जथाभावी फोहोर फाल्नेबाट पाँच लाखभन्दा बढी असुल

जथाभावी फोहोर फाल्नेबाट पाँच लाखभन्दा बढी असुल


आर्थिक वर्ष ०७४–७५ मा काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेबाट रु. पाँच लाखभन्दा बढी रकम असुल गरेको छ ।

महानगरका मुख्य सहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहोर फाल्ने १ सय ८१ जनाबाट कारबाहीस्वरूप रु. पाँच लाख ६ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १ सय ४२ जनाबाट रु. पाँच लाख असुल गरेको थियो ।

महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहोर लिन आउँदा फोहोर नफ्याँक्ने, अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहोर नथुपार्ने १ सय ८१ जनालाई कारबाही गरेको हो ।

उनका अनुसार विशेषगरी पुतलीसडक, बागबजार, नयाँसडक, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहाोर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार मेट्रिक टन फोहोर जम्मा हुने गरेको छ ।

विभागले जथाभावी फोहोर फाल्नेबाट न्यूनतम रु. ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहोर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौं उपत्यकाको ८०० मेट्रिक टन फोहोर व्यवस्थापन गर्दै आएको छ ।

अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहोर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरूप आर्थिक रकम मात्रै असुल गर्दै आएको छ । आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहोर फालेको प्रमाणसहित फेला पारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।