लमजुङमा ट्राफिक कारबाहीबाट ५६ लाख राजस्व संकलन

लमजुङमा ट्राफिक कारबाहीबाट ५६ लाख राजस्व संकलन


लमजुङमा आर्थिक वर्ष ०७४-७५ मा ट्राफिक कारबाहीबाट रु. ५६ लाख नौ हजार राजस्व संकलन भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजस्व संकलन गरिएको हो ।

सो अवधिमा जिल्लामा आठ हजार ५ सय ५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकलचालक रहेका छन् । यसक्रममा तीन हजार २ सय ६५ मोटरसाइकलचालकलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३ सय २१ जिप, कार, भ्यानचालक, एक हजार २ सय २७ ट्याक्टरचालक, एक हजार १ सय ३५ ट्रक चालक र ६ सय २३ बसचालक कारबाहीमा परेका छन् । सो अवधिमा चारपांग्रे साना सवारीसाधनका चालकबाट रु. १४ लाख २६ हजार, ट्याक्टरचालकबाट रु. नौ लाख २२ हजार, ट्रकचालकबाट सात लाख र बसचालकबाट रु. तीन लाख ५१ हजार राजस्व संकलन गरिएको छ ।

गत आवको तुलनामा रु. नौ लाख १६ हजारभन्दा बढी राजस्व संकलन भएको छ । गत आवमा सात हजार ५ सय ३ सवारीसाधनका चालकलाई कारबाही गरी रु. ४६ लाख ९३ हजार राजस्व संकलन गरिएको थियो ।