क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो द्रुत गतिमा शहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मेलनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताए ।
हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरूलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागी नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताए ।
एक लाख २१ हजार एकड जमिन आगलागीबाट नष्ट
क्यालिफोर्नियाको इतिहासमै छैटौँ भीषण आगलागी
आगलागी नियन्त्रणका लागि करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेट
आगलागीमा परी ६ जनाको मृत्यु, ३८ हजार विस्थापित
आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको बजेटको एक चौथाइ खर्च भइसकेको पनि उनले बताए । आगलागी नियन्त्रणका लागि करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेट रहेको ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एन्ड प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले बताए ।
क्यालिफोर्नियाका अग्नि नियन्त्रकका अनुसार पुनः सुरु भएको नयाँ आगलागीमा परी गोदामसहित ४८८ घर नष्ट भएका छन् । क्यालिफोर्नियाको इतिहासमा यो छैटौँ भीषण आगलागी हो ।
गत जुलाई २३ देखि शुरु भएको यस आगलागीमा परी ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै एक लाख २१ हजार एकड जमिन आगलागीबाट नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया