चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग

चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग


पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भैँसेनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।

पहिरोका कारण रसुवा र राजधानी काठमाडौंबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो । पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टि गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन् ।

झोलुंगे पुलबाट वारपार गरेर सवारीसाधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताए ।

झन्डै सय मिटर सडक पहिरोले पुरिएको छ भने पहिरोमाथि खेतको पानी आएका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन समस्या भएको हो । पहिरो माथिबाट आएको पानीलाई बाँध बाँधी अन्यत्र तर्काएर पहिरो पन्छाउने काम गरिए पनि पहिरो खस्नेक्रम नरोकिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।

वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेंसी सडकखण्डको मनकामनामा पहिराका कारण ठूला सवारीसाधन रसुवा आउन–जान समस्या भएको प्रहरीले जनाएको छ ।

चावटा स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए ।