घर्तीको जीवन रक्षाका लागि रकम संकलन

घर्तीको जीवन रक्षाका लागि रकम संकलन


साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।

ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गरेका हुन् ।

ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रु पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित रु सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुनबाट रु ५० हजार र मगर संघ कतारबाट संकलित रु २५ हजार रकम आज ‘दिलबहादुर घर्ती बचाउका लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ ।

रोल्पा नगरपालिका–१० का दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन पुग्दा साउदी नागरिकको मृत्यु भएपछि त्यहाँका अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई रु ६५ लाख तिर्न पर्ने भएको हो ।

देशभित्रै रोजगारी सिर्जना गर्छौ: मन्त्री पुन

सहयोग हस्तान्तरणपछि मन्त्री पुनले रोजगारीका लागि विदेश पुगेका नेपालीले अनेक दुःख कष्ट भोगिरहेको उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए ।

‘रोजगारीका लागि विदेश गएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ, दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उनले भने ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गर्नुपर्दछ, यसका लागि सरकारले काम अगाडि बढाइरहेको छ ।’

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब करिब संकलन गरिसकेको जनाएको छ ।