अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा २० वर्ष तानाशाही चलाएर पनि मुलुकलाई एउटै अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका एन्फा अध्यक्ष गणेश थापाले गत साता गाईजात्रा देखाउँदा… लाईभन्दा हेर्नेलाई लाज भएको छ । गाईजात्रा सकिएको थुप्रै दिन भए पनि थापाले देखाएको गाईजात्रा भने हेर्नलायक थियो । २० वर्षको म्याराथनपारीमा फुटबलमा अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेपछि उपाधि जित्नका लागि थापाले दशरथ रंगशालामा पञ्चबलि गरेका हुन् । खेलेर जित्न नसकेपछि भाग्यलाई दोष दिँदै भगवान्को शरणमा पुगेका थापालाई सङ्कल्प पूजा र पञ्चबलिको असर कस्तो पर्ने हो त्यो अहिले हेर्न लायक भएको छ । गत साता थापाले राष्ट्रिय टोलीको सफलताको कामना गर्दै दशरथ रंगशालामा सङ्कल्प पूजा र पञ्चबलि गरेका थिए । पूजापाठ गर्नु आफैँमा राम्रो कुरा भए पनि यसले राष्ट्रिय फुटबल टिममा सकारात्मक प्रभाव पार्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । तै पनि मनको सन्तुष्टि, केही गर्दा पनि नभएपछि भगवान्को शरणमा परेर सफलताको भिख माग्नुलाई अन्यथा मान्न सकिँदैन । नेपाली फुटबल टोलीबाट कुनै चमत्कार आशा नगरिए पनि उत्कृष्ट प्रदर्शनको आशमा थापाले चालेको यो कदमलाई सकारात्मक मान्न सकिन्छ ।
आउँदो भदौ १५ गते दशरथ रंगशालामा साफ च्याम्पियनसिप फुटबलको आठौँ संस्करणको शुभारम्भ हुँदै छ । सन् १९९७ मा नेपालबाट शुभारम्भ भएको साफ च्याम्पियनसिपले सातौँ संस्करण पार गर्दासम्म नेपालको प्रदर्शन सर्मनाक रहेको छ । यो प्रतियोगितामा दुईपटक सेमिफाइनलसम्म पुग्नु नै नेपालको ऐतिहासिक सफलता मानिएको छ । नेपाल गोवामा सम्पन्न दोस्रो र दिल्लीमा सम्पन्न सातौँ संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।
आफ्नै भूमिमा पहिलोपटक आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो भने अन्य संस्करणमा पनि नेपालको यस्तै हरिबिजोक भएको थियो । अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका सातौँ संस्करणसम्म नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि गोलको खडेरीले गर्दा विजयबाट विमुख बन्दै आएको हो भन्दा अतिसयोक्ति नहोला । स्वदेशमा गोलको वर्षा गर्ने खेलाडी विदेशमा गोल गर्न नसक्नु थापा र फुटबलका लागि दुर्भाग्य बनेको तीतो सत्य हो । यो परम्परा विगत २० वर्षदेखि चल्दै आएको छ । अब आठौँ साफमा के हुन्छ, त्यो भविष्यले बताउनेछ ।
आठौँ संस्करणमा आयोजक नेपाल, भारत, पाकिस्तान, बंगलादेश समूह ‘ए’ मा परेका छन् जसलाई ‘ग्रुप अफ डेथ’को संज्ञा दिइएको छ । कारण जे पनि हुनसक्छ, सायद भुटान नेपालको समूहमा नपरेर होला । नेपालको समूहमा भुटान परेको भए एक खेलमा नेपालको विजय पक्का थियो । साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग अहिलेसम्म पराजित हुनुपरेको छैन । तर, विडम्बना यसपटक सर्वाधिक विजेता भारत नेपालको समूहमा पर्नु एन्फाका लागि टाउको दुखाइ बनेको छ । त्यसैले होला यो (भारतरूपी) खड्गो काट्न थापाले पञ्चबलि गरेका । बंगलादेश र पाकिस्तान समानस्तरका भए पनि एउटासँगको पराजय पनि नेपालको लागि निकै भारी पर्ने प्रायः निश्चित छ । यसर्थमा भारतलाई जित्न नेपालले फलामकै चिउरा चपाउनुपर्नेछ । सेमिफाइनलमा स्थान बनाउन दुई राष्ट्रलाई पराजित गर्नुपर्ने बाध्यता रहेकाले यसपटक पनि नेपालको अग्निपरीक्षा हुने कुरालाई नकार्न सकिँदैन । अर्को समूह ‘बी’मा रहेका अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान आफँैमा सशक्त टिम हुन् । उनीहरूलाई कदापि उन्नाइस मान्न सकिँदैन । भुटानभन्दा अन्य तीन टिम सशक्त भए पनि भुटानलाई बाइपास गर्न भने कदापि मिल्दैन । खेल हो जे पनि हुनसक्छ, भुटान पनि यो प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको टोली हो ।
खेलकुदमा सफलता–असफलता एक सिक्का दुई पाटा हुन् । यसो भन्दैमा असफलतालाई सधैंभरि आत्मसात् कदापि गर्न सकिँदैन । विगत २० वर्षदेखि फुटबलप्रेमीहरूले विजयको स्वाद चाख्न पाएका छैनन् । उनीहरूको स्वार्थ भनेको नेपालको विजय हो । उनीहरू नेपालले उपाधि उचालेको देख्न चाहन्छन् । अहिले आठौँ साफ च्याम्पियनसिप नेपालमा हुँदै छ, त्यो नेपालले जितेको हेर्न आतुर छन् । तसर्थ नेपाली खेलाडीले केही गरेर देखाउने बेला आएको छ, घरेलु मैदान र दर्शक उनीहरूको सफलताको कारकतत्र्व बन्न तयार छन् । यसका लागि युद्धको सिपाहीजस्तै खेलाडीले बन्नु जरुरी छ । बाहनाबाजी गर्दागर्दै दुई दशकको समय बितिसकेको छ । यो अवधिमा हात लाग्यो फुस्साबाहेक केही भएको छैन । तसर्थ मुलुक र फुटबलको प्रतिष्ठा जोगाउन यसपटक प्रत्येक खेलाडीले महारथीको भूमिका निभाउनुपर्ने छ । समूह जस्तो परे पनि आफू सफल भएर देखाउनुपर्नेछ, गोलको वर्षा गर्नुपर्नेछ र नेपाललाई विजयी बनाउनुपर्नेछ । पहिलो साफ च्याम्पियनसिपमा नेपालले भोगेको पीडा दर्शकले अहिलेसम्म बिर्सिएका छैनन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने नेपाली खेलाडीको रोग अहिलेसम्म ज्युँकात्युँ छ । गोलबिना जितको कल्पनासमेत गर्न नसकिने खेलमा गोल नै गर्न बिर्सिएपछि पराजय निश्चित छ ।
हरेक पल्टको पराजयले एन्फा अध्यक्ष गणेश थापा निकै आहत भएको प्रस्टरूपमा देख्न सकिन्छ । थापा भित्रैबाट गलिसकेको आभास सङ्कल्प र पञ्चबलि पूजा गर्नुले पनि स्वतः थाहा हुन्छ । राष्ट्रिय फुटबल टोलीको विजयका लागि यो पूजा गर्नुले आफैँमा अर्थ राख्छ । एकपटक अन्तर्राष्ट्रिय उपाधि उचाल्ने थापाको पनि धोको छ । अहिले नभए कहिल्यै त्यो सपना पूरा नहुने थापालाई राम्रोसँग ज्ञान छ । त्यसैले थापा साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरिरहेका छन् । हेरौँ, राष्ट्रिय टिमलाई सफलताको शिखरमा पु-याएर एन्फामा नयाँ कार्यकालको शुभारम्भ गर्ने सपना देखेका थापाको चाहाना पूरा हुन्छ कि हँुदैन, त्यसको प्रतीक्षा गर्नु नै वेश होला । कामना गरौँ, राष्ट्रिय टिमलाई सफलताले चुमोस्, थापाको भाग्य अनलक्कीबाट लक्की बनोस् ।
उपलब्धिहीन सहभागिता कहिलेसम्म ?
जे सोचेको थियो, आखिर भयोे त्यस्तै । नेपाली टोली रमिते बनेर फर्किएको छ । हालै चीनको नानजिङ शहरमा सम्पन्न भएको दोस्रो युथ एसियाली खेलकुदमा नेपालको प्रदर्शन सहभागितामै सीमित भएको छ । प्रायजसो खेलाडी पहिलो चरणमै पराजित हुँदा एकाध खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु नै नेपालका लागि उपलब्धि बन्यो ।
६ खेलमा ११ जना खेलाडीले सहभागिता जनाए पनि स्तरहीन प्रदर्शन नै नेपालको असफलताको पाटो बन्यो । प्रतियोगिताअघि राखेप र एनओसीबीच सहभागिताका बारेमा निकै गाँड कोराकोर हुँदा नेपालको सहभागिता नै अन्योलमा परेको थियो । पछि राखेपले खेलाडीको खेल्न पाउने हकबाट वञ्चित नगर्ने निर्णय गर्दै हरियो झन्डा देखाएको थियो । पदाधिकारीलाई विदेश सयर गर्न आर्थिक सहयोग नगर्ने प्रतिबद्धता जाहेर गर्दै सङ्घलाई प्रदान गर्ने आर्थिक सहयोग कट्टा गर्ने सहमतिमा राखेपले अन्तिम समयमा सहभागिताका लागि स्वीकृति प्रदान गरेको थियो ।
एक सातासम्म चलेको युथ एसियाली खेलकुदमा नेपालले पौडी, एथलेटिक्स, जुडो, टेबुलटेनिस, टेनिस र फेन्सिङ गरी ६ खेलमा सहभागिता जनाएको थियो । शुभारम्भदेखि नै फितलो प्रदर्शन गरेका नेपाली खेलाडीले प्रतियोगिता अवधिभर कुनै चमत्कार देखाउन सकेनन् । आफ्नो सहभागितालाई सहभागितामै सीमित पार्न उनीहरूले कुनै कसर बाँकी राखेनन् । परिणाम, नेपालको सहभागिता उपलब्धिहीन बन्न पुग्यो । प्रतियोगितापश्चात् प्रश्न उठेको छ– उपलब्धिहीन सहभागिता कहिलेसम्म ? बिनातयारी हचुवाको भरमा सहभागिता जनाउँदा त्यसको परिणाम कस्तो आउँछ त्यो प्रस्ट देखिएको छ । व्यर्थैमा राज्यको ढुकुटी सिध्याएर राज्यको मानमर्दन गर्नु कत्तिको जायज कुरो हो, यसको जवाफ राखेप र एनओसीले अवश्य दिनुपर्नेछ । ४५ देशका तीन हजार पाँच सय खेलाडीको सहभागिता रहेको यस प्रतियोगितामा आयोजक राष्ट्र चीनले सर्वाधिक ४६ स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै दक्षिण कोरियाले २५ र जापानले सात स्वर्ण पदक जित्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । यसैगरी आगामी तेस्रो संस्करणको आयोजना श्रीलंकाले गर्ने भएको छ ।
खेल समाचार
क्रिकेटमा नेपाल ‘बिचरा’ सावित
सिङ्गापुरमा सम्पन्न एसीसी इमजिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाल ‘बिचरा’ सावित भएको छ । लिगका तीनै खेलमा पराजित भएको नेपालले अफगानिस्तानसँग उत्कृष्ट प्रदर्शन गरे पनि भारत र पाकिस्तानसँग नराम्रो पराजय व्यहोर्नुपरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको यो प्रतियोगितामा नेपाली खेलाडीले स्तरहीन प्रदर्शन गरेका थिए । टिम गेममा टिमको प्रदर्शन हुनुपर्नेमा व्यक्तिगत प्रदर्शन भएको थियो । एउटा गेममा एउटा खेलाडीबाहेक अन्यको योगदान खासै देखिएन । निकै बलियो मानिएको नेपालको बलिङ पक्ष पनि त्यति सशक्त र प्रभावकारी बन्न सकेन । सोही कुरालाई आत्मसात् गर्दै कप्तान पारस खड्काले आफूहरूले विगतको जस्तो प्रदर्शन गर्न नसक्नु पराजयको मूल कारण भएको बताए । खेल ठूलो होस् या सानो सबैमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउँदै कप्तान खड्काले यो प्रतियोगितामा आफूहरू चुकेको स्वीकारेका छन् । यो प्रतियोगिताले आफूहरूलाई राम्रो पाठ सिकाएको बताउने खड्काले अब बलिङ, ब्याटिङ र फिल्डिङमा विशेष ध्यान दिनुपर्ने सुझाए । स्मरण रहोस्, २३ वर्षमुनिको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय क्रिकेट टिमले प्रतिस्पर्धा गरेको थियो ।
विनोद कुटुका परेवालाई उपाधि
चौधौँ राष्ट्रिय परेवा उडान प्रतियोगितामा कौशलटारनिवासी विनोद कुटुका परेवाले उपाधि जितेका छन् । कुटुका पाँच परेवा समग्रमा ३० घन्टा १२ मिनेटको समयसम्म आकाशमा उडान भरेर पुनः घरमै फर्केका थिए । दोस्रो स्थानमा रहेका बोडेनिवासी सञ्जय श्रेष्ठका खापरेवाले पनि २९ घन्टा नौ मिनेटको समय आकाशमा बिताएका थिए । तेस्रो स्थान गोरखशमशेर जबराका परेवाले हासिल गरेका थिए । भक्तपुरका नवीन शर्माको सब्जा भाले आठ घन्टा एक मिनेटसम्म आकाशमा उडान भरेर सबैभन्दा लामो समय आकाशमा उड्न सफल भएकाले उत्कृष्ट परेवाको उपाधि पाएको थियो । पहिलोदेखि छैटौँ स्थान हासिल गर्ने विजेताले क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच, चार र तीन हजार नगद तथा ट्रफी प्राप्त गरेका थिए । उत्कृष्ट परेवाले पनि पाँच हजार नगद तथा ट्रफी प्राप्त गरेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरस्कार वितरण गरेका थिए । चौधौँ संस्करणबाट रनिङ सिल्डको सुरुवात भएको करिब ४ लाख पर्ने चाँदीको शिल्ड केयुरशमशेर जबरा स्मृति रनिङ सिल्डको नामबाट प्रत्येक वर्ष सञ्चालन गरिने आयोजकले जनाएको छ । नेपाल परेवा उडान खेल सङ्घको आयोजनामा वैशाख १४ गते सुरु भएको प्रतियोगिता जेठ ४ गते सम्पन्न भएको थियो ।
खुला सिक्स ए साइड फुटबल चाबहिलमा
चाबहिल स्पोर्टस् क्लबको आयोजनामा दोस्रो खुला सिक्स ए साइड फुटबल प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ भन्दा बढी पुरुष टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी र डिफेन्डरलाई पाँच हजारका दरले पुरस्कृत गरिनेछ । आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ३८ हजार रुपैयाँ खर्च हुने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन । नकआउट आधारमा हुने प्रतियोगिताका खेल चाबहिलमा हुनेछन् ।
इक्वेस्ट्रियनमा लामा निर्विरोध
नेपाल इक्वेस्ट्रियन सङ्घको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन् । सङ्घको हालै सम्पन्न प्रथम साधारणसभाले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसमेत रहेका लामाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षमा नवराज सिलवाल (वरिष्ठ), ओलम्पियन दीपक विष्ट र राजीव शाह रहेका छन् भने महासचिवमा बलराम श्रेष्ठ, सचिवमा प्रकाशचन्द्र घिमिरे, कोषाध्यक्षमा रमेशमान मल्ल तथा सहकोषाध्यक्षमा मोहम्मद फाजिल रहेका छन् । त्यस्तै, दिवस गुरागाईं, रोशनबहादुर श्रेष्ठ, करण चौधरी, सरोज मिश्र, दावा तामाङ, लोकजंग लामा, ज्ञानबहादुर गुरुङ र प्रेम मोक्तान सदस्यमा चयन भएका छन ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारणसभामा पाँच जिल्ला काठमाडौं, भक्तपुर, रसुवा, मनाङ र कास्की, दुई क्लब तथा केन्द्रका गरी कुल २६ प्रतिनिधि सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना र अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सोही दिन बसेको सङ्घको बैठकले दुई उपाध्यक्ष र दुई सदस्य मनोनयन गरेको थियो । उपाध्यक्षमा अक्कलबहादुर बम र नेपाली सेनाका प्रतिनिधि पदेन रहेका छन् । सदस्यमा मनोनीत हुनेमा कृष्ण सिवाकोटी र नवराज नेपाल छन् । सङ्घको विधानको दफा ३ को उपदफा ४ बमोजिम उनीहरूलाई मनोनयन गरिएको सङ्घले जनाएको छ । त्यस्तै सदस्य गुरागाईंलाई प्रवक्ता तथा राजेन्द्र नेपाललाई कानुनी सल्लाहकारमा चयन गरिएको छ ।
छैटौँ हिम्स अन्तरविद्यालय पौडी
हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को आयोजनामा छैटौँ हिम्स अन्तरविद्यालय पौडी प्रतियोगिता हुने भएको छ । भदौ १५ र १६ गते हुने प्रतियोगितामा ३० भन्दा बढी विद्यालयका करिब तीन सय
प्रतिस्पर्धीको सहभागिता रहने प्रचारप्रसार संयोजक यदुराम आचार्यले जनाएका छन् । दुई रिलेसहित ३४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अङ्कका आधारमा टिम च्याम्पिपयनको चयन गरिनेछ । रिलेबाहेकका स्वर्णलाई पाँच,
रजतलाई तीन र कास्यलाई दुई अङ्क प्रदान गरिनेछ । रिलेमा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १०, ६ र चार अङ्क दिइनेछ । लिङ्कन साविक विजेता हो । त्यसबाहेक लिङ्कन पहिलो र दोस्रो संस्करणको पनि च्याम्पियन हो । बाँकी दुई संस्करणमा लिटिलएन्जल्स टिम विजेता भएको थियो । विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै खेलकुद पनि उत्तिकै महत्र्वपूर्ण हुने हुँदा प्रतियोगिता आयोजना गर्न लागिएको हिम्सले जनाएको छ । पौडीका अलावा हिम्सले वार्षिक रूपमा बास्केटबल र करातेका साथै विभिन्न आन्तरिक प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ ।
बर्नहार्ट अन्तरकलेज टेबलटेनिसको तयारी
बर्नहार्ट कलेजको आयोजनामा भदौ २१ गतेदेखि बर्नहार्ट अन्तरकलेज टेबलटेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता संयोजक दीपक नेपालीले उच्च माध्यमिक विद्यालयदेखि मास्र्टससम्मका करिब दुई सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने बताएका छन् । प्रतियोगितामा खुला पुरुष र महिलातर्फ एकल र डबल गरी चार स्वर्णका लागि प्रतिस्पर्धा हुने नेपालीले जानकारी गराएका छन् । त्यस्तै, बीएससीएआईटीतर्फ पनि चार स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष तथा महिलातर्फ सिङ्गल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । सिङ्गल्सतर्फ नगद ६० हजार रुपैयाँबराबरको पुरस्कार दिइनेछ । दुईदिने प्रतियोगिता गर्न करिब दुई लाख २५ हजार खर्च हुने आयोजकले बताएको छ ।
बादोरियो करातेमा नेपाल टिम च्याम्पियन
तेस्रो दक्षिण एसियाली बादोरियो कराते च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि रक्षा गरेको छ । भारतको मद्रासमा हालै सम्पन्न भएको प्रतियोगितामा नेपालले नौ स्वर्ण, आठ रजत र एक कास्य जितेको थियो । यसअघि गुजरातमा भएको दोस्रो संस्करणमा पनि नेपाल टिम च्याम्पियन भएको थियो । प्रतियोगितामा श्रीलंकाले दोस्रो र आयोजक भारतले तेस्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा नेपालका कैलाश बस्नेत र मनीष तामाङले दोहोरो स्वर्ण जितेका थिए । कैलाशले ४५ केजी र कातातर्फ र मनीषले ५५ केजी र कातातर्फ स्वर्ण जितका थिए । त्यस्तै ५० केजीतर्फ स्वर्ण जितेका अजयभक्त श्रेष्ठले कातातर्फ रजत पदक जिते । ६० केजी तौल समूहमा स्वर्ण जितेका लक्ष्मण तामाङ पनि कातातर्फ नेपाललाई रजत दिलाउन सफल भएका थिए । त्यस्तै ६५ केजी तौल समूहका स्वर्ण विजेता तेजबहादुर तामाङ, ८० केजीतर्फका स्वर्ण विजेता जीवन पुलामीमगर र खुलातर्फका स्वर्ण विजेता सन्तोष माझीले पनि कातातर्फ थप एक–एक रजत जितेका थिए ।
७० केजी तौल समूहका रजत विजेता मानबहादुर लामाले कातातर्फ पनि रजत जितेका थिए । त्यस्तै, ७५ केजीतर्फ केशर सुब्बाले एक रजत र एक कास्य जितेका थिए । नेपाली टिमका मुख्य प्रशिक्षक हरिशरण केसीलाई भारतमा प्रतियोगिताका दौरान सम्मान गरिएको थियो । केसीले गत वर्ष पनि नेपाललाई आफ्नै प्रशिक्षणमा टिम च्याम्पियन बनाएका थिए । लगातार दोस्रोपटक टिम च्याम्पियनको उपाधि जितेपछि नेपाल बादोरियो कराते डो महासङ्घका महासचिवसमेत रहेका केसीलाई उत्कृष्ट प्रशिक्षकका रूपमा सम्मान गरिएको थियो ।
हरेराम स्मृति टेटे हुने
हरेराम स्मृति प्रतिष्ठान र राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको संयुक्त आयोजनामा सातौँ हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता भदौ १२ गतेदेखि हुने भएको छ । कृष्णाजन्माष्टमीको उपलक्ष्यमा हुने प्रतियोगितामा यू–१४ ब्वाइज र गल्र्स सिङ्गल्स तथा यू–२१ पुरुष एकल स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यू–२१ को स्पर्धा पहिलोपटक परीक्षणका रूपमा सञ्चालन गर्न लागिएको प्रतियोगिता संयोजक सुशील पौडेलले जनाएका छन् । उक्त स्पर्धामा सिनियरस्तरमा शीर्ष १६ स्थानमा नपरेका र कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीले भाग लिन पाउनेछन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने एकदिने प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने पौडेलले बताए ।
प्रतिक्रिया