मेक्सिको विमान दुर्घटनाका सबै यात्रु जीवितै

मेक्सिको विमान दुर्घटनाका सबै यात्रु जीवितै


उत्तरी मेक्सिकोमा मुसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्गनजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु सामान्य घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

डुरांगोबाट मेक्सिको सिटीका लागि उडान भर्न लागेको एरोमेक्सिको कम्पनीको उक्त विमान स्थानीय समयानुसार मंगलबार अपराह्न ३ बजे दुर्घटनाग्रस्त भएको थियो । एयरलाइन्सका महानिर्देशक आद्रे्रस कोनेसाले पत्रकार सम्मेलन गरी विमानमा चारजना चालक दलका सदस्य, ८८ जना पुरुष, ९ जना केटाकेटी र २ जना शिशु रहेको जानकारी दिए ।

उडान नं. एएम २४३१ को यस दुर्घटनामा सबै व्यक्ति जीवितै रहेको डुरांगोका गभर्नर जोसे रोसास्ले पुष्टि गरे । यस दुर्घटनामा एक पाइलटको मेरुदण्डमा समस्या आएको र एक बालिकाको २५ प्रतिशत शरीर जलेर गम्भीर घाइते भएको गभर्नर रोसास्ले जानकारी दिए ।

दुर्घटनापछि कुल ९७ जना उपचारको लागि अस्पताल भर्ना भएका र तीमध्ये प्रायः सामान्य रूपमा मात्र घाइते भएका गृह मन्त्रालयका प्रवक्ता एलेक्जान्द्रो कार्डोजाले बताए । कार्डोजाका अनुसार भीषण वर्षाको कारण विमानचालकले आकस्मिक अवतरण गर्न खोजेको र सोही अवस्था विमानमा आगलागी भएको थियो ।

एएफपी