गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सांस्कृतिक हब बनाउने मन्त्रीको गर्जन !

गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सांस्कृतिक हब बनाउने मन्त्रीको गर्जन !


गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा साउन १५ गते मंगलबार आयोजित एक कार्यक्रमबीच प्रतिवेदन बुझ्दै मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सांस्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताएकी छिन् ।

मन्त्री पुनले शैक्षिक, स्वास्थ्य, खेलकुद र सांस्कृतिक हब बनाउन योजनालाई मूर्तरूप दिन गठित कार्यदलमध्ये खेलकुद र स्वास्थ्यका लागि सम्भव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएकोमा अभार प्रकट गर्दै भनिन्, ‘अहिले धेरै सामाजिक क्षेत्रका संस्थाहरू स्वास्थ्यलगायत अन्य क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अगाडि आएका छन्, यो सराहनीय रहेको छ ।’

गण्डकी प्रदेशलाई सबै क्षेत्रबाट माथि उठाउन र विकासमा फड्को मार्दै जनताले चाहेको विकासको प्रत्याभूति दिन पनि कार्यदलले बुझाएको प्रतिवेदन महत्वपूर्ण रहने पनि मन्त्री पुनले बताइन् । कार्यदलले बुझाएको प्रतिवेदन गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकमा समेत प्रस्तुत गर्न कार्यदललाई उनले आग्रह गरेकी छिन् ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले कार्यदलले प्रदेश सरकारको भावनाअनुसार काम गरेकोमा बधाई दिँदै खेलकुद सम्भाव्यता अध्ययनका लागि नवलपुरको समथर भूमिदेखि मुस्ताङसम्मको उच्च भूगोलमा अध्ययन गरी खेलकुद विकासका सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएकोमा प्रशंसासमेत व्यक्त गरे ।

अस्पताल केवल बिरामी जाँच्ने थलो र खेलकुद मेडल थाप्नका लागि मात्रै नभई यसको व्यावसायीकरण हुन सके प्रदेशको आर्थिक समृद्धिले गति लिन सक्ने सांसद कोइरालाले बताए ।

गण्डकी प्रदेशको जेठ २१ गतेको मन्त्रिपरिषद्को निर्णय तथा प्रदेश सरकारको गत आव ०७४÷०७५ को स्वीकृत कार्यक्रमअनुसार गठित पाँचसदस्यीय कार्यदलले सरकारले तोकेको पाँचवटा विषयमा अध्ययन अगाडि बढाएको कार्यदलका सदस्य तेज गुरुङले बताए । उक्त कार्यदलमा ५१ जना आमन्त्रित सदस्य रहेका थिए ।

प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र गल्फ कोर्सको निर्माण, एकीकृत खेलकुद एकेडेमीको निर्माण, सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेलमैदानको निर्माण, हाईअल्टिच्युट खेलमैदानको पूर्वसम्भाव्यता अध्ययन र एक स्थानीय तहमा एक खेलमैदानको कार्यविधिनिर्माणजस्ता पाँचवटा विषयमा कार्यदलले अध्ययन गरेको हो ।

उक्त अध्ययन प्रतिवेदन सम्बन्धित मन्त्रालयलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन । प्रदेश सरकारले मूल्याकंन गरेपछि मात्रै सार्वजनिक गरिने कार्यदलका सदस्य गुरुङले जानकारी गराएका छन् । कार्यदलले गण्डकी प्रदेशमा हाईअल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टर तातो बहसका रूपमा अगाडि बढेको बताउँदै गुरुङले यो ट्रेनिङ सेन्टर प्रदेशको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा समेत जोडिएको बताए ।

विश्वकै दश उत्कृष्टमध्ये एक पोखराको हिमालय गल्फ कोर्सलाई ‘पीपीपी मोडेल’मा विकास गर्ने पर्याप्त सम्भावना रहेको र यसका लागि अन्य चार स्थानको समेत अध्ययन गरिएको गुरुङले बताए । उनले भने, ‘क्रिकेटका लागि प्रदेशका सात ठाउँमा अध्ययन भएको छ, जमिन मात्रै भएर नहुँदोरहेछ, यसका लागि आवश्यक अन्य पूर्वाधार पनि हुन आवश्यक छ ।’

कार्यदलले गण्डकी प्रदेशमा सुविधासम्पन्न एकीकृत खेलकुद निर्माण गर्नेसँगै एकेडेमीलाई खेलकुदको आधुनिक प्रशिक्षण थलोको रूपमा विकास गरी अगाडि बढाउन सक्ने गरी अध्ययन भएको जनाएको छ ।

गण्डकी प्रदेशमा केही दातृ राष्ट्रले सुविधासम्पन्न बहुउपयोगी रंगशाला निर्माण गर्न जग्गा माग भएबमोजिम सोको लागि समेत पोखरालगायत आसपासका क्षेत्रमा एकै ठाउँमा ७ सयदेखि १ हजार २ सय रोपनी जग्गाको खोजीसमेत भएको कार्यदलले जनाएको छ ।

कार्यदलको तर्फबाट कार्यदलका सदस्य खड्ग रानाभाटले खेलकुद सम्भाव्यता अध्ययनका पाँचवटा शीर्षकका प्रतिवेदन मन्त्री पुनलाई बुझाएका थिए ।