उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति, बञ्चरे डाँडामा जग्गा अधिग्रहण

उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति, बञ्चरे डाँडामा जग्गा अधिग्रहण


उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहनेछन् । समितिलाई फोहर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिश गर्ने जिम्मा दिइएको छ ।

समितिले ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौँसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार निर्माणका विषयमा सुझाव दिनुपर्नेछ । त्यसैगरी हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकाले उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।

ल्याण्डफिल साइट प्राविधिकरुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकाले संवेदनशील भएर व्यवस्थापनका लागि काम गर्ने संयोजक मरहठ्ठाले बताए । बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

बाह्र टन फोहर संकलन
भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३औं हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १२ टन फोहर संकलन गरिएको सफाइ अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।

नेपाली काँगेसका नेता एवं पूर्वमन्त्री आनन्द ढुङ्गानासहित सफाइ अभियानमा २०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको थियो । अभियानमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न संघसंस्थाको टोलीको सफाइमा सहभागिता रहेको थियो ।