१९ जिल्लाका स्थानीय तहमा २०७ पद रिक्त

१९ जिल्लाका स्थानीय तहमा २०७ पद रिक्त


निर्वाचन आयोगका अनुसार, जम्मा ७७ जिल्लामध्ये १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी कुल २०७ पदमा उपनिर्वाचन गराउनुपर्ने छ । २०७४ सालको स्थानीय तह निर्वाचनको क्रममा उम्मेदवारी नै नपरेका कारण १८० पद रिक्त थिए ।

त्यसमा दलित महिला १७५ जना र सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकाको वडा नं.६ तिङ्लामा कुनै पनि उम्मेदवारले उम्मेदवारी नदिएका कारण सबै पाँच पद रिक्त थिए । स्थानीयवासीको माग अनुसार सो वडा हाल सोलु दूधकुण्ड नगरपालिका वडा नं। ११ कायम भएकाले अब त्यहाँ निर्वाचनको वातावरण बनेको छ ।

विगत एक वर्षको अवधिमा थप धरान नगरपालिकाका नगरप्रमुख तारा सुब्बा र संखुवासभाको मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटुवालको निधन भएकाले ती पद रिक्त छन् । एक वर्षमा सबैभन्दा बढी १६ जना वडा अध्यक्षको निधन भएको जानकारी आयोगका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले दिए ।

त्यसैगरी, नुवाकोट जिल्लाको दुप्चेश्वर गापा–१ का वडा अध्यक्ष मानव बेचबिखन मुद्दामा जेल परेकाले सो पद रिक्त छ भने कञ्चनपुर जिल्लाको पुनर्वास नपा–३ का वडा अध्यक्ष जिल्ला विकास समितिमा निर्वाचित भएपछि सो पद रिक्त छ । मकवानपुर जिल्लाको राक्सिराङका सदस्य प्रदेश सभामा निर्वाचित भएपछि त्यहाँ गापा सदस्य पद खाली रहेको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।