मतगणनाको नतिजामा ढिलाइ भएको भन्दै जिम्बाबेको राजधानीमा विरोध प्रदर्शन

मतगणनाको नतिजामा ढिलाइ भएको भन्दै जिम्बाबेको राजधानीमा विरोध प्रदर्शन


जिम्बाबेको राजधानी शहर हरारेमा बुधबार क्रूद्ध प्रदर्शनकारीले ढुंगामुढा र सवारीसाधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

सत्तारुढ दल जानु–पीएफका संस्थापक नेता एवम् पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् ।

संसदको चुनावमा सत्तारुढ जानु–पीएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणालगत्तै हरारेका मुख्य स्थानहरूमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ र वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरूले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् ।

गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौँ जिम्बाबेलीले ४८ घन्टा नबित्दै मुख्य सडक छिचोल्दै सैनिक ट्यांक दौडेको अनौठो दृश्य हेर्नुपरेको छ । सैनिकले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुटपिट गरेका छन् । केही पत्रकारमाथि कुटपिट भएको छ ।

बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपरसहित हरारेका मुख्य सहरी इलाकाहरुमा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबीसीका अनुसार गोली लागेर तीनजनाको मृत्यु भएको छ ।

‘अहिले त परिस्थिति बिल्कुलै भिन्न छ,’ ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पिगुले भनिन्, ‘सोमबार मानिसहरू ज्यादै खुसी थिए । आज, उनीहरू निराश छन् । यहाँ कहिले शान्ति आउला ?’

अधिकारीहरूले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्युँताएका छन् जसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबुबाहिरको परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकारविरोधी भेला र प्रदर्शन रोक्न यही कानुनलाई बारम्बार प्रयोग गरिन्थ्यो ।

राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षीहरू दोषी रहेको बताए । उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताए ।

तर, विपक्षीले सुरक्षा निकायले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरूको आरोप छ । ‘के हामी युद्धको स्थितिमा छौँ ? के नागरिकहरू राज्यका दुश्मन हुन् ?’ मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गरे ।

संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनाव तुलनात्मक रूपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् । हिंसा र अनियमितताको सिकार हुने गरेको विगतको तुलनामा यसपटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरूको भनाइ छ ।

‘राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाइ हुन्छ निर्वाचन प्रक्रियामा आमजनताको विश्वास त्यति कमजोर हुँदै जान्छ,’ अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्वलाइबेरियन नेता एलेन जोन्सन सरलेफले बताए ।

एएफपी