराना नेता हरि नेपाल र जुझारु युवा विमल ढकालजस्ता व्यक्तिहरू उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेकोले खनाललाई अरू कुनै तरिकाले उच्च जिम्मेवारी दिइनेबारे विचार–विमर्श भइरहेको बताइन्छ । खनालको काङ्गे्रस प्रवेशले देशको प्रजातान्त्रिक आन्दोलनप्रतिको आस्था बढाएको महसुस धेरैले गरेका छन् । त्यसैगरी सुप्रसिद्ध कवि एवम् गीतकार श्रवण मुकारुङले काङ्गे्रस रोज्नुलाई पनि सानो घटनाका रूपमा लिइएको छैन । वामपन्थी खेमा ठहरै हुने स्तरको प्रभाव मुकारुङको काङ्गे्रस प्रवेशले पारेको छ । एक त राष्ट्रियस्तरको ख्यातिप्राप्त कवि त्यसमाथि जनजातीय पहिचानका श्रवण मुकारुङ काङ्गे्रस प्रवेश गर्नुभएपछि काङ्गे्रस मात्र सबैको साझा दल हो भन्ने सन्देश देशव्यापी रूपमा प्रवाहित हुन पुगेको छ । जिन्दगीको लामो समय वामपन्थी आन्दोलनमा बिताएका श्रवणले काङ्गे्रस रोजेपछि एमाओवादी अध्यक्ष प्रचण्ड यति आत्तिए कि उनले त्यत्तिकै ख्यातिप्राप्त व्यक्ति कोही छन् कि भनी बत्ती बालेर खोजे । यसक्रममा विख्यात सङ्गीतकार एवम् गायक बुलु मुकारुङलाई एमाओवादीले फेला पारे र उनीसँग सम्पर्क गरी एमाओवादी प्रवेश गरिदिन प्रचण्ड स्वयम्ले अनुरोध पनि गरे । बुलु मुकारुङ कुनै बहानाबाजी गरेर उम्किए, तर उनलाई एमाओवादी प्रवेश गराएर श्रवणले पु-याएको क्षतिपूर्ति गर्ने प्रचण्ड प्रयास भने अझै जारी रहेको बताइन्छ । श्रवण मुकारुङको ख्याति र लोकप्रियतालाई काङ्गे्रसले सदुपयोग गर्न सक्यो भने पार्टी र प्रजातान्त्रिक आन्दोलनलाई ठूलो लाभ पुग्ने सम्भावना छ । त्यसैगरी निर्माण व्यवसायी जयराम लामिछानेको पनि देशमा आफ्नै प्रकारको प्रभाव रहेको छ । लामिछानेको काङ्गे्रस प्रवेशले उद्यमी तथा व्यवसायीहरूका निम्ति काङ्गे्रसबाहेक अर्को कुनै घर सुरक्षित नहुने सन्देश दिएको छ । यसरी काङ्गे्रसमा कुनै जादुगर एवम् चमत्कारी नेता नभए पनि त्यस पार्टीले लिएको परिपक्व नीति र व्यवहारका कारण काङ्गे्रसप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको महसुस गर्न थालिएको छ ।

टुन्डा नेपालमा पक्राउ नपरेको प्रहरीको प्रस्टोक्ति
चरमपन्थी सङ्गठन लस्कर ए तोयबाका बम विशेषज्ञको रूपमा चर्चित अब्दुल करिम टुन्डाको पक्राउमा नेपाल प्रहरीको पनि सहयोग रहेको चर्चा चलिरहेको बेला नेपाल प्रहरीले भने टुन्डाको पक्राउमा आफ्नो संलग्नता नरहेको जानकारी दिएको छ । नेपाल प्रहरीले टुन्डाको पक्राउ नेपालबाट नभएकोसमेत स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले नेपाल र भारतको सीमाक्षेत्र बनवासाबाट प्रक्राउ परेका भनिएका टुन्डाका विषयमा नेपाल प्रहरीको कुनै संलग्नता नरहेको जानकारी दिनुभयो । प्रवक्ता सिलवालले टुन्डाले नेपाली एयरपोर्ट प्रयोग गरेको आधार र सम्पर्कबारे जानकारी नभएकोसमेत प्रस्ट्याउनुभयो । डीआईजी सिलवालले छिमेकी मुलुकमा आतङ्ककारी गतिविधि गरेर कुनै पनि व्यक्ति नेपालमा आएर बस्ने सवाल नरहेको र यस्ता टीका–टिप्पणी निराधार रहेका दाबी गर्नुभयो । उहाँले भारतमा आपराधिक गतिविधि गरेर अपराधी नेपालमा बस्न नसक्ने जिकिर गर्नुभयो ।

प्रहरीको भर्ना प्रक्रिया पारदर्शी रहेको दाबी
प्रहरीको भर्ना प्रक्रियामा प्रहरीहरू नै अनुत्तीर्ण भएको हल्लाले प्रहरीभित्रै पनि खलबली मच्चिरहेको बेला नेपाल प्रहरीका मानव संसाधन विभाग प्रमुख गंगा पाण्डेले प्रहरी स्वयम् अनुत्तीर्ण हुनुमा प्रहरी सेवामा प्रवेशपछि उनीहरूको स्वास्थ्य र फिटनेस समस्या रहेको तर्क गर्नुभएको छ । लोकसेवा आयोगले नयाँ २०बँुदे मापदण्ड लागू गरेका कारण त्यसमा कोही समावेश हुन नसकेको उहाँले बताउनुभयो । पाण्डेले नेपाल प्रहरीमा जारी भर्ना प्रक्रिया पारदर्शी रहेको दाबी गर्नुभयो ।
छनोट प्रक्रिया पारदर्शी बनाउने सवालमा नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता जाहेर गर्नुभएको छ । विगतका प्रहरी भर्ना प्रक्रियामा नेपाल प्रहरीभित्रैबाट मिलेमतोमा छनोट गरिने गरेको आलोचना आएको थियो । भर्ना हुन पुग्ने परीक्षार्थी आफैँ पनि पैसा पेल्न सकिए छनोट हुन सकिने अन्यथा निराश हुनुपर्ने भन्दै दलाल खोज्न लागिपर्ने तर अहिले प्रहरीले पारदर्शी बनाउन लोकसेवा आयोग र मिडियालाई प्रयोग गरेको छ । यसले प्रहरीभित्रको अनियमितता केही कम हुने सङ्केत भने देखिएको छ । परिणामका लागि भने भविष्य नै कुर्नुपर्ने एक टिप्पणीकर्ताको कथन छ । नेपाल प्रहरीले भर्ना छनोटको प्रक्रिया हाल जारी रहेको भन्दै पाण्डेले घुमाउरो पारामा प्रहरीको मनोबल घट्नेगरी समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
यसैबीच, देशभरका विभिन्न स्थानमा पछिल्लो समय बाहिर आएका महिला हिंसाका घटनामा प्रहरीले उच्च प्राथमिकताका साथ आफ्ना कामकारबाही अघि बढाएको नेपाल प्रहरीले दाबी गरेको छ । प्रहरीले महिलामाथिको अपराधलाई ध्यान दिएर हेरिरहेको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालले अनुसन्धानका क्रममा रहेको र कतिपयलाई हिरासतमा लिइएको जानकारी दिनुभयो । उहाँले महिलाबाट आएको हरेक उजुरीलाई प्रहरीको हरेक निकायले गम्भीर रूपमा छानबिन गर्ने जिकिर गर्नुभयो । महिला हिंसाविरुद्ध विभिन्न सङ्घ–संस्थाले निरन्तर आवाज उठाइरहेकाले अहिले नेपालको कुना–कुनाबाट पनि महिला हिंसाको उजुरी पर्न थालेको छ । विगतमा महिला हिंसालाई समाजमै मिलाउने प्रयास गरिने र त्यबाट महिलाले न्याय नपाउने उदाहरण थिए । तर, अहिले नेपाल प्रहरीले महिला हिंसा र यौन दुव्र्यवहारको केसमा दुई पक्षलाई मिलाउनभन्दा पनि पीडितलाई न्याय दिनुपर्ने सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीको यो कदमले मुलुकमा बढ्दो महिला हिंसाका घटनामा केही कमी आउने अनुमान गर्न सकिन्छ ।

को–को पुग्दै छन् अर्घाखाँचीबाट संविधानसभामा ?
मुक्तिनाथ भुसाल/ आगामी मङ्सिरमा संविधानसभाको निर्वाचन हुने–नहुने आशङ्का कायम नै छ । तर, मुलुकका अन्य स्थानमाझैँ अर्घाखाँचीमा पनि चुनावी लहर उठिसकेको छ । जिल्लामा अस्तित्वमा रहेका ठूला–साना सबै दलका नेताहरूलाई उम्मेदवारीका लागि तँछाडमछाड गर्दै कार्यकर्ता रिझाउन र केन्द्रीय नेताहरूको चाकडीमा जुट्न भ्याइनभ्याई परेको आभास हुन्छ ।
अर्घाखाँचीका जम्मा ४२ गाविस दुई निर्वाचन क्षेत्रमा विभक्त छन् । यसअघिको निर्वाचनमा क्षेत्र नम्बर एकबाट एनेकपा माओवादीका टोपबहादुर रायमाझी र क्षेत्र नम्बर दुईबाट नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल विजयी बनेकी थिइन् । यहाँका सम्भावित उम्मेदवारमा सबै दलबाट केन्द्रीय तहका या प्रभावशाली नेताहरू मात्र रहेकाले पनि अर्घाखाँचीको चुनाव र परिणाम रोमाञ्चक हुने अन्दाज लगाउन सकिन्छ ।
एनेकपा माओवादी
जिल्लाको क्षेत्र नम्बर एकमा टोपबहादुर रायमाझी, ठाकुरकुमार विक, डिलाराम आचार्य, राजु नेपाली, छमकुमारी खनाल थापा, कमल खनाललाई उम्मेदवारका रूपमा चयन गरिएको र यिनैमध्ये एकको नाम केन्द्रले छनोट गर्ने सो क्षेत्रका चुनावी संयोजक ठाकुरकुमार विक बताउँछन् । केन्द्रले छनोट गर्ने उम्मेदवारप्रति आफूहरू समर्पित भई लागिपर्ने र चुनाव पनि सहजै जितिने दाबी विकको छ । क्षेत्र नम्बर दुईका लागि चन्द्रबहादुर खड्का, गोविन्द केसी, खुमानन्द घिमिरे, विष्णुहरि शर्मा, हिमकला गैरे र भक्तबहादुर पुनको नाम चयन भएकोे चुनावी संयोजक हिमकला गैरेले जानकारी गराइन् । सङ्घीयता र समावेशीको नाराले कार्यकर्तामा जोस भरिएको र आफूहरूबीच कुनै गुटगत विवाद नभएको भन्दै गैरेले चुनाव बिनाझन्झट जितिने विश्वास व्यक्त गरिन् ।
नेपाली काङ्ग्रेस
जिल्लाको क्षेत्र नम्बर एकका लागि पीताम्वर शर्मा, डा. रामबहादुर बिसी, मानबहादुर विक, रेवतीप्रसाद भुसाल, विष्णु खनाल मुस्कान, बाबुराम पौडेल र क्षेत्र नम्बर २ बाट ढुण्डीराज शास्त्री, पुष्पा भुसाल, हिम्मतबहादुर टण्डन, कमलप्रसाद भुसाल, वासुदेव आचार्यलगायतका नेतामध्येबाटै उम्मेदवारी तय हुने कुरा जिल्ला पार्टी सभापति कमलप्रसाद भुसालले जानकारी गराए । साङ्गठनिक रूपमा अर्घाखाँचीमा नेपाली काङ्ग्रेस इस्पातसरह बलियो अवस्थामा रहेको कारण दुवै क्षेत्रमा विजय निश्चित रहेको र आफ्ना मतदातालाई निर्भयपूर्वक भोट हाल्ने वातावरण सिर्जना गर्न काङ्ग्रेस सक्षम रहेको नेतृ पुष्पा भुसालको दाबी छ ।
नेकपा एमाले
जिल्लाको क्षेत्र नम्बर एकबाट नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल, लक्ष्मण रायमाझी, भोजबहादुर शाह र क्षेत्र नम्बर २ मा पीताम्बर भुसाल, रामजीप्रसाद घिमिरे, दुमन थापा, पवित्रा पौडेलमध्येबाट केन्द्रले उम्मेदवारको छनोट गर्ने र आफू उम्मेदवारको दावा नगरी सङ्गठन सुधारमा लाग्ने जानकारी एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए । एमाओवादी र नेकाले जे–जस्तो हल्ला गर्दै हिँडे पनि अर्घाखाँचीमा एमाले नै बलियो भएकोले दुवै क्षेत्रमा एमालेको विजय सुनिश्चित भएको आचार्यको दाबी छ ।
यस्तै, राप्रपाबाट अम्मरबहादुर थापा, देवीबहादुर खड्का, राप्रपा नेपालबाट वेदराज घिमिरे, गणेश थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टोपबहादुर बलाल, ए. क्रान्तिकारीबाट यमुना भुसालको नाम चर्चामा रहेका छन् । राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ बाट सागर केसी, सन्तबहादुर नेपाली, कल्पना पोखरेल र २ नम्बर क्षेत्रबाट शेरबहादुर बिसी, झविलाल थापा र सकुन्तला रानाको नाम सिफारिस गरेको बुझिएको छ ।
सम्भावित परिणाम
चुनावको मैदानमा उत्रिएका दलहरूले आ–आफनो सङ्गठन बलियो भएको दाबी गर्नु उनीहरूको धर्म हो । संविधानसभाको पहिलो निर्वाचन ०६४ भन्दा पहिला दुवै क्षेत्रमा नेपाली काङ्ग्रेस विजयी हुँदै आएको थियो । कुनै समय क्षेत्र नम्बर एकबाट विजयी बनेका रेवतीप्रसाद भुसाल मुलुकका पर्यटन राज्यमन्त्री र क्षेत्र नम्बर दुईबाट विजयी बनेका समाजवादी नेता ढुण्डीराज शास्त्री पटक–पटक उद्योग र श्रममन्त्रीसमेत बनेका थिए । दुवैजना मन्त्री बनेको समयमा विपक्षीलाई सिध्याउनेभन्दा पनि काग्रेसले काङ्ग्रेसलाई नै सिध्याउने अभियानमा जुटेका कारण बीपीको समाजवाद बुझेर काङ्ग्रेसमा लागेकाहरूलाई काङ्ग्रेसमा अडिन असहज बनेको यथार्थ जिल्लामा नौलो होइन । काङ्ग्रेसी कार्यकर्ताका लागि त्यो समय साँच्चीकै दुःखद् थियो, किनकि यी दुवै नेताका नजिकका पात्रहरूले काङ्ग्रेस कार्यकर्तालाई शास्त्री समर्थक हो वा भुसाल समर्थक आपसमा तुलना गरी मन्त्रालयका कामकारबाही अगाडि बढाउने गर्दथे । जसको परिणाम ०६४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले क्षेत्र नम्बर एक गुमाउनुपरेको थियो । जसको प्रमुख कमजोरीका रूपमा नेपाली काङ्ग्रेसका पूर्वपर्यटन राज्यमन्त्री रेवतीप्रसाद भुसाललाई लिन सकिन्छ ।
अहिले पनि क्षेत्र नम्बर एकको चुनाव महत्र्वपूर्ण मानिन्छ । यदि एमाओवादीबाट टोपबहादुर रायमाझी र नेपाली काङ्ग्रेसवाट डा. रामबहादुर बीसी उम्मेदवार भएमा दुवै नेताबीच कडा टक्कर हुनेछ । यसपालिको चुनावमा रायमाझीलाई आफूले गरेको जिल्लाको विकाका कामबारे बताउँदाबताउँदै समय गएको थाहा हुनेछैन भने गाउँमा थलिएर बसेका बिरामीहरूको स्वास्थ्य उपचारका लाग्ाि बीसीलाई पनि फुर्सद मिल्लाजस्तो देखिँदैन । एमाओवादीको सङ्गठन त्यो क्षेत्रमा एकढिक्का छ भने नेपाली काङ्ग्रेसको सङ्गठन एकढिक्का हुने हो वा होइन यकिन भन्न सकिन्न । अर्कोतर्फ जनता रायमाझी र बीसीमध्ये कसलाई रोज्ने भन्नेमा अलमलमै पर्ने सम्भावना छ । किनकि, रायमाझीले अर्घाखाँची जिल्लाको विकास निर्माणमा पु-याएको योगदान हालसम्मकै उत्कृष्ट भनी चर्चा चल्ने गरेको छ भने अर्कोतर्फ दुखेको घाउमा लगाइदिएको मलमपट्टीको मूल्य भुसाललाई भोटका रूपमा तिर्न जनता अग्रसर हुन सक्छन् । किटेरै भन्नुपर्दा आजसम्मको हेराइमा रायमाझीकै पल्ला भारी हुने देखिन्छ ।
जिल्लाको क्षेत्र नम्बर दुईमा नेपाली काङग्रेसको तर्फबाट पुष्पा भुसालले छाडेमा मात्र अन्य काङ्ग्रेसी नेताहरूले पालो पाउने कुरा घामजत्तिकै छर्लङ्ग छ । पुष्पा एक जुझारु र बौद्धिक महिला मात्र नभई र उनका बुबा स्व. काशीनाथ गौतमले पु-याएको योगदान र काङ्ग्रेसप्रति उनले पैदा गराएको सकारात्मक सन्देश अविष्मरणीय मानिन्छ । एकपटकका निम्ति ‘बुबाको सपना पूरा गर्न म आएकी हुँ’ मात्रै भनिदिए पनि भुसालको पक्षमा मत खस्न काफी छ । नेकपा माओवादीको पनि केही प्रभाव रहेको त्यो क्षेत्रमा एमाओवादीभित्रको विवादले भुसाललाई प्रसस्त फाइदा पु-याउने देखिन्छ । एनेकपा माओवादी राज्य समिति सदस्य प्रकाश ज्ञवाली सन्देशले दिएको जानकारीअनुसार २३ वटा गाविस रहेको क्षेत्र नम्बर २ मा ११ वटा गाविसका एमाओवादीहरूले जिल्लाबाट ल्याइएको उम्मेदवारप्रति आपत्ति जनाउँदै खाली नाम सिफारिस गरेको बुझिएको छ । माओवादीको फुटसँगै देखिएको आपसी कलहका कारण चुनाव पुष्पा भुसालले नै जित्ने देखिन्छ । हुन त सबैभन्दा ठूलो शक्ति जनता भएको कारण फेरबदलको सम्भावनालाई पनि इन्कार गर्न मिल्दैन । जे होस्, अहिलेसम्मको स्थिति नियाल्दा चुनाव भएमा अर्घाखाँचीका दुईवटा क्षेत्रबाट एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल नै सभासद्का रूपमा प्रतिनिधित्व गरी संविधानसभामा पुग्ने निश्चितजस्तै छ ।

यसरी झ्याँगिँदै छ हाब्रेको छाला तस्करीको जालो
साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ ले दुर्लभ वन्यजन्तुको चोरी–सिकारी तथा तिनीहरूका अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा बिक्री–वितरणलाई गैरकानुनी भनेको छ । त्यसैले यस्तो चोरी–सिकारी तथा तिनीहरूको अङ्ग–प्रत्यङ्गको ओसारपसार र बिक्री–वितरणमा कमी ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोले विशेष सतर्कता अपनाएको छ । रेडपाण्डा पनि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जनावर हो । यसको अङ्गको मूल्य विदेशी बजारमा चर्को छ । त्यसैले यसको तस्करी अहिले तीव्र रूपमा बढिरहेको छ ।
तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर रेडपाण्डाको छाला तस्करी गर्ने गरेका पाइएको छ । गत जेठ २० गते प्रहरीले रेडपाण्डाको अङ्ग तस्करी गर्ने गिरोहको दुई सदस्य मानबहादुर तामाङ र विजय लामा तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट प्रहरीले दुईथान हाब्रे अर्थात् रेडपाण्डाको छाला बरामद भएको थियो । त्यसपछि प्रहरीले रेडपाण्डा तस्करहरूको निगरानी सुरु ग-यो र त्यसयता प्रहरीले हरेक महिना तस्करका सदस्यलाई रङ्गेहात पक्राउ गर्न सफल पनि भइरहेको छ ।
यसै साता पनि रेडपाण्डाको छाला बिक्री गर्ने भनी साथमा बोकिराखेको अवस्थामा प्रहरीले काठमाडौं वडा नं. २९ सामाखुसीबाट हाब्रेको छालासहित तस्करहरूलाई नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा संखुवासभा–८ स्थायी घर भएका वर्ष २६ की मीना खत्री राई र नवीन श्रेष्ठ रहेका छन् । साउन १३ गते पनि सीआईबीले वर्ष २५ का ईश्वर गुरुङलाई बालाजुबाट रेडपाण्डाको छाला तस्करी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । उनी रसुवा जिल्ला भोर्ले गाविस–५ का स्थायी बासिन्दा हुन् । रेडपाण्डाकै अङ्ग तस्करीमा संलग्न सिन्धुपाल्चोक गुम्बा गाविस वडा नं. ५ स्थायी घर भएका सरोज भन्ने वाङ्डुप तामाङलाई पनि प्रहरीले असार ३ गते रङ्गेहात सुन्धाराबाट नियन्त्रणमा लिएको थियो । तामाङको साथबाट प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको थियो । बारम्बार तस्करहरू पक्राउ पर्नुले पनि विश्वमै दुर्लव जन्तु रेडपाण्डाको तस्करी गर्ने गिरोहको हाँगाबिँगा निकै फैलिएको पुष्टि भएको छ ।
पक्राउ पर्नेहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । यस्तो अपराध गर्नेलाई नेपालको कानुनमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
हाब्रे अर्थात् नेपाललगायत चीन, भुटान, बर्मा, लाओसमा मात्र पाइन्छ भने नेपालको लाङटाङ, मकालु, सगरमाथा, रारा राष्ट्रिय निकुञ्जहरू तथा कञ्चनजङ्घा, अन्नपूर्ण संरक्षण क्षेत्रहरू र ढोरपाटन सिकार आरक्षमा एक हजार पाँच सय २५ मिटरभन्दा माथिको उचाइमा मात्र पाइने जनावर हो । यस दुर्लभ एवम् सुन्दर जनावरको चोरी–सिकारी तथा जिउँदै समाती बिक्री–वितरण गर्नेजस्ता कारणले नेपालमा यसको सङ्ख्यामा क्रमिक रूपमा कमी आइरहेको छ । यदि यस्तो अपराध नियन्त्रण समयमै गर्न नसकिए नेपाललगायत सीमित क्षेत्रमा पाइने हाब्रे नेपालबाट पनि हराउने पक्का छ । त्यसैले विश्वकै दुर्लभ रेडपाण्डाको तस्करी रोक्न पक्राउ परेको गिरोहका हाँगाहरूको माध्यमबाट गिरोहको जरासम्म पुगी तस्करीको जालोलाई निर्मूल पार्न आवश्यक छ ।
– विपन भण्डारी

धर्म जोगाउन प्रशिक्षण
विश्व हिन्दू महासङ्घ नेपालको आयोजनामा हिन्दूधर्म र संस्कृतिको जगेर्नाका लागि प्रशिक्षण हुने भएको छ । यही भदौ १३ र १४ गते काठमाडौंमा हुने उक्त प्रशिक्षणमा १४ अञ्चलका सभापतिहरूको सहभागिता रहनेछ । महासङ्घ अध्यक्ष नीलप्रसाद भण्डारीका अनुसार, हिन्दूधर्म र संस्कृतिविरुद्ध धावा बोल्ने क्रम तीव्र बन्दै गएकाले सो कार्यक्रमको आयोजना गरिएको हो । १४ अञ्चलका सभापतिले आ–आफ्नो क्षेत्रका जिल्लामा सोहीअनुरूपको प्रशिक्षण गर्ने र जिल्लाबाट गाउँ–गाउँसम्म पु-याउने लक्ष्य विश्व हिन्दू महासङ्घले लिएको छ । काठमाडौंमा हिन्दूधर्मका अभियन्ता डा. माधव भट्टराई, जनार्दन घिमिरेलगायतले प्रशिक्षण दिनुहुनेछ ।
हिन्दू धर्म संस्कृति विश्वमै उत्कृष्ट भए पनि यसको महत्व बुझाउने काम कमै मात्रामा हुने गरेका कारण ओझेल पर्दै गएको र धर्मनिरपेक्षताका नाममा क्रिश्चियन धर्मको प्रचार गर्ने काम तीव्र पारिएकाले यस प्रकारका प्रशिक्षण हरेक समुदायमा गर्न आवश्यक रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । महासङ्घले नेपाललाई हिन्दूराष्ट्र नै कायम गरिनुपर्ने माग राख्दै आएको छ ।

बुटवल र गोरखपुर जेसिजबीच सम्बन्ध नवीकरण
रूपन्देही/ भारत गोरखपुरको मिडटाउन जुनियर चेम्बर र बुटवल जेसिजको सम्बन्ध नवीकरण गरिएको छ । नेपाल–भारतबीचको द्विदेशीय सम्बन्ध सुदृढीकरणमा सामाजिक सङ्घसंस्थाको तर्फबाट भूमिका निर्वाह गर्ने उद्देश्यले दुई जेसिजबीच प्रत्येक वर्ष सम्बन्ध नवीकरण गरिँदै आएको बुटवल जेसिजका अध्यक्ष गणेशचन्द्र पोखरेलले बताए । बुटवल जेसिजका अध्यक्ष पोखरेल र गोरखपुर जेसिजका अध्यक्ष रोहित रामारोहिताले छुट्टाछुट्टै पत्रमा हस्ताक्षर गरी पत्र आपसमा साटासाट गरेका छन् । आपसमा साटिएको सम्बन्ध नवीकरणपत्रमा आपसी सहयोग, सद्भाव र भाइचारा कायम रहने उल्लेख गरिएको छ । सम्बन्ध प्रगाढ राखिरहन र आपसी सहयोग आदानप्रदानमा यो महत्र्वपूर्ण हुने विश्वास लिइएको छ ।
सोही कार्यक्रममा बुटवल जेसिजले जेसिजका पूर्वअध्यक्षहरूलाई सम्मान गरेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य दिनेहरूले दुई जेसिजबीचको सम्बन्ध यथावत् मात्र नराखी यसलाई अझ फलदायी बनाउनुपर्ने औँल्याए । उनीहरूले विगतका वर्षमा गोरखपुर मिडटाउनमार्फत बुटवल तथा आसपासका क्षेत्रमा ठूला–ठूला स्वास्थ्य शिविर सञ्चालन गरिएजस्तै सामाजिक सेवामा प्रभावकारी हुने कार्यक्रमहरू ल्याउन सके मात्र रिलेसनसिपको लक्ष्यमा पुग्न सकिने र त्यसले नै आपसी सम्बन्ध प्रगाढ पनि हुने उल्लेख गरे । गोरखपुर जेसिजका अध्यक्ष रामरोहिता, महासचिव सञ्जीव ओदारले पनि आपसी सम्बन्ध कायम राख्ने मात्र नभई सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउनका लागि आफूहरू कतै नचुक्ने प्रण गरे । कार्यक्रममा बुटवल जेसिजका पूर्वअध्यक्ष तथा नेपाल जेसिजका पूर्वअध्यक्ष अनुपमान सैंजू, पूर्वअध्यक्ष निर्मल लाकौल, गोपालप्रसाद अधिकारी, पूर्वअध्यक्ष तथा सम्बन्धका अभियन्ता मनोज भट्टराई, लालहरि पाण्डे, टंक पोखरेल, पूर्वअध्यक्ष हिमाल गैरे, महासचिव राजु पौडेललगायतले धारणा राखेका थिए ।

पशु पक्राउ पर्छन् तस्कर हात पर्दैनन्
परासी/ नवलपरासीको दक्षिणी सीमावर्ती नाकाहरूबाट चौपायाहरूको तस्करी थालेपछि प्रहरीले आंसिक रूपमा पशु पक्राउ गरी लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ । यस क्रममा सीमावर्ती बैदौली मुजहवा गाविसबाट पकलिहवाको ठाडीघाट लैजाँदै गरेको ६ हल गोरु इलाका प्रहरी कार्यालय बेलाटाटीको गस्ती टोलीले पक्राउ गरी लिलाम गरेको छ । प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याइएको भैंसीपाडासहितको ६ वटा चौपाया गुठी सूर्यपुरा र बैदौली क्षेत्रबाट पक्राउ गरी महेशपुर भन्सार कार्यालयको प्रतिनिधिको रोहवरमा लिलाम गरी एक लाख एघार हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिए । त्यसैगरी मुलुकको केही स्थानमा बर्डफ्लुको सङ्क्रमण बढ्न थालेपछि सीमा क्षेत्रमा पन्छीजन्य वस्तु ओसारपसारमा सुरक्षा निकायले कडाइ गर्न थालेको छ । सीमाक्षेत्रमा केही पेसेवर समूहले कुखुरा र अन्डा नेपाल भित्र्याउन थालेपछि सुरक्षा चेकजाँचमा कडाइ गर्न थालेको हो ।
भारतको निचलौल बजारबाट ब्यालर कुखुरा र अन्डा नेपाल भित्र्याउँदा सशस्त्र प्रहरी बल सीमासुरक्षा पोस्ट गुठी पर्सौनीले ठूलो खैरटवा गाविसबाट लु.१प ३३२३ नम्बरको मोटरसाइकलसहित एक दर्जन कुखुरा बरामद गरेको थियो । सशस्त्र प्रहरी बलले बरामद गरेको अन्डा र कुखुरालाई पशु क्वारेन्टाइनले चेकपोस्ट महेशपुरका प्रतिनिधिको रोहवरमा नष्ट पारिएको बताइएको छ । सुरक्षा निकायबाट सीमापार भारतबाट अवैध रूपमा नेपाल ल्याइने चौपाया र पन्छीवस्तु पक्राउ गरी लिलाम र नष्ट पारिँदा अवैध कार्यमा संलग्न व्यक्ति पक्राउ नपर्नु अर्थपूर्ण रहेको स्रोतले बताएको छ । नवलपरासीको दक्षिणी सीमावर्ती नाकाबाट ठूलो सङ्ख्यामा भित्रिने पन्छीजन्य वस्तु रोकथाम नियन्त्रण नहुनुलाई सुरक्षा निकायलाई थप चुनौती बढेको बुझिएको छ ।
– आरपी उपाध्याय

बेच्न लैजाँदा बाटैमा धन्दाको प्रयास
कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारततर्फ बेच्न लगिएका दुई नेपाली चेलीको प्रहरीले उद्धार गरेको छ । गत साउन ३१ गते गुल्मीको एक विकट गाविसबाट दुई युवतीलाई काममा लैजाने वहानामा घरबाटै फकाएर कपिलवस्तुको चनई गाविससम्म ल्याएर दुई दिन होटलमा राखिएको थियो । ती युवती एक १५ र अर्की २१ वर्षीया रहेका छन् ।
कपिलवस्तुको चनई–९ मधवा बस्ने निर्मला परियार घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । प्रहरीले बेचविखनको आरोपमा पक्राउ परेका तीन अभियुक्तलाई सार्वजनिक गरेको छ । निर्मला परियारको साथमा उनकै सहयोगी सुककुमारी लामा र चन्द्रौटास्थित बुद्धिनाथ होटल एण्ड रेस्टुरेन्टका सञ्चालक करवीर शाही रहेका छन् ।
पीडित युवतीका अनुसार निर्मला परियारले आफ्नो माइती छिमेकीबाट काममा लगाउने भन्दै कपिलवस्तु ल्याएकी र त्यहाँ बुद्धिनाथ होटलमा २ दिनसम्म होटलमालिकको मिलोमतोमा राखी दुईमध्येकी एक युवतीलाई यौन कार्यसमेत गराइएको थियो । होटलमा रहँदा जबर्जस्ती वियर पिलाउन खोज्ने तथा ग्राहकसँग यौनकार्य गर्न लगाउन लागेको आरोप उनीहरूले लगाएका छन् ।
त्यहाँ बस्न नमानेपछि कृष्णनगर हुँदै भारतको बेंग्लोरसम्म लान लागेको उनीहरूले बताए । साथै घर जाने भन्दा पनि नदिई एकजनालाई डान्स र एकजनालाई यौन व्यवसायका निम्ति लैजाने तयारी गरी भारततर्फ लान लागेको अवस्थामा पक्राउ परेको पीडित युवतीले बताइन् ।
यस क्रममा इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त महिला गिरोह पहिलेदेखि नै यौन तथा बेचविखनमा संग्लन रहेको आशङ्का गरिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र उनीहरूलाई नियमानुसार कारबाही गरिने प्रहरी उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए ।
– चन्द्रकान्त खनाल

नेपाली कलाकार अन्तर्राष्ट्रिय प्रदर्शनीमा
नेपालका एक युवा कलाकार हाल जर्मनीमा आयोजित कला प्रदर्शनीमा सहभागिता जनाइरहेका छन्् । फाइन आर्टका विद्यार्थी तथा कलाकार सुमन महर्जनका चित्रहरूको प्रदर्शनी जर्मनीको ब्रुन्स्टेनकापेलमा भइरहेको छ । प्रदर्शनीमा उनले बनाएका प्रिन्टमेकिङका चित्रकला तथा जर्मनीका कलाकार फ्रिट्ज रिस्केनका नेपालसम्बन्धी फोटोहरू राखिएका छन् ।
जर्मन कलाकार रिस्केन केही महिनाअघि नेपाल आएका थिए । उनलाई नेपाली संस्कार, रीतिरिवाज तथा रहनसहनले असाध्यै प्रभाव पारेको रहेछ । उनले यिनै नेपाली परम्परालाई आधार बनाई खिचेका फोटोहरू नै उक्त प्रदर्शनीमा राखेका हुन् । यिनै जर्मन कलाकार रिस्केनको सहयोग र निमन्त्रणामा नेपाली कलाकार सुमन महर्जनले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागिता जनाउने मौका पाएका हुन् ।
५० भन्दा बढी स्थानीय कलाकार तथा कलापारखीको उपस्थितिमा उद्घाटन भएको प्रदर्शनीमा केही नेपाली कलापारखी तथा कूटनीतिज्ञहरूको पनि उपस्थिति थियो । प्रदर्शनीकै दिनमा केही चित्रकलाहरूको बिक्री भएकोबारे कलाकार महर्जनले बताएका छन् र यसले हौसला बढाएको विचार पनि उनले व्यक्त गरेका छन् ।
सुमन महर्जन बालसाहित्यका कुशल चित्राङ्कनकर्ता पनि हुन् । उनले २० भन्दा बढी बालपुस्तकका लागि चित्र बनाइसकेका छन् । उनी चित्रलाई नयाँ ढङ्गमा प्रस्तुत गर्न रुचाउँछन् र यसमा उनी पोख्त पनि छन् । उनी कथावाचक समाज नामक संस्थाका कार्यसमिति सदस्य पनि हुन् ।

प्रवासमा पनि गुल्मेली एकता
अमेरिकाको न्युयोर्कमा विभिन्न पेसामा आबद्ध गुल्मेलीले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी–अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्युयोर्क राज्यको रोकल्यान्ड काउन्ट्रीमा पर्ने रोकल्यान्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारान गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डेलगायतका जुझारु युवाको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन यूएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर त्यसको सर्वाङ्गीण विकासमा सक्दो सहयोग गर्ने पवित्र उद्देश्यसहित स्थापित संस्थाले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने कुरामा आफू आशावादी रहेको कुरा बताए । यूएन प्रतिनिधि लम्सालले देश छाडेर समुद्रपार आएर पनि आफू जन्मिएको माटोलाई देश–विदेशमा चिनाउने र जिल्लाको विकासमा सक्दो सहयोग गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रम प्रसंशनीय भएको बताए । अमेरिकास्थित नेपाली राजदूतावासमा कार्यरत जीतबहादुर कार्कीले न्युयोर्कमा मात्र बस्ने नभएर अमेरिकामा रहेका गुल्मेली समुदायलाई एकत्रित गरी संस्थामा आबद्धता गराउन आग्रह गरे ।
अमेरिकामै रहेर कानुनी क्षेत्रमा अग्रणी रहेका वरिष्ठ कानुनविद् एवम् नेपाली काङ्ग्रेसका युवा नेता खगेन्द्र जीसीले संस्था बनाउने मात्र ठूलो कुरा नभएर त्यसलाई निरन्तरता दिने प्रमुख रहेको नवगठित गुल्मी–अमेरिका सोसाइटीलाई अमेरिकी कानुनअनुसार वैधानिकता दिएर सबै गुल्मेलीलाई यही संस्थामा आबद्धता गराउनुपर्ने कुरामा जोड दिँदै संंस्था दर्तालगायतका अन्य सहयोग गर्न आफूले सधैँ सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । प्रवाशमा बसेर पनि गुल्मीको समग्र विकासमा प्रयास गर्ने सोच राखेर गुल्मी काङ्ग्रेसको लामो समयसम्म कोषाध्यक्ष पद समाल्दै महिला सङ्घ गुल्मीको सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्मको भूमिका सक्रिय नेतृत्व गरेका सेनको संयोजकत्वमा गठन भएको तदर्थ समितिको सचिवमा मनमोहनसिंह घिमिरे र सदस्यहरूमा हरिनारायण सापकोटा, कृष्ण पन्त, राजेन्द्र गौतम, भीम पन्त, अशोक ज्ञवाली, यम अर्याल, गोविन्द पाण्डे रहेका छन् । नवगठित तदर्श समितिको संयोजक सेनले एक वर्षभित्र अमेरिकी कानुनअनुसार विधान तयार गरी संस्थालाई वैधानिकता दिलाएर अमेरिकाको विभिन्न राज्यमा सङ्गठन विस्तार गरी अधिवेशन गरिने बताएका थिए ।