विवाद समाधान गर्न ‘फ्याक्ट फाइन्डिङ टिम’ नेपाल आउँदै छ

विवाद समाधान गर्न ‘फ्याक्ट फाइन्डिङ टिम’ नेपाल आउँदै छ


sport– नीलेन्द्रराज श्रेष्ठ (अध्यक्ष, नेपाल एमेच्योर एथलेटिक्स सङ्घ)

खेलकुदलाई आफ्नो जीवनको अभिन्न पाटो बनाएका उनको यात्रा खेलकुदमा अहिले पनि जारी छ । निरन्तर खेलकुदको यात्रामा खेलाडी, पदाधिकारी, प्राध्यापक, खेलविज्ञ र आयोजकको रूपमा आफूलाई सफल रूपमा प्रस्तुत गरिरहेका नीलेन्द्रराज श्रेष्ठले अब खेलकुदमा गर्नु भनेकै केही बाँकी छैन । खेलकुदका विभिन्न विधा स्पोर्टस् साइन्स, म्यानेजमेन्ट र स्पोर्टस् मेडिसियन आदिमा जर्मनीमा सात वर्ष अध्ययन गरेका श्रेष्ठले सन् २००७ देखि सर्वाधिक पुरस्कार राशिको ‘काठमाडौं म्याराथन’ आफ्नै बलबुताबाट निरन्तर रूपमा सञ्चालन गरेर निकैै ख्याति कमाउँदै आएका छन् । वर्तमान अवस्थामा खेलकुदका महत्वपूर्ण निकाय एसियन ट्राइयाथलन कन्फिडेरेसन पारा ट्राइयाथलन कमिटीका सदस्य, साउथ एसियन ट्राइयाथलन सङ्घका अध्यक्ष, नेपाल एमेच्योर एथलेटिक्स सङ्घका अध्यक्ष, नेपाल ट्राइयाथलन सङ्घका महासचिव र माउन्टेन स्पोर्टस् फेडेरेसन नेपालको सदस्यमा कार्यरत श्रेष्ठसँग नजिकिँदै गएको काठमाडौं म्याराथन, एथलेटिक्स विवाद र खेलकुदका समसामयिक विषयमा घटना र विचारले गरेको विशेष कुराकानी ः

० तपाईं खेलकुदका विभिन्न सङ्घ एथलेटिक्स, ट्राइयाथलन, माउन्टेन स्पोर्टस्मा कार्यरत हुनुहुन्छ, समग्र खेलकुदको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको
छ ?
– मैले धेरै वर्ष खेलाडीजीवन बिताएँ, खेलकुदमा अध्ययन गरेँ, विभिन्न खेलको आयोजना गरेँ, आजको खेलकुदलाई मूल्यांकन गर्दा सरकारले लगानी गरे तापनि खेलकुदमा हुनुपर्ने सिस्टममा नचलेका कारणले खेलकुद उपलब्धिमूलक बन्न सकेको अवस्था छैन । त्यसको मूलकारण खेलकुदमा अध्ययन गरेका व्यक्तिको अभाव छ अर्थात् औँलामा गन्न सकिने सङ्ख्यामा छन् । आजको युगमा खेलकुद भनेको विज्ञान र रिसर्च हो, तर दुर्भाग्य, आज पनि आफ्नो खेलकुद परम्परागत रूपमा सञ्चालन भइरहेको छ । हाल राखेपले खेलकुद विज्ञान प्रतिष्ठानको नयाँ अवधारणा अगाडि ल्याएको छ, जसलाई सही ढङ्गले सञ्चालन गर्न सके विज्ञहरूको अभावलाई पूर्ति गरी खेलकुदलाई वैज्ञानिक तरिकाले अगाडि बढाउन सकिन्छ ।
० खेलकुद विज्ञान प्रतिष्ठानको अवधारणाले खेलकुदलाई चाहिने विज्ञहरूको उत्पादन हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– नेपालको परिप्रेक्ष्यमा यस्तो अवधारणा आउनु आफैँमा राम्रो कुरा हो । आजको दिनमा खेलकुदमा विज्ञहरूको कमी छ, चाहिएमा विदेशबाटै विज्ञहरू मगाएर भए पनि अध्ययन गराउनुपर्ने हुन्छ । त्योभन्दा पनि जरुरी कुरा आजको राखेपको नेतृत्वले सुरु गरेका कुरालाई नेतृत्व परिवर्तन हुँदा पनि कायमै रहने सक्ने किसिमबाट यो प्रतिष्ठानलाई अगाडि बढाउनुपर्छ । यसो भएको खण्डमा मात्र हामीले लक्ष्यप्राप्त गर्न सक्छौँ ।
० आगामी असोज ५ गते तपार्इं काठमाडौं म्याराथनको सातौँ संस्करणको तयारीमा हुनुहुन्छ, अहिलेसम्मको म्याराथनको आयोजनाबाट के उपलब्धि हासिल गरे जस्तो लाग्छ ?
– प्रथमतः विगत सात वर्षदेखि एक वर्ष अगावै मिति तय गरेर आयोजना गरिने प्रतियोगिता भनेकै ‘काठमाडौं म्याराथन’ हो । यो प्रतियोगितालाई यहाँसम्म पु-याउन मैले धेरै पापड बेलेको छु । चुनौती हरेक वर्ष थियो, आउने सातौँ संस्करणका लागि पनि छ । सातौँ संस्करणसम्म आइपुग्दा काठमाडौं म्याराथन खेलाडीको आफ्नो म्याराथन बन्न पुगेको छ । निरन्तर आयोजना हुनु र लोभलाग्दो पुरस्कार राशिले गर्दा खेलाडीका लागि यो प्रतियोगिता ठूलो धनराशि कमाउने माध्यमसमेत बनेको छ । सन् २००७ मा काठमाडौं म्याराथन शुभारम्भ गर्दा २०–२५ धावकले मात्र म्याराथनको दूरी (४२.१९५ किलोमिटर) पार गर्ने सक्ने अवस्था थियो तर अहिलेको सिनारियो भन्दै छ । आज हामीसँग एक सय ५० देखि दुई सयजना म्याराथन धावक छन्, जुन यो म्याराथनका उपज हुन् । त्यसैले यो पहिलो र ठूलो उपलब्धि हो ।
० लोभलाग्दो पुरस्कार राशि भन्नुभयो, सातौँ संस्करणमा पुरस्कार राशि बढाउनुभएको छ कि ? साथै अन्य कुराको व्यवस्थापन कसरी मिलाउनुभएको छ ? यसपटक कति राष्ट्रको सहभागिता रहने अपेक्षा गर्नुभएको छ ?
– हामीले पहिलो संस्करणमा चालीस लाखको पुरस्कार राशि राखेर शुभारम्भ गरेका थियौँ । तर, यहाँको परिप्रेक्ष्यमा प्रायोजकहरू आउन धेरै गाह्रो भएकाले पुरस्कार राशि घटाएर पनि यसलाई निरन्तरता दिएका छौँ । घटाएको पुरस्कार राशि पनि अन्य खेलको दाँजोमा आज पनि धेरै बढी छ । कुल सात लाख ५० हजार पुरस्कार रहेको यो म्याराथनमा पहिलो स्थानदेखि दशौँ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । जसमा प्रथम हुने पुरुष र महिलाले एक–एक लाख प्राप्त गर्नेछन् । सम्पूर्ण पुरस्कारको व्यवस्था प्रमुख प्रायोजक ‘रियल जुस’ डाबर नेपालले गरेको छ । यसपटक करिब २० राष्ट्रका दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
० तपार्इं एथलेटिक्स सङ्घको अध्यक्ष, यतिबेला राष्ट्रिय–अन्तर्राष्ट्रिय एथलेटिक्सको चर्चा चलिरहेको छ, वास्तविक कुरा के हो ? विवाद सल्टिएको भन्छन्, आखिर सत्य के हो ?
– पुरानो एथलेटिक्स सङ्घले १३ वर्षसम्म निर्वाचन नगरेको, आर्थिक अनियमिता तथा अन्य कारणहरू देखाउँदै राखेपले उक्त समितिलाई विघटन गरी मेरो अध्यक्षमा तदर्थ समिति गठन गठन गरेको हो । तत्पश्चात् हामीले नेपाल एमेच्योर एथलेटिक्स सङ्घको प्रजातान्त्रिक पद्धतिबाट निर्वाचन गराई वैधानिकता प्राप्त गरेका थियौँ । त्यसपछि हामीले अन्तर्राष्ट्रिय मान्यताका लागि पहल गर्दा पुराना सङ्घका साथीहरूले आफूहरूलाई अझै अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ भनी ठाउँ नछोडेकाले विवाद देखिएको हो । सङ्घमा विवाद देखिएपछि आईएएएफले २९ जुलाई २०१३ मा सङ्घलाई पत्राचार गर्दै हाल रुक्मशमशेर राणा अध्यक्ष रहेको सङ्घलाई अर्थात् (ठप्प) गरेको छ । आईएएएफका प्रेसिडेन्डले विवाद समाधानका लागि छिट्टै एउटा ‘फ्याक्ट फाइन्डिङ टिम’ नेपाल पठाउने भएको छ । त्यसपछि आईएएएफको विधानअनुसार हामीलाई मान्य हुने तदर्थ समितिको गठन हुनेछ । तत्पश्चात् आईएएएफको प्रतिनिधि राखी निर्वाचन गरेपछि नेपालमा एउटै मात्र नेपाल एमेच्योर एथलेटिक्स सङ्घ रहनेछ ।
० नेपाल एमेच्योर एथलेटिक्स सङ्घलाई आईएएएफले निलम्बन र विघटन गरेकोे कुरा सञ्चारमाध्यममा आएका थिए, आखिर सत्य के हो ?
– साँचो रूपमा भन्नुपर्दा अन्तर्राष्ट्रिय सङ्घहरूले कहिल्यै पनि निलम्बन र विघटन भन्ने शब्द तुरुन्तै प्रयोग गर्दैनन् । आईएएएफको २९ जुलाई २०१३ को पत्रअनुसार हालको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सङ्घलाई गरेर तदर्थ समिति बनाउने कुरा मात्र उल्लेखित छ । कुनै पनि सङ्घ विघटन नगरी तदर्थ समिति बन्दैन, र बन्ने कुरा पनि हुँदैन । त्यसैले उक्त पत्रले पुरानो सङ्घ विघटन गरिएको भन्ने नै बुझिन्छ । आईएएएफको यो निर्णयले नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स सङ्घ नभएको र हामी राष्ट्रिय मान्यता सङ्घ मात्र भएको अवस्थामा छौँ ।
० तपाईं ट्राइयाथलनको महासचिव पनि हुनुहुन्छ, हिजोसम्म नामै नसुनेको खेलले एसियन च्याम्पियनसिपमा एक महिनाको अन्तरमा दुईवटा स्वर्ण पदक जित्नुलाई कसरी हेर्नुभएको छ, यो सफलताको राज के हो ?
– ग-यो भने सकिने रहेछ । ट्राइयाथलन स्विमिङ, साइक्लिङ र रनिङको मिश्रणबाट खेलिने खेल हो । रनिङ र साइक्लिङको राम्रो खेलाडीलाई पौडीवाज बनाउन कठिन तथा निकै समय लाग्ने हुन्छ । तर, स्विमिङका राम्रा खेलाडीलाई साइक्लिङ र रनिङमा राम्रो बनाउन धेरै समय लाग्दैन । हामीले यसैअनुरूप स्विमिङका राम्रा खेलाडी तर मेडेल जित्न असफल भएका खेलाडीलाई फोकस ग-यौँ । सुरुमा टेस्ट कम्पिटिसन ग-यौँ, त्यसको लगत्तै काठमाडौं र पोखरामा प्रतियोगिता सञ्चालन गरेका थियौँ । सन् २०१२ को मार्चमा प्रथम साउथ एसियन ट्राइयाथलन च्याम्पियनसिपको आयोजना गरेका थियौँ । उक्त च्याम्पियनसिपमा भारतका राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता रहेको थियो । यो च्याम्पियनसिपमा नेपाली खेलाडीले भारतीय खेलाडीलाई उछिनेर प्रथम स्थान हासिल गरेपछि आशाका किरण देखिएका थिए । यो सफलतापछि सङ्घले टेष्टको रूपमा फिलिपिन्सको सुविकवेमा सम्पन्न भएको एसियन ट्राइयाथलन च्याम्पियनसिपमा राजीव गुरुङलाई सहभागिता गराएको थियो । २० देखि २९ वर्षको समूहमा प्रतिस्पर्धा गरेका राजीवले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । सङ्घको रेकर्डमा राजीवभन्दा टीकाराम थापा उत्कृष्ट खेलाडी भए पनि बेगनासको असफलतासँगै थापाको सट्टा राजीवले अवसरमा पाएका थिए । सोही कारणले थापालाई पछि चीनमा सिजाउमा भएको एसियन कपमा सहभागिता गराइएको थियो । थापाले पनि त्यहाँ स्वर्ण पदक जितेर नेपाललाई दोस्रो ऐतिहासिक सफलता दिलाएका थिए । नेपालमा धेरै प्रतिभाशाली खेलाडी छन् तर उनीहरूको खोजी नभएको र निरन्तर प्रशिक्षणको अभावले गर्दा प्रतिभाशाली खेलाडीलाई ठीक समयमा ठीक ठाउँमा सहभागिता गराउन सकिएको छैन । हाम्रो सफलताको राजको कुरा गर्दा १५ महिनाभित्र एउटा कठोर प्रयास, दूरदर्शिता र व्यावसायिक पहिचानका कारणले नै ट्राइयाथलनले यति छोटो समयमा सफलता प्राप्त गरेको हो ।
० तपाईं खेलकुद विज्ञ मान्छे, जति खेलकुमा काम गर्नुभएको छ त्यति नै समयसमयमा विवादमा पर्नुभएको छ, यस्तो हुनुमा कसलाई दोषी ठान्नुहुन्छ, आफूलाई कि विवादमा ल्याउनेलाई ?
– कोेही मान्छे काम गरेर चर्चामा आएपछि उसलाई तानेर विवादमा ल्याएपछि एउटा ‘विषय’ बन्छ । विवादमा आउँला, कसैले कुरा काट्ला र पत्रिकामा विरोधमा लेखिएला भनेर डर मान्ने हो भने कामै नगरेर घरमा बसे हुन्छ । मेरो उद्देश्य नबिराउनु, नडराउनु हो । मैले खेलकुदमा काम गर्ने भनेको आफ्नो अनुभव, आफ्नो समय दिएर भोलेन्डियर गर्ने मात्र हो । तसर्थ विरोध गर्ने र लेख्नेलाई पनि मेरो काममै जवाफ दिँदै आएको छु ।

युवा दौडमा मान, मनमति र मीन विजयी
युवा दौड प्रतियोगितामा मानबहादुर थापा, मनमति विष्ट र मीनबहादुर चौधरी पहिलो भएका छन् । खुला पुरुषमा मानबहादुर र महिलामा मनमति तथा जुनियर खुलामा मीनले स्वर्ण जितेका थिए । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, खेलकुद विभागद्वारा आयोजित तीनवटै दौडको दूरी पाँच किलोमिटरको थियो ।
निर्धारित दूरी पूरा गर्न मानबहादुरले १७ मिनेट ५२ सेकेन्ड समय लगाएका थिए भने करण खड्का (१८ मिनेट ०५ सेकेन्ड) दोस्रो र लक्ष्मण काफ्ले (१८ मिनेट ०९ सेकेन्ड) तेस्रो भएका थिए । त्यस्तै मनमतिले २४ मिनेट ०१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् भने वसन्ती कुमाल चौधरी (२८ मिनेट ५८ सेकेन्ड) ले रजत र श्रेया भण्डारी (३३ मिनेट २८.०५ सेकेन्ड) ले कास्य जितेका थिए । यसैगरी मीनले २४ मिनेट ११.९ सेकेन्डमा दौड पूरा गरेका थिए भने आकाश महतो दोस्रो र ज्ञानदास चौधरी तेस्रो स्थानमा चित्त बुझाएका थिए । खुलाको दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०, ५ र ३ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए । जुनियरमा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई एनेकपा माओवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, आयोजकका अध्यक्ष गणेशमान पुन, प्रतियोगिता संयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले खेलकुद क्षेत्र विकास, सभ्यता र संस्कृतिको परिचय बन्न सकोस् भनी कामना गरेका थिए । प्रतियोगिताको खुलामा नौ सय तथा जुनियरमा एक सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।
चार खेलाडी सम्मानित
योङ कम्युनिस्ट लिग, खेलकुद विभागले कराते र ट्रायथलनका दुई–दुई गरी चार अन्तर्राष्ट्रिय पदक विजेतालाई नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा करातेका गंगादेवी अधिकारी र सुनील लामा तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापा थिए । वर्ष २०६९ मा भएको एसियालीस्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेबापत खेलाडीलाई सम्मान गरिएको हो । अध्यक्ष दाहालले उनीहरूलाई १५ हजारका दरले नगदसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए ।

खेल समाचार

स्वर्ण महोत्सवमा विविध कार्यक्रम सम्पन्न
राष्ट्रिय खेलकुद परिषद्को स्वर्ण महोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राखेप कर्मचारी सङ्घद्वारा गठित स्वर्ण महोत्सव आयोजक समितिले आयोजना गरेको रक्तदानमा ६० जनाले सहभागिता जनाएको राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले जनाएका छन् । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा भएको रक्तदान कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको थियो । सङ्कलित रगतलाई भृकुटीमण्डपस्थित ब्लडबैंकमा जम्मा गरिने सोसाइटीले जनाएको छ । महोत्सवको पहिलो दिन केन्द्रमा प्रभातफेरी, दौड/तानडोरी प्रतियोगिता र साँझ दीपावली गरिएको थियो । त्यसै दिन पाँचै क्षेत्रीय र ७५ जिल्ला खेलकुद विकास समितिमा पनि प्रभातफेरी, दौड/तानडोरी प्रतियोगिता, सरसफाइ र दीपावली गरिएको थियो ।
महोत्सवअन्तर्गत भदौ १६ मा उपत्यकाका खेलकुद कार्यालय हातामा बृहत् सरसफाइ कार्यक्रम गरिएको थियो । सरसफाइमा राखेपका कर्मचारीको सहभागिता रहेको थियो । राखेप र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सरसफाइ गरिएको राखेप कर्मचारी सङ्घका उपमहासचिव कुमार बस्नेतले जनाएका छन् । महोत्सवकै अवसरमा भएको काठमाडौं जिल्ला अन्तरकर्मचारी टेबलटेनिस प्रतियोगितामा प्रकाश लामाले स्वर्ण जितेका थिए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रकाशले लीलाराम बस्नेतलाई २–१ ले हराए । विनोद घिमिरेले तेस्रो स्थानमा चित्त बुझाए । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित एकदिने प्रतियोगितामा १० कर्मचारीले प्रतिस्पर्धा गरेका थिए । अन्तिम दिन भदौ १९ मा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

एलए टेनिसमा सेन्ट जेभियर्स च्याम्पियन
सेन्ट जेभियर्सले सातौँ एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको टिम च्याम्पियनको उपाधि जितेको छ । लिटिल एन्जल्स स्कुलद्वारा आयोजित प्रतियोगितामा कुल ८१ अङ्कसाथ सेन्ट जेभियर्स समग्रमा नयाँ च्याम्पियन बनेको हो । यसअघि अघिल्ला सबै संस्करणको उपाधि आयोजक एलएले जितेको थियो । नेपाल प्रहरी स्कुल (एनपीएस) ४५ अङ्कसाथ दोस्रो भयो भने तेस्रो स्थानमा रहेको शुभताराले ४२ अङ्क जोडेको थियो ।
प्रतियोगिताको अन्तिम दिन यू–१६ गल्र्स सिंगल्सको उपाधि सेन्ट जेभियर्सकी विभूति कार्कीले जितेकी थिइन् । सोही उमेर समूहको ब्वाइजमा पिट्स इन्टरनेसनल स्कुलका अभिषेक बास्तोला पहिलो भएका थिए । दाइ संरक्षक भूषण बज्राचार्य र भाइ सम्यकबीचको यू–१२ ब्वाइज सिंगल्सको उपाधि भिडन्तमा संरक्षक ६–१, ४–६ र ६–० ले विजयी भएका थिए । त्यसै स्पर्धाको गल्र्स फाइनलमा पेनउडकी इरा राउतले स्वर्ण जितेकी थिइन् । यू–१८ ब्वाइज सिंगल्समा पिट्स इन्टरनेसनल स्कुलका अभिषेक बास्तोला, त्यस्तै सिंगल्सअन्तर्गत यू–८ को ब्वाइजमा पेनउडका अकी जुवेन राउत र गल्र्समा सेन्ट जेभियर्सकी इशाश्री शाह, यू–९ को ब्वाइजमा एनपीएसका विनय बटास र गल्र्समा सेन्ट जेभियर्सकी इशाश्री शाह, यू–१० ब्वाइजमा शुभताराका सम्यकभूषण बज्राचार्य र गल्र्समा सेन्ट जेभियर्सकी अभिलाषा विष्ट तथा यू–१४ को ब्वाइजमा शुभताराका संरक्षकभूषण बज्राचार्य र गल्र्समा सेन्ट जेभियर्सकी विभूति कार्कीले स्वर्ण जितेका थिए ।
यू–१८ गल्र्स सिंगल्सको उपाधि डीएभीकी विजिशा श्रेष्ठले जितिन् । डबल्सको यू–१४ ब्वाइजमा एनपीएसका रेन्जन लामा र अन्जान थिङ तथा गल्र्समा युलेन्सका क्याथी माथेमा र मेधावी गिरीको जोडीले शीर्ष स्थान हात पारेका थिए । विजेतालाई अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष मनोज शाणा, उपाध्यक्ष ज्योति राणा, एलएका भाइस प्रिन्सिपल राजेश श्रेष्ठ र मुकुन्दराज शर्मा, एलए व्यवस्थापन कमिटीका अध्यक्ष पीबी लिम्बूलगायतले पुरस्कार प्रदान गरेका थिए । साताव्यापी प्रतियोगितामा विभिन्न ३४ विद्यालयका दुई सय ९८ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

बास्केटबलमा बाबालाई दोहोरो सफलता
आयोजक बाबा बोर्डिङ हाइस्कुलले दोस्रो बाबा थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । बाबाले जुनियर ब्वाइज र स्टाफतर्फ उपाधि जितेको हो । चाबहिलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा बाबाले महामञ्जुश्रीलाई ९–६ ले पराजित ग-यो । स्टाफको फाइनलमा पनि बाबाले महामञ्जुश्रीलाई नै २२–१७ को नतिजामा निराश पारेको थियो । त्यस्तै सिनियरतर्फ ब्वाइजमा निम्स र गल्र्समा न्युभिजनले उपाधि हात पारेका थिए । सिनियर ब्वाइजमा निम्सका आकाश नकर्मी, सिनियर गल्र्समा न्युभिजनकी वर्षा तिम्सिना, जुनियर ब्वाइजमा बाबाका नीराकार बजिमय तथा स्टाफामा बाबाका मनीष तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । चारदिने प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६–१६, सिनियर गल्र्समा १२ तथा स्टाफमा ८ टिम सहभागी थिए ।

काठमाडौं तेक्वान्दोमा इन्द्रमान
इन्द्रमान तुलाधारको अध्यक्षतामा १५ सदस्यीय काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमिति (तदर्थ) गठन गरिएको छ । उपाध्यक्षमा टोनिल कर्माचार्य र प्रमोद पराजुली, सचिवमा कुमार घिसिङ लामा, सहसचिवमा विक्रम खड्गी तथा कोषाध्यक्षमा राजेन्द्र खड्गी रहेका छन् । सोभितमान गिरी, राजु थापा, मिनु कार्की, राजेन्द्र पुजारी, सुरेश मानन्धर, सुशीला महर्जन, कविराज नेगी लामा, राजकुमार लामा र मनोजकुमार शाह सदस्यमा चयन भएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

भेट्रान्समा किशोर च्याम्पियन
प्रथम राजन स्मृति अन्तरमदिरा व्यवसायी ब्याडमिन्टन च्याम्पियनसिप २०१३ अन्तर्गत भेट्रान्स एकलतर्फ युनाइटेड (टीबीआई ग्रुप) का किशोर भट्टराई च्याम्पियन भएका छन् । उनले हिमालयन डिस्टिलरीका प्रनेश श्रेष्ठलाई २१–१९ र २१–१८ ले पराजित गरेका थिए ।
सो स्पर्धामा होलसेलका रमेश शाक्य र आयोजक मदिरा व्यवसायी महासङ्घका विष्णु खड्का संयुक्त तेस्रो भएका थिए । नेपाल मदिरा व्यवसायी महासङ्घको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष एकलको उपाधि होलसेलका रुचान सिंहले जितेका थिए । बसुन्धरास्थित बुल्स इन्डोर हलमा आयोजित प्रतियोगिताको पुरुष युगलतर्फको खेलमा होलसेलका पदम र हेमन्तको जोडीले बाजी मारेको थियो । दुईदिने प्रतियोगिताको विजेता खेलाडीलाई नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष नवीनलाल श्रेष्ठ र हिमालयन डिस्टिलरीका सेल्स एन्ड मार्केटिङ प्रमुख प्रवीणकुमार नाग लगायतले खेल सामग्री (टिसर्ट), मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४६ खेलाडीको सहभागिता रहेको थियो ।

खुला एथलेटिक्स छनोट असोजमा राष्ट्रव्यापी खुला एथलेटिक्स छनोट असोजमा हुने भएको छ । असोज १३ देखि १५ गतेसम्म हुने छनोट प्रतियोगितामा १६ वर्षमुनिका केही इभेन्टको सञ्चालन हुन लागेको नेपाल एमेच्योर एथलेटिक्स सङ्घले जनाएको छ । साथै सन् २०१४ मा दक्षिण कोरियाको इन्स्योन सहरमा आयोजना हुने एसियाली खेलकुदको अन्तिम छनोटको निमित्त विभिन्न इभेन्टमा सङ्घले विभिन्न क्राइटेरिया निर्धारण गरिएको छ । उक्त खेलकुदमा सङ्घलाई प्राप्त हुने कोटाअनुसार अन्तिम छनोटमा क्राइटेरिया पार गर्ने खेलाडीलाई मात्र प्रतियोगितामा सहभागिताको अवसर मिल्नेछ । छनोट प्रतियोगितामा पुरुष इभेन्टतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर एक हजार पाँच सय मिटर, पाँच हजार मिटर, दश हजार मिटर,एक सय १० मिटर हर्डल्स, लङजम्प, ट्रिपलजम्प, हाइजम्प, सटपुट, डिस्कस थ्रो, ज्याभलिन थ्रो रहेका छन् भने महिला इभेन्टतर्फ सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एकहजार पाँच सय मिटर, पाँच हजार मिटर, दश हजार मिटर, सय मिटर हर्डल्स, लङजम्प, ट्रिपलजम्प, हाइजम्प, सटपुट, डिस्कस थ्रो, ज्याभलिन थ्रो रहेका छन् ।

पाठक–१

क्यामेराबाट बच्न क्यान्टिनको सहारा
सेवाग्राहीलाई दुःख दिएर अनुचित लाभ लिन पल्केका अध्यागमन विभागका केही भ्रष्ट कर्मचारी अख्तियारको कारबाहीमा परे पनि त्यहाँभित्र घुसआतङ्क मच्चाउने गौरव ढुङ्गेल नामका कम्प्युटर अपरेटरमाथि भने अख्तियारको नजर पुग्न सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभाग र विमानस्थलस्थित अध्यागमन कार्यालयको काम नै प्रभावित हुने गरी त्यहाँका भ्रष्ट कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि अध्यागमनका कर्मचारीको मानसिकतामै भूकम्प गएको छ । यद्यपि, अध्यागमन विभागभित्र घुसआतङ्क मच्चाउन च्यानलकै सूत्राधार मानिने कम्प्युटर अप्रेटर गौरव ढुङ्गेल भने अख्तियारको नजरमा अझै पनि पर्न नसक्नु दुर्भाग्यपूर्ण छ ।
अध्यागमन स्रोतका अनुसार कम्प्युटर अप्रेटर ढुङ्गेललाई विभागको प्रशासन शाखामा खटाइएको मात्रै छैन, हरेक निर्णयको टिप्पणी सुरुवातको जिम्मेवारी उनैलाई दिइएको छ । टिप्पणी उठाउने जिम्मेवारी पाएका कम्प्युटर अप्रेटर ढुङ्गेलले ‘अनुचित लाभ’ नपाएसम्म सकारात्मक शैलीको टिप्पणी नै उठाउँदैनन् । विभागमा कानुन अधिकृत भए पनि कानुनी समस्यामा उनै ढुङ्गेल अघि सर्ने र सामान्य समस्यालाई समेत जटिल तुल्याउने गरेको भुक्तभोगीहरू बताउँछन् । विभागको प्रत्येक तलामा सीसीटीभी जडान गरिएकाले कम्प्युटर अप्रेटर ढुङ्गेलले टिप्पणी उठाउनुअघि भुइँतलामा रहेको चमेनाकक्षमा गएर ‘अनुचित लाभ’को सहमति टुंग्याउने गरेको बताइन्छ । ‘दिनमा दशौँपटक क्यान्टिनमा पुग्नुको अर्थ के हो त ?’ अध्यागमन विभागकै एक कर्मचारीको प्रश्न थियो ।
कम्प्युटर अप्रेटर पदमा कार्यरत ढुङ्गेल झापा कारागारबाट अध्यागमन विभागमा सरुवा भएर आएपछि लाखौँ ‘अनुचित लाभ’ प्राप्त गरिसकेको उनको दाबी छ । ‘अनुचित लाभ’ लिन ढुङ्गेलले सामान्य प्रकरणलाई पनि अनेक बाङ्गाटिङ्गा कानुनी समस्या देखाएर ठूलै समस्याका रूपमा प्रस्तुत गरिदिन्छन् । उनको जालेमाले कुराको जालमा विभागका निर्देशक र अन्य अधिकारीसमेत पर्ने गरेका छन् । ‘यसो र उसो’ भन्दै हाकिमहरूलाई भड्काउन उनी माहिर छन् । उनले प्रशासन शाखा प्रमुख (शाखा अधिकृत) सुमित्रा लिम्बूको सोझोपनलाई समेत टीकाटिप्पणीको विषय बनाउने गरेको कुरा अन्य कर्मचारीहरूलाई पटक्कै मन पर्दैन । सेवाग्राहीलाई झन्झटको अवस्था सिर्जना गराएर ‘अनुचित लाभ’ लिन पल्केका कम्प्युटर अप्रेटर गौरव ढुङ्गेलमाथि अख्तियारको नजर कहिलेसम्म पर्ला ? प्रतीक्षाको विषय बनेको छ ।