पत्रकार पक्ष वा विपक्षका नाममा अरूको गोटी बन्न नहुने : श्रेष्ठ

पत्रकार पक्ष वा विपक्षका नाममा अरूको गोटी बन्न नहुने : श्रेष्ठ


नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज पोखरामा आयोजित ‘पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेसालाई मर्यादित बनाउन आचारसंहिताको पालना आवश्यक भएकामा जोड दिइएको छ ।

आचारसंहिताको पालना नगरी समाचार सम्प्रेषण गर्दा समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाएको बताउँदै अन्तरक्रियाका वक्ताहरूले सत्य, तथ्य र विश्वसनीय समाचारले पेसालाई मर्यादित बनाउने बताए ।

नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले हतारोको पत्रकारिता फस्टाउँदै जानु र खोजी पत्रकारिता हराउँदै जानु चुनौतीका रूपमा देखापरेको बताउँदै पत्रकारितामा बढ्दै गएको अराजकता अन्त्य गर्नुपर्ने धारणा राखे । सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने पत्रकारहरू पक्ष वा विपक्षका नाममा अरूको गोटी बन्न नहुनेमा उनको जोड छ ।

नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले समाज रूपान्तरणका लागि राम्रा सूचना प्रवाह हुनु आवश्यक भएको बताउँदै सञ्चारगृहले पनि पत्रकार आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उल्लेख गरे ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले समाज, राष्ट्र र पेसाप्रतिको दायित्वलाई प्रत्येक सञ्चारकर्मीले बहन गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, विज्ञ टीकाराम राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनालगायतले पत्रकारिता पेसाको गरिमा र महत्व अभिवृद्धिका लागि आचारसंहिताको कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।