नयाँदिल्लीको एक होटलबाट भारतको महिला आयोग (डिसीडब्लु)ले ३९ जना नेपाली महिलालाई उद्धार गरेको छ । नेपालबाट त्यहाँ पु¥याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको अवस्थामा मङ्गलबार राति उद्धार गरिएको हो ।
ती नेपाली महिलालाई पहिले दिल्ली ल्याइएको र त्यहाँबाट उनीहरुलाई जागीर दिलाउने वाचा गर्दै अवैध व्यापारको लागि खाडी राष्ट्रमा पठाउने तयारी गरिएको डिसीडब्लूका प्रमुख स्वाती मालीवालले सञ्चारमाध्यमलाई जानकारी दिएकी हुन् ।
केही महिलालाई यसअघि नै श्रीलङ्का पठाइएको र उनीहरु सम्पर्कविहीन रहेको पनि मालीवालले बताइन् । दिल्लीका विभिन्न स्थानबाट एक हप्ताभित्र नै ७३ जना महिलालाई उद्धार गरिसकिएको पनि मालीवालले बताएकी छिन् ।
मालीवालले गृहमन्त्री राजनाथ सिंहलाई दिल्लीका प्रहरी उच्च अधिकारीहरुसँग यस विषयमा छलफल गर्नको लागि समेत आग्रह गरेकी र दिल्ली प्रहरीलाई मानव ओसारपसारको यो कार्य रोक्नको लागि निर्देशन दिन मन्त्री सिंहसँग अनुरोध गरेकी छिन् ।
गत जुलाई १६ मा पनि मुनीरका क्षेत्रबाट १६ नेपाली महिलालाई उद्धार गरिएको डिसीडब्लुले जानकारी दिएको छ । ती नेपाली महिलालाई भारत ल्याइएको र त्यसपछि राम्रो जागीर दिलाउने लोभ देखाएर कुवेत र इराकमा लैजाने तयारी रहेको जानकारी दिइएको छ ।
प्रतिक्रिया