एप्पलको बजार मूल्य १० खर्ब डलर

एप्पलको बजार मूल्य १० खर्ब डलर


आईपड, आईफोन र आईप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोसेढुंगा पार गरेको छ, अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।

बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रतिसेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भीमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाइ छोएको हो ।

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रूपमा नियुक्त भएका टिम कुकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टिभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो ।

स्टिभ जब्सको निधनपछि विश्लेषकहरू र अरू उद्योग क्षेत्रका जानकारहरूले जब्सले झैँ कुकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।

तर कुक ठोस वित्तीय नतिजासँगै बिस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए र एप्पलका उत्पादनहरू उनी चीन र अरू विदेशी बजारमा विस्तार गर्न सक्षम भए । यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो । सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो ।

‘हो, मलाई एप्पलको सफलताप्रति गर्व छ, तर अंक मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक छ,’ कम्पनीका सहसंस्थापक वज्नियाकले याहु फाइनान्सलाई बताए ।

अमेरिकी प्रविधि कम्पनीहरूले फैलिँदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् ।

विश्व बैंकको सन् २०१६ को तथ्यांकअनुसार १० खर्ब डलर भनेको इन्डोनेसियाको झन्डै वार्षिक कुल गार्हस्थ उत्पादनबराबर हो, र बेल्जियमको भन्दा दोब्बर हो ।

अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० बिन्दु पार गरेको छ । योसँगै एप्पलले पनि नयाँ उचाइ छोएको हो । ‘१० खर्ब डलरको उचाइ छुनु भनेको मनोवैज्ञानिक कुरा हो, र यसले बजारमा वृद्धि र आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,’ एस एन्ड पी डाउ जोन्सका वरिष्ठ विश्लेषक होवार्ड सिल्भरब्लाटले बताए ।

सन् २००७ मा स्टिभ जब्सले आईफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको छ । सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ ।

कम्पनीले मोबाइलको हार्डवेयर र सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको छ, र मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरू डाउनलोड गर्नुपर्दछ जसका कारण राजस्वमा थप वृद्धि भएको छ ।

पछिल्लोपटक अमेरिका–चीन व्यापार–विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले संघर्ष गर्नुपरेको छ ।