कलाकार खेम शर्माको निधन

कलाकार खेम शर्माको निधन


कलाकार खेम शर्माको निधन भएको छ । हास्य कलाकार तथा चलचित्र अभिनेताका रुपमा परिचित शर्मा पछिल्लो समय अमेरिकाको बाल्टीमोरमा रहँदै आएका थिए । विगत सात वर्षदेखि क्यान्सरको समस्यासँग जुझ्दै आएका उनको बाल्टीमोरमै उपचारको क्रममा आइतबार (७ असार) उनको निधन भएको हो ।

साढे तीन दशकयता नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रूपमा काम गरेका र चतुरे उपनामबाटसमेत चिनिएका खेम शर्मा आफ्नो स्वाभाविक अभिनय, हाजिरजवाफी शैली र हास्य भूमिकाका कारण दर्शकमाझ लोकप्रिय रहेका थिए ।

विशेषगरी हास्य अभिनय र रंगमञ्चीय कार्यक्रमका लागि परिचित शर्माले गाईजात्रा तथा विभिन्न हास्य प्रहसनमा आफ्नो कला प्रस्तुत गरेका थिए । थुप्रै नेपाली चलचित्रहरूमा पनि उनले सहायक तथा चरित्र भूमिकामा अभिनय गरेका छन् । उनी नयाँ कलाकारहरूलाई चलचित्र तथा मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न प्रेरणा र सहयोग गर्ने पात्रका रुपमा पनि चिनिन्छन् ।