दलित अधिकारकर्मी सदा सम्मानित

दलित अधिकारकर्मी सदा सम्मानित


हेमशंकर सिंह

राजबिराज । दलित अधिकार तथा सामाजिक र राजनैतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय सप्तरीका असर्फी सदा राजविराजमा सम्मानित भएका छन् ।

मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुऱ्याएका सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ का ४४ वर्षीय सदा वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७५ बाट सम्मानित भएका हुन् ।

वैध–प्रकाश मानवअधिकार पुरस्कार कोषले २६औं प्रकाश स्मृति दिवसको अवसरमा बुधबार राजविराजमा सदालाई सो पुरस्कारबाट सम्मानित गरेको हो । सदालाई सम्मानित गर्दै इन्सेक पूर्वाञ्जल क्षेत्रीय संयोजक सोमराज थापाले सबैखालको उत्पीडिन विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।

व्यवस्थामा परिवर्तन भए तर अवस्थामा परिवर्तन आउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले सबै क्षेत्रलाई नियन्त्रण गर्न मानवअधिकारको सधै आवश्यकता रहेको बताउनुभयो । मानव अधिकारको क्षेत्रमा सबैभन्दा अग्र भागमा रहेर प्रहरी र संचारकर्मीले मानव अधिकारको रक्षा गरिरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा २ दशकदेखि गरिव, असहाय, दलित, महिला, अल्पसंख्यक र भुमिहीनहरुको उत्पीडन विरुद्ध कटिबद्ध भई लागेकाले सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज ७ बस्ने प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पहिलोपटक २०७३ मा दलित आन्दोलनका अगुवा बलदेव रामलाई र दोस्रोपटक २०७४ मा युक्तिलाल मरिकलाई सम्मानित गरिएको थियो । पुरस्कारको राशी ३ हजार १ सय तथा कदरपत्र रहेको छ ।

सशक्तिकरणका लागि योगदान पु¥याउने यो पुरस्कारलाई स्थानीय तहको तल्लो स्तरसम्म पु¥याउने पुरस्कृत व्यक्ति असर्फी सदाले बताउनुभयो ।

दुई दशकदेखि दलित, भूमिहीन, सुकुम्वासीको हकअधिकार प्राप्ति र संरक्षणको आन्दोलनमा सक्रिय सदाले दलित सशक्तिकरण, मानवअधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रही २०५५/०५६ यताको सिनो वहिष्कार आन्दोलनमा प्रशंसनिय भूमिका निर्वाह गर्नुभएको थियो ।

सुकुम्बासी र भूमिहीनहरुको पक्षमा मधेसमा क्रान्तिकारी भूमिसुधारको आवश्यकताको वकालत गर्दै लोकतन्त्र र गणतन्त्रका लागि सक्रिय रहँदै आउनुभएका सदाले करिव दुई वर्ष प्रहरी, सेनाको हिरासत र कारागारमा चरम यातना भोग्नुभएको छ । भूमि तथा कृषि अधिकार, जातीय छुवाछुत र घर उठिवासविरुद्धको अभियानमा सप्तरी, सिरहालगायतका जिल्लामा सदाको क्रियाशीलता उत्साहजनक रहेको छ । मुसहर समुदायमा जागरण ल्याउन प्रयास गर्दै आउनु भएका प्रवीणता प्रमाण पत्र तह उत्तिर्ण एवं दक्षिण एशिया मुसहर उत्थान परिषद्का सदस्य सदाले पछाडि परेका वर्गको आर्थिक, सामाजिक र शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउँदै आउनु भएको छ । यस क्रममा उहाँले २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बरिष्ट पत्रकार शिवहरि प्रसाद भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, निजामति कर्मचारी संगठन आधिकारिक टेड्रयुनियनका अध्यक्ष अजयकुमार झालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कोषका सदस्य माला कर्णद्वारा सञ्चालित कार्यक्रममा पुरस्कारबारे जानकारी दिँदै पुरस्कारको घोषणा कोषकै सदस्य मनोहर पोखरेलले गर्नुभएको थियो ।

थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो । उनकै सम्झनामा प्रत्येक वर्ष साउन १६ गतेका दिन एक जना मानवअधिकारकर्मीलाई रु ५० हजार नगद रासी सहित सम्मानित गर्ने गर्दछ ।

यस वर्षको पुरस्कार भने मुस्लीम समुदायमा दाइजोविरुद्द अभियान चलाउने जनकपुरका मो. मक्सुद राँकीलाई आजै एक समारोहका बीच दिन लागेको इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिनुभयो । प्रदेश न. २ का मुख्य मंन्त्री लालबाबु राउतले जनकपुरमा राँकीलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रम रहेको छ ।